महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती

रामकुमार राई
काठमाडौं, कात्तिक २२ ।
नेपाल वाङ्मयको आकाशमा महाकवि लक्ष्मीप्रसाद देवकोटा एक यस्ता प्रकाशपुञ्ज हुन्, जसको चमकले नेपाली भाषा र साहित्यलाई विश्वmस्तरमा पहिचान दिलायो ।
वि.सं. १९६६ साल कात्तिक कृष्ण औँसी लक्ष्मीपूजा अर्थात आज कै दिन काठमाडौंको डिल्लीबजारमा पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवीको तेस्रो सुपुत्रका रुपमा उनको जन्म भएको थियो ।
त्यसैले आज देशभर तथा विश्वभर छरिएर रहेका नेपाली भाषीहरु माझ महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती अत्यन्त श्रद्धा र उत्साहका साथ मनाइँदैछ ।
धनकी देवी लक्ष्मीको पूजा गरिने पावन रात्रिमा जन्मेर पनि जीवनभर भौतिक दरिद्रताको सामना गरेका देवकोटालाई सरस्वतीको भने अनन्त कृपा प्राप्त थियो ।
उनले नेपाली साहित्यलाई दिएको अमूल्य भण्डारकै कारण नाट्यसम्राट बालकृष्ण समले देवकोटा मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै तीन पटक जन्मेका हुन् भनी उनको अद्वितीय प्रतिभाको सम्मान गरेका थिए ।
आजको दिनले देवकोटाको भौतिक अनुपस्थितिलाई बिर्साउँदै उनको कालजयी सिर्जना र नेपाली वाङ्मयमा उनले कोरेको स्वर्णिम बाटोको स्मरण गराउँछ ।
लक्ष्मीप्रसाद देवकोटा केवल एक कवि मात्र थिएनन्, उनी नेपाली साहित्यका बहुआयामिक र युगप्रवर्तक प्रतिभा थिए ।
उनी कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध, नाटक र उपन्यास जस्ता विधाहरुमा लगभग सबैजसो विधामा सिद्धहस्त थिए ।
उनी स्वच्छन्दतावादी धारका प्रवर्तक थिए । देवकोटाले नेपाली कवितामा परम्परागत शास्त्रीय कठोरता र रुढिवादी नियमहरुलाई तोड्दै स्वच्छन्दतावादी प्रगतिवादी धाराको सूत्रपात गरेका थिए । प्रकृतिको मानवीकरण, मानवीय संवेदनाको प्रकटीकरण र वैयक्तिक स्वतन्त्रता उनको काव्यिक विद्रोहका मुख्य विशेषताहरु हुन् ।
देवकोटा मानवतावादका संवाहक थिए । उनको साहित्यको मूल तत्व मानवतावाद हो । जातप्रथा, वर्गीय विभेद र अन्धविश्वासको विरोध गर्दै उनले मानिसको श्रेष्ठतालाई स्थापित गरे । उनको प्रसिद्ध पङ्क्ति मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ले नेपाली समाजमा सामाजिक रुपान्तरणको शङ्खघोष गरेको थियो ।
द्रुत लेखन क्षमता ः देवकोटोमा असाधारण र अलौकिक लेखन क्षमता थियो । उनले मात्र १० दिनमा शकुतला र भ्यागुताको राज्यको परिकल्पनामा आधारित बालकाव्य, अनि केवल तीन महिनामा सुलोचना जस्तो गहन महाकाव्य लेखेर आफ्नो अलौकिक काव्य प्रतिभा प्रमाणित गरेका थिए ।
देवकोटाले नेपाली साहित्यलाई विश्व मञ्चमा पु¥याउन कृतिको अंग्रेजी अनुवाद गर्ने र अफ्रो एसियाली लेखक सम्मेलनहरुमा नेपालको प्रतिनिधित्व गर्ने कार्य गरे ।
वि.सं. २०१४ सालमा नेपालको शिक्षामन्त्री हुँदा उनले त्रिभुवन विश्वविद्यालयको स्थापना र देशभर नेपाली भाषालाई शिक्षणको माध्यम बनाउने ऐतिहासिक कार्यको नेतृत्व गरेका थिए ।
देवकोटाका सिर्जनाहरु गुणात्मक र संख्यात्मक दुवै हिसाबले विशाल छन् । ती कृतिहरुमध्ये मुनामदन खण्डकाव्य नेपाली साहित्यको इतिहासमै सबैभन्दा बढी रुचाइएको छ ।
