अमृत खरेल
इतिहासका पानामा यस्ता अनेकौँ प्रसंग भेटिन्छन्, जसलाई पढ्दा मानिस एकछिन अचम्ममा पर्छ, कतिपय अवस्थामा विश्वास गर्नसमेत कठिन हुन्छ। कुनै समाजमा प्रचलित धार्मिक आस्था, परम्परा र उपचार पद्धतिले त्यहाँका मानिसको सोचाइ, विश्वास र जीवनशैलीलाई कसरी प्रभावित पारेको हुन्छ भन्ने कुरा यस्ता ऐतिहासिक विवरणबाट बुझ्न सकिन्छ।
हाम्रो छिमेकी चीनको स्वशासित तिब्बतको इतिहासमा पनि यस्तै एउटा अनौठो र रोचक प्रसंग भेटिन्छ। त्यो हो—दलाई लामा तथा उच्च पदस्थ अवतारी लामाको मलमूत्रबाट औषधि बनाउने परम्परा!
इतिहासकार ज्ञानमणि नेपालले आफ्नो पुस्तक ‘नेपाल-भोटचीनसम्बन्धका केही साँस्कृतिक पक्ष’ मा यससम्बन्धी एउटा रोचक विवरण प्रस्तुत गर्नुभएको छ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट वि.सं. २०४५ सालमा प्रकाशित उक्त पुस्तकमा तिब्बतको तत्कालीन धार्मिक विश्वास, अन्त्येष्टि संस्कार र परम्परागत औषधि प्रयोगका बारेमा चर्चा गर्दै उहाँले यो प्रसंग उल्लेख गर्नुभएको छ।
नेपालले प्रस्तुत गर्नुभएको विवरणअनुसार तिब्बतमा दलाई लामाको शासनकालमा विभिन्न प्रकारका अनौठा परम्परागत औषधिहरू प्रयोग गरिन्थे। तिब्बतमा मानिस मरेपछि अन्त्येष्टि गर्दा लासलाई काटेर चरालाई खुवाउने, अग्निदाह गर्ने, जलसमाधि गर्ने र भूइँमा गाड्ने गरी चार प्रकारका दाहसंस्कार गरिन्थे ।
दलाई लामाको लासलाई चाहिँ न काटेर चरालाई खुवाउँछन् न त जलाउँछन् न त पानीमै डुबाउँछन् । परन्तु केही समय नूनमा राखेपछि भूइँमै दबाउँछन् । मूर्दा राख्न हालेको यस्तो नून ज्यादै उत्तम मानिन्छ।
यसरी मृतकको शरीर राख्न प्रयोग गरिएको नूनदेखि दलाई लामा र उच्च पदस्थ लामाको मलमूत्रबाट बनाइने विशेष औषधिसम्मका प्रसंग पुस्तकमा उल्लेखनीय छन्।
ज्ञानमणि नेपालले पुस्तकमा लेख्नुभएको मूल विवरण यस्तो छः
यसरी माटामा लास राख्ने विधि धनीकै वंशपरम्परागत हो, सर्वसाधारणले यत्रो खर्च गर्नै सक्दैनन् । लास राखेको नून धेरै मुस्किलले धेरै नै मोल हालेर मात्र पाइन्छ । यो सबै रोगमा असल औषधि मानिन्छ । पानीमा घोलेर यो नून खाने हो भने कुनै रोग शरीरमा रहँदैन सबै रोग यसले शान्त पारिदिन्छ भन्ने विश्वास छ । भलै यसमा सर्वरोगशासक गुण होला तापनि मेरो विचारमा अशिक्षित मानिसको रोग त अवश्य