देउडा नाच
रामकुमार राई
अछाम, २० कात्तिक ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पहाडी भूभागमा अत्यन्त लोकप्रिय रहेको देउडा नाच केवल एक लोकनृत्य वा मनोरञ्जनको साधन मात्र होइन, यो यहाँको सभ्यता, इतिहास, सामाजिक सद्भाव र मौलिक पहिचानको एक दरिलो स्तम्भ हो। भाषा, कला र संस्कृतिको धनी यस क्षेत्रमा देउडाबिना यहाँका चाडपर्व, मेलापात, विवाह र उत्सवहरू अधुरा जस्तै मानिन्छन्।
देउडा विधाको उद्गम र विकास ऐतिहासिक कालखण्डदेखि नै यसै क्षेत्रमा हुँदै आएको मानिन्छ। यो प्रायः सामूहिक रूपमा खेलिन्छ जसमा सहभागीहरूले एकअर्काको हात समातेर गोलो घेरा वा सर्पिल आकारमा पैतालाको ताल मिलाउँदै पाखुरा र कम्मरको चालसँगै गीत गाउने गर्छन्।
यस नृत्यमा खासगरी खस भाषा तथा स्थानीय डोटेली, बैतडीली, अछामी वा जुम्ली लवजका लोकभाकाहरू गुन्जिन्छन्। देउडा गीतमा देवीदेवताका स्तुति, पौराणिक कथा, प्रेम, विरह, सुख–दुःख, सामाजिक विसंगतिविरुद्धको प्रहार तथा समसामयिक विषयवस्तुहरू समावेश हुन्छन्। यसको लय र धुनले जो कोहीलाई पनि मन्त्रमुग्ध पार्ने क्षमता राख्दछ।
देउडा संस्कृतिको सबैभन्दा ठुलो विशेषता भनेको यसले समाजमा आपसी सद्भाव, मेलमिलाप र एकताको सन्देश दिनु हो। जातजाति, वर्ग, उमेर र लिङ्गको भेदबिना सबै मानिसहरू एकै गोल घेरामा उभिएर सामूहिक रूपमा देउडा खेल्ने गर्छन्।
यसले गाउँघरमा आपसी तिक्ततालाई भुलाएर सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुर्याउँछ। विशेष गरी तिहार, गौरा पर्व, बिसु, मस्टा पूजा तथा विभिन्न स्थानीय जात्रा महोत्सवहरूमा रातभर देउडा खेलिने परम्परा रही आएको छ। यसले सामूहिक भावनाको विकास गर्नुका साथै युवापुस्तालाई आफ्नो मौलिक संस्कारप्रति उत्तरदायी बन्ने प्रेरणा दिन्छ।
पछिल्लो समय नेपाल सरकार र स्थानीय तहले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिमका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्न थालेका छन्। अछामको रामारोशन, खप्तड, बडिमालिका, रारा ताल लगायतका रमणीय स्थलहरूमा पुग्ने पर्यटकहरूलाई यहाँको लोकसंस्कृतिसँग जोड्न देउडा एक शक्तिशाली माध्यम बनेको छ।
पर्यटकहरूले पनि स्थानीय महिला तथा युवाहरूसँगै मिलेर देउडा खेल्ने र यसको आनन्द लिने गरेका छन्। यस किसिमको सांस्कृतिक पर्यटनले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै स्थानीय जनताको आयआर्जनमा समेत सकारात्मक प्रभाव पारेको छ।
आधुनिक प्रविधिको विकास, पश्चिमा संस्कृतिको अन्धानुकरण र युवापुस्तामा आएको विदेश पलायनको प्रवृत्तिका कारण हाम्रा मौलिक लोकसंस्कृतिहरू सङ्कटमा पर्दै गएका छन्। देउडा जस्तो गरिमामय लोकविधालाई पनि नयाँ पुस्तामा पुस्तान्तरण गर्न केही चुनौतीहरू थपिएका छन्।
पुराना देउडिया (देउडा गायक) हरूको सिर्जनालाई लिपिबद्ध गर्ने, विद्यालय तथा कलेज स्तरका पाठ्क्रममा स्थानीय संस्कृतिको बारेमा जानकारी गराउने र विभिन्न सांस्कृतिक महोत्सवहरूको आयोजना गरी संरक्षणमा जोड दिनुपर्ने देखिन्छ।
देउडा सुदूरपश्चिमको मुटु हो, जसले यस क्षेत्रको मौलिक सुगन्धलाई देशैभर र विश्वभर फैलाई रहेको छ। यस अमूल्य लोकसम्पदाको संरक्षण, प्रवर्द्धन र व्यावसायिक विकास गर्न सकेमा यो नेपालको पर्यटन उद्योगको एक मुख्य आकर्षण बन्न सक्नेमा दुईमत छैन। राज्यका निकाय, स्थानीय सरकार र सरोकारवाला संघसंस्थाहरूले यसको संवर्द्धनका लागि ठोस नीति र कार्यक्रम ल्याउनु आजको आवश्यकता हो।
