दैलेख, भाद्र १९ ।
दैलेख सदरमुकाम देवकोटा चोकबाट करिब चार किलोमिटर उत्तर नारायण नगरपालिका वडा नं. ७ वल्लो भूर्ति गाउँमा ऐतिहासिक बाइसदेवल रहेका छन् । उत्तर दक्षिण दिशामा लहरै फैलिएका दैलेखबाट कालीमाटी हुँदै कालिकोट जाने बाटो छेउमा रहेका यी देवलहरु जीर्ण अवस्थामा रहेका छन् । स्थानीयहरुको भनाइ अनुसार विगतमा २५ वट भए तापनि हाल २२ वटा मात्र बाँकी रहेका छन् । यिनीहरुको उच्च ऐतिहासिक महत्वका कारण सन २००८ जनवरी ३० मा विश्व सम्पदा सूचीको सम्भावित सूचीमा समावेश गरिएको छ । हाल यी देवलहरुको शीर्षभागमा रहेका चक्काकार शिला र आमलकहर हराउँदै गएका छन् भने कलात्मक ढुङ्गाहरु खस्ने जोखिममा छन् । यिनीहरुलाई काँडेतार र पर्खाल लगाएर जोगाउने प्रयास गरिएको भए तपानि सिमेन्टको प्रयोग गरेर टालटुल गर्दा यसको मौलिकता सङ्कटमा परेको छ ।

भूर्तिका बाइसदेवल परिसर
दैलेख जिल्ला र यसको वरपर पाइने ऐतिहासिक देवलरु सिंजा साम्राज्यको गौरवमय सांस्कृतिक अवशेषहरु हुन् । यी देवलहरु विक्रमको चौधौँ/पन्ध्रौँ शताब्दीका मानिएका छन् । यस्ता देवलहरु नेपालको नुवाकोटदेखि पश्चिम र उत्तर भारतको कुमाउँ गढवालदेखि पूर्वको भू–भागमा पाइए तापनि सबैभन्दा बढी सङ्ख्यामा दैलेख जिल्लमा भेटिएका छन् । यी वास्तु संरचनाहरु बौद्ध र हिन्दू दुवै धार्मिक परम्परालाई समान रुपमा आत्मसात् गरेका छन् । यी देवलहरु महाभारत कालमा पाँच पाण्डवले एकै रातमा निर्माण गरेको जनविश्वास छ । सिंजा साम्राज्यको उदय र अवसानसँगै यी देवलहरुको निर्माण क्रम पनि जोडिएको देखिन्छ ।

भूर्तिका बाइसदेवलहरु
यी देवलहरु कडा प्रकारको कालो ढुङ्गा कुँदेर उत्कृष्ट शिखर शैलीमा निर्माण गरिएका छन् । यिनीहरुको मुख्य विशेषता भनेको निर्माण शिल्प कार्यमा कुनै पनि गारो, माटो, हिलो र रसायनको प्रयाग नगरी ढुङ्गाकै चुकुलमार्फत एकअर्कालाई बाँधेर ढुङ्गामाथि अर्को ढुङ्गा खप्ट्याएर बनाइएका छन् । यी देवलहरु कतै एकल, कतै जोडा र कतै समूहका रुपमा रहेका छन् । पुरातात्वि अध्ययन अनुसार तत्कालीन समयमा यी देवलहरु मानवबस्तीभित्र नभई बस्तीभन्दा टाढा, घना जङ्गल र एकान्तमा बनाउने चलन थियो ।
फोटो – एकीकृत नेपाल