यसले दूर गर्छ, उनीहरुको चित्त त यसले शान्त नै गर्छ होला । यो नूनको साथै एक अर्को सर्वरोगहरण गर्ने औषधिको पनि यहाँ स्मरण हुन आएको छ, यसबाट रोग त के दूर होला, यसको वास्तव रहस्य जान्ने हो भने निरोगी पनि रोगी हुन जान्छ । किनभने यो औषधि दलाइ लामा तथा यस्तै उच्च पदाधिकारी औतारी लामाको मलमूत्रबाट तयार गरिन्छ। यसमा अरु केही औषधि मिलाएर रङ्ग लाएर राता गोली बनाइन्छ। यो औषधि बजारमा पाइँदैन। यदि कसैले चाहन्छ भने ठूलाठूला मानिसको सिफारिसमा धेरै मोल हालेर मात्र पाउन सक्तछ । तिब्बतीहरु धेरै रुपैंया खर्च गरेर पनि यो औषधी आफ्नो पासमा राख्न चाहन्छन् । चा चे ना पूँ कहिने यो बहुमूल्य लड्डु तिब्तमा एक मृत्युञ्जयमणि नै सम्झिइन्छ । रोगीलाई जब कुनै औषधिले छुँदैन, तब मात्र यो गोली दिइन्छ। धेरैजसो रोगी प्रबल विश्वासले गर्दा निको पनि भइहाल्छ, कथं निको भएन नै भने पनि गोलीको शक्ति कम ठानिँदैन, बरु रोगीकै दिन आइपुगेको नै मानिन्छ। यो गोली बनाउने विधि एकदम गोप्य राखिन्छ। यस गुप्त नुस्खाको रहस्य केवल दलाइ लामाका अन्तरङ्ग सेवकहरुलाई मात्र थाहा हुन्छ ।


मृत शरीरमा प्रयोग गरिएको नून नै औषधि!
उपर्युक्त विवरणको पहिलो भागले तिब्बतको अन्त्येष्टि संस्कार र त्यससँग जोडिएको धार्मिक विश्वासको एउटा रोचक पक्ष उजागर गर्छ। लेखकका अनुसार त्यहाँ मृत शरीरको अन्त्येष्टि गर्ने चारवटा परम्परा प्रचलित थिए—चरालाई खुवाउने, जलाउने, पानीमा विसर्जन गर्ने र जमिनमा गाड्ने।
तर दलाई लामाको शव व्यवस्थापनमा भने फरक विधि अपनाइन्थ्यो। शवलाई केही समय नूनमा राखेर पछि जमिनमा गाडिन्थ्यो। त्यसरी शव राख्न प्रयोग गरिएको नूनलाई अत्यन्त गुणकारी मानिन्थ्यो। त्यसलाई महँगो मूल्य तिरेर प्राप्त गर्न सकिने र पानीमा घोलेर खाँदा सबै रोग निको हुन्छ भन्ने विश्वास रहेको कुरा पुस्तकमा उल्लेख छ।
यहाँ लेखकले एउटा व्यङ्ग्यात्मक टिप्पणी पनि गर्नुभएको छ। उहाँका विचारमा त्यस नूनमा साँच्चै सबै रोग निको पार्ने गुण नभए पनि अशिक्षित मानिसको रोग भने विश्वासकै कारण निको भएको अनुभूति हुन सक्थ्यो। अर्थात् औषधिको भौतिक प्रभावभन्दा पनि मानिसको मनमा रहेको विश्वासले ठूलो भूमिका खेल्न सक्थ्यो भन्ने उहाँको आशय देखिन्छ।
दलाई लामाको मलमूत्रबाट बनेका रातो गोली!
