Prince Bahadur Shah AI Photo

वि.सं. १८५३ को फागुन ११ गते राती, बहादुर शाहलाई बलपूर्वक पक्राउ गरियो।
…………
वि.सं. १८५४ आषाढ १४ गते शनिबारको राती, त्यसै किल्लाभित्र राजकुमार बहादुर शाहको रहस्यमय रूपमा हत्या गरियो।
………..
रामकुमार राई
नेपालको पश्चिमतर्फको एकीकरण अभियानलाई तार्किक निष्कर्षमा पुर्याउने मुख्य श्रेय राजकुमार बहादुर शाहलाई जान्छ।
३८ वर्षको उमेरमा राजा रणबहादुर शाहले सम्पूर्ण राजशक्ति आफ्नो हातमा लिएपछि, नायबीका रूपमा देश हाँकिरहेका बहादुर शाह एकाएक पदच्युत गरिए।
वि.सं. १८४२ देखि वि.सं. १८५१ सम्म झण्डै नौ वर्षसम्म सफलतापूर्वक देशको रक्षा र विस्तार गरेका बहादुर शाहको बर्खास्ती नेपालको इतिहासको एउटा दुर्भाग्यपूर्ण मोड थियो।
सुरुवाती दिनमा बहादुर शाहलाई चौतारा (प्रधानमन्त्री) को जिम्मेवारीबाट हटाएर मात्र चित्त बुझाइएन, उनीमाथि विभिन्न काल्पनिक र झुट्टा अभियोगहरू लगाइयो।
उनीमाथि भोट (तिब्बत) को राजधानी ल्हासातर्फ हतियार र खजानाहरू पठाएको तथा भोटसँग अनावश्यक रूपमा युद्ध गराई चीन जस्तो शक्तिशाली छिमेकी देशलाई चिढ्याएको आरोप लगाइयो।
ऐतिहासिक पत्रहरूका अनुसार राजा रणबहादुर शाह र उनका सल्लाहकारहरूले बहादुर शाहमाथि मुख्य रूपमा राजा रणबहादुर शाहलाई घरबाहिर निस्कन नदिई बन्दी बनाएको तथा गालीगलौज गरेको;
मुमा महारानी राजेन्द्रलक्ष्मीको मरणको कुरा लगाई नेल हाली सर्वजित रानालाई कटाएको र रणबहादुरलाई पनि मार्ने दाउपेच र इनारमा पुर्ने योजना बनाएको;
मथुरा नामकी एउटी केटली (दासी) लाई लगाई मुमा महारानीलाई विष खुवाई मार्ने उद्योग गरेको;
विवाह गर्न भनी बहादुर शाह गोरखामा जाँदा बाटोमा वास परेको दिन राजालाई मार्न गण्डकी नदीमा बगाउने योजना बनाएको;
राजालाई मार्न मसानको प्रयोग गरेको तथा दक्षिणकालीको दर्शन गर्न जाँदा बाटोमा तीन पटकसम्म झाडीमा लुकेर घात गर्न खोजेको;
बहादुर शाहले रातको बीचमा राजालाई खोज्दै आएको र यसैबीचमा कुकुरले झम्टन जाँदा अकारण नै कुकुरलाई काटिदिएको;
राजाको अनुपस्थितिमा आफ्नो मनखुसीसँग आफ्नै हातले लालमोहरहरू काटेको (छाप लगाएको);
राजालाई मार्न भनी आमारातमा आएको, ‘पुनी’ नामक धाईले थाहा पाई डोकामा लुकाएको र यसै रिसले तरबारले डोकामा हानी फर्केको;
राजा राम शाहको पालादेखि चलिआएको छिमेकी मित्रराष्ट्रहरूसँगको मैत्रीसम्बन्धको उपेक्षा गरी तिब्बतसँग अनावश्यक रूपमा युद्ध गरेर देशलाई नै डुबाएको;
चीनसँग युद्ध गर्न भनी अङ्ग्रेजहरूसँग मित्रता बढाएको जस्ता १० गम्भीर आरोपहरू लगाइएको थियो ।
तर इतिहासकारहरुका अनुसार यी आरोपहरू वास्तवमा बहादुर शाहलाई राजनीतिक रूपमा समाप्त पार्न रचिएका षड्यन्त्रका तानाबाना मात्र थिए।
आफ्ना भतिज राजा रणबहादुर शाहका तर्फबाट पठाइएका यी झुट्टा अभियोग पत्रहरू सुन्दा राजकुमार बहादुर शाहको हृदयमा गम्भीर आघात पुग्यो।
उनले चीनसँगको सम्बन्ध र तिब्बत मामिलामा आफूले चालेका कदमहरू देशको हितमै रहेको र आफूबाट कुनै देशद्रोह नभएको स्पष्टीकरण दिने प्रयास गरे।
तर, रणबहादुर शाहको सोच र दरबारभित्रका विरोधी भारदारहरूको संयन्त्र अर्कै थियो। वि.सं. १८५३ को फागुन ११ गते राती, बहादुर शाहलाई बलपूर्वक पक्राउ गरियो।
उनलाई चिनियाँ अम्बा (राजदूत) लाई पत्र लेखेको बहानामा तथा स्पष्टीकरण लिने उद्देश्यले नजरबन्दमा राखियो। तर, पछि उनलाई काठमाडौँको भद्रकाली नजिकैको एउटा कैदखाना (जुन मल्ल राजाहरूको समयमा बनेको पुरानो गढी वा किल्ला थियो, जसलाई जेलका रूपमा प्रयोग गरिन्थ्यो) मा थुनियो।
वि.सं. १८५४ आषाढ १४ गते शनिबारको राती, त्यसै किल्लाभित्र राजकुमार बहादुर शाहको रहस्यमय रूपमा हत्या गरियो। घाँटी थिचेर वा गुप्त रूपमा हत्या गरिएको सो घटनालाई लुकाउनका लागि कालतपिले (हैजा वा महामारीले) उनको मृत्यु भएको प्रचार गरियो।
उज्यालो नहुँदै हतार-हतार उनको भौतिक शरीरलाई पशुपति आर्यघाट पुर्याएर दाहसंस्कार गरियो। एक महान् देशभक्त, कुशल सैनिक कमाण्डर र एकीकरणका नायकको यस्तो अमानवीय अन्त्यले तत्कालीन समाज र जनतामा ठूलो आक्रोश र भय पैदा गरेको थियो।
बहादुर शाहको रहस्यमय र दुःखद हत्यापछि नेपाल अधिराज्यको राजनीतिमा षड्यन्त्र र हत्याको एउटा यस्तो शृङ्खला सुरु भयो, जसले देशलाई दशकौँसम्म अस्थिरताको खाडलमा जाक्यो।
देशभक्त र योग्य नेताहरूलाई पाखा लगाउँदा र चाटुकार एवं नातागोतालाई सत्ता सुम्पिँदा देश कसरी कमजोर हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण तत्कालीन नेपालको इतिहास हो।
बहादुर शाहको हत्या र राजा रणबहादुरको अदूरदर्शीताका कारण नेपाल अधिराज्यको राजसस्था भित्र षड्यन्त्र र ठूलो आतङ्क फैलियो। नेपाली नागरिक र भारदारहरू अनेकौँ किसिमका विपत्तिको सामना गर्न विवश भए।
राजा रणबहादुर शाहका चौतारा विदुर शाही र शेरबहादुर शाहीहरूको गुटको उदयले त्यसपछिकाे देशकाे राजनीतिलाई झन् ठूलो अनिष्टतर्फ धकेल्यो।