यो कृति लोक झ्याउरे छन्दमा आधारित छ । यसले वर्गीय समाजको पीडा, गरिबीका कारण विदेसिनु पर्ने नेपाली बाध्यता र चोखो प्रेमको वियोगान्तक पक्षलाई दुरुस्तै उतारेको छ ।
धनभन्दा मन ठूलो र जातभन्दा मानवता महत्वपूर्ण हो भन्ने मूलभाव यस खण्डकाव्यको प्राण हो ।
त्यसैगरी, शाकुन्तल महाकाव्य नेपाली साहित्यको पहिलो मौलिक महाकाव्य मानिने यस कृतिमा पूर्वीय पौराणिक कथानकलाई पाश्चात्य शैलीको शिल्पमा ढालिएको छ । यसमा प्रकृतिको अनुपम चित्रण र देवकोटाको उच्च बौद्धिक काल्पनिकता प्रस्ट देखिन्छ ।
एवम् सुलोचना महाकाव्य तत्कालीन नेपाली समाजको सामाजिक परिवेश, प्रेम, अन्तरजातीय र अन्तर कूल बीचको द्वन्द्वलाई समेटेर लेखिएको सामाजिक महाकाव्य हो । यसले तत्कालीन समाजको यथार्थपरक चित्रण गरेको छ ।
ग्रीक मिथकमा आधारित यो महाकाव्य देवकोटको विद्रोही र क्रान्तिकारी चेतको चरम उत्कर्ष हो । निरङ्कुशताका विरुद्ध मानवता र स्वतन्त्रताका लागि लड्ने प्रमिथसको कथालाई नेपाली काव्यिक भूमिमा सुन्दर ढङ्गले उनले रुपान्तरण गरेका छन् ।
उनका भिखारी कविता सङ्ग्रहभित्रका भिखारी, यात्री जस्ता कविताले देवकोटको गहिरो दार्शनिक चेत र मानवतावादी दृष्टिकोणलाई उजागर गरेको छ । भगवान मन्दिरमा होइन, दीनदुःखीको सेवामा भेटिन्छ भन्ने विचार यात्री कविताको मुख्य दर्शन हो ।
नेपाली साहित्यको एक सर्वोत्कृष्ट आधुनिक कविताहरुमध्ये पागल कविता पनि हो । तत्कालीन राणाकालीन निरङ्कुश समाज र शासकहरुले कवि जस्ता संवेदनशील विद्रोही चेतलाई पागल संज्ञा दिएपछि त्यसको प्रतिवादमा रचिएको यो कवितामा उच्च क्रान्तिकारिता र गहिरो व्यङ्ग्य छ ।
देवकोटा निबन्ध विधामा पनि उत्तिकै शक्तिशाली देखिन्छन् । उनका निबन्धमा विचारको उडान, आत्मपरकता र विचारोत्तेजक गद्यशैली पाइन्छ । के नेपाल सानो छ र हाइ हाइ अंग्रेजी जस्ता निबन्ध उनका उत्कृष्ट निबन्धहरु हुन् ।
महाकविको साहित्यमा प्रकृति प्रतिको असीमित प्रेम, स्वच्छन्दतावादी विद्रोह, मावनतावाद र दार्शनिकताको अनुपम त्रिवेणी पाइन्छ । उनी पूर्वीय वेदान्त दर्शन र पाश्चात्य स्वच्छन्दतावादी, विशेषगरी विलियम वर्डस्वर्थ, पीबी शेली र जोन किट्सजस्ता कविका विचारधाराबाट गहिरो रुपमा प्रभावित थिए । त्यसैले उनका रचनामा पूर्वीय अध्यात्म र पाश्चात्य भौतिक चेतनाको उत्कृष्ट संयोजन देखिन्छ ।
वि.सं. २०१६ साल भदौ २९ गते क्यान्स रोगका कारण संसारबाट बिदा भएका महाकवि लक्ष्मीप्रसाद देवकोटा भौतिक रुपमा हामीमाझ नरहे पनि आफ्ना अमूर्त र कालजयी कृतिहरुका माध्यमबाट प्रत्येक नेपालीको मुटुमा जीवित छन् । उनी नेपाली वाङ्मयका गौरव र पहिचान हुन् ।
आज उनको ११८औँ जन्मजयन्ती मनाइरहँदा केवल औपचारिक कार्यक्रम र प्रशंसामा मात्र सीमित नभई, उनले देखाएको मानवतावादी मार्ग, सामाजिक रुपान्तरणको चेत र नेपाली भाषाप्रतिको अगाध प्रेमलाई व्यवहारमा उतार्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
नाेट – बन्धु, चूडामणि (वि.सं.२०५८). देवकोटा. साझा प्रकाशन, पुस्तकमा आधारित ।