तर पुस्तकको सबैभन्दा रोचक, अनौठो र पाठकलाई चकित पार्ने प्रसंग दोस्रो हो।
ज्ञानमणि नेपालको विवरणअनुसार दलाई लामा तथा उच्च पदस्थ अवतारी लामाको मलमूत्रबाट एउटा विशेष औषधि तयार गरिन्थ्यो। त्यसमा अन्य केही औषधि मिसाएर रङ्ग लगाई रातो गोली बनाइन्थ्यो। यो सामान्य बजारमा पाइने औषधि थिएन। ठूलाठूला मानिसको सिफारिस र निकै ठूलो रकम खर्च गरेपछि मात्र प्राप्त गर्न सकिने औषधिका रूपमा त्यसको चर्चा गरिएको छ।
तिब्बतीहरू धेरै पैसा खर्च गरेर पनि उक्त औषधि आफ्नो साथमा राख्न चाहन्थे भन्ने लेखकको भनाइ छ।
त्यस औषधिलाई पुस्तकमा ‘चा चे ना पूँ’ भनिएको छ। यसलाई तिब्बतमा मृत्युलाई समेत जित्न सक्ने मणिसरह ठानिन्थ्यो भन्ने विवरण लेखकले दिनुभएको छ।
यसको प्रयोग पनि सामान्य रोगमा गरिँदैनथ्यो। अरू कुनै औषधिले काम नगरेको अवस्थामा मात्र अन्तिम उपायका रूपमा बिरामीलाई त्यो गोली खुवाइन्थ्यो। धेरैजसो बिरामी औषधिप्रतिको प्रबल विश्वासकै कारण निको भएको मानिन्थे। यदि कसैलाई निको भएन भने पनि औषधिको शक्तिमाथि प्रश्न उठाइँदैनथ्यो, बरु बिरामीको अन्तिम समय आएको मानिन्थ्यो।
सबैभन्दा रहस्यमय पक्ष त यसको निर्माण विधि थियो। औषधि बनाउने नुस्खा अत्यन्त गोप्य राखिन्थ्यो र त्यसको रहस्य दलाई लामाका अन्तरङ्ग सेवकहरूलाई मात्र थाहा हुन्थ्यो भन्ने पुस्तकमा उल्लेख छ।
आस्था, विश्वास र उपचार पद्धतिको अनौठो सम्बन्ध
यस प्रसंगलाई अनौठो औषधिको कथाका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यसले धार्मिक आस्थामा टेकेर कसरी अन्धविश्वास फैलाइन्छ र परम्परागत उपचार पद्धतिमा कसरी विकृतिहरु पनि हुन सक्छन् भन्ने पनि देखाउँछ।
कुनै व्यक्तिलाई समाजले असाधारण आध्यात्मिक शक्ति भएको व्यक्तिका रूपमा स्वीकार गरिसकेपछि उसँग सम्बन्धित वस्तुहरू पनि पवित्र र शक्तिशाली मानिन सक्छन्। त्यस्तो अवस्थामा उसका आसेपासेहरुले उसको शरीरबाट प्राप्त दुर्गन्धित वस्तुसमेत विशेष महत्त्वको जनाएर आम भक्तहरुलाई औषधि भनेर दिन सक्ने रहेछन् भन्ने उजागर हुन्छ ।
पुस्तकमा वर्णित औषधिको प्रसंगलाई पनि तत्कालीन तिब्बती धार्मिक विश्वास र सामाजिक मनोविज्ञानको सन्दर्भमा बुझ्न सकिन्छ।
तर एउटा कुरा स्पष्ट हुनुपर्छ त्यो के भने ज्ञानमणि नेपालले पुस्तकमा प्रस्तुत गर्नुभएको यो ऐतिहासिक विवरणलाई तिब्बतमा त्यतिबेला यस्तो विश्वास र अभ्यास रहेको बताउने ऐतिहासिक स्रोतका रूपमा लिनुपर्छ।
यसलाई आधुनिक चिकित्साशास्त्रले प्रमाणित गरेको औषधीय तथ्यका रूपमा बुझ्नु हुँदैन। मलमूत्रबाट बनेको भनिएको उक्त औषधिले वास्तवमै रोग निको पार्थ्यो भन्ने वैज्ञानिक प्रमाण भनेर नेपालले पनि दावी गर्नुभएको छैन ।
इतिहासका यस्ता प्रसंगले एउटा महत्त्वपूर्ण कुरा सिकाउँछन् भने परम्परागत रुपमा मानिसको आस्था जोडिएकोमा फाइदा उठाउँदै कहिलेकाँही भक्तहरुले धेरै श्रद्धा गरिएका मानिसले आफ्नै भक्तहरुलाई अन्धविश्वासको शिकार बनाउन सक्दछन् ।
मलमूत्र र लाश गाडेको नूनलाई आस्था, विश्वास, प्रतिष्ठा र धार्मिक शक्तिको प्रतीकका बलमा औषधि बनाइनु किमार्थ स्वीकार्य काम भने होइन।
