रतन भण्डारी

चन्द्रशमशेरकी कान्छी महारानी बालकुमारीका जेठा छोरा विष्णुशमशेरको सिंहदरबारमा जन्मेका थिए । आफू प्रधानमन्त्री हुँदा कान्छी महारानीबाट जन्मिएका पहिलो छोरा विष्णुलाई चन्द्रशमशेर निकै माया गर्थे । विष्णुशमशेर चन्द्रशमशेरका अति प्यारा छोरा थिए । बाउको बढी माया पाएर होला, विष्णुशमशेर सानैदेखि जिद्दी र विद्रोही स्वभावका थिए।
विष्णुशमशेरको विवाह वि.सं. १९८० को दशकतिर उर्मिलाराज्यलक्ष्मीसँग भयो। उनकी पत्नी उर्मिलाको माइती कतै भारतमा त कतै दार्चुलाको मार्मामा रहेको उल्लेख छ । मेजर जनरल विष्णु पछि पुल्चोकमा आफ्नै दरबार श्रीमहलमा बस्न थाले ।
वि.सं. १९८८ सालमा कलकत्ताको चर्चित फिर्पोज रेस्टुरेन्टमा विष्णुले गाईको मासु खाएको हल्ला काठमाडौं पुग्यो। सात समुद्र तर्दा समेत पतिया लिनुपर्ने जमानामा उनले गाईको मासु नै खाएको आरोप लागेको थियो ।
त्यसपछि आक्रोशित प्रधानमन्त्री भीमशमशेरले उनलाई रोलक्रमबाट हटाई सैनिक दर्जासमेत खोसे । त्यस प्रकरणमा विष्णुशमशेरले माफी नमागी देश छाडे ।
उनी श्रीमती उर्मिलादेवीसँगै लन्डनको बर्कले स्क्वायरमा गएर बसे। उनीसँग पिता चन्द्रले दिएको ३० लाख पाउन्ड स्टर्लिङ थियो। वि.सं. १९८८ भदौमा लन्डनमा पत्नी उर्मिलाबाट छोरा पिताम्बरको जन्म भयो ।
उर्मिलादेवीको माइती कतिपयले भारत, कसैले दार्चुलाको मार्मा र कतिपयले डोटी उल्लेख गर्ने गरेका छन्।
लन्डनका ठूलाबडाका क्लब र नायिकाहरूसँग उनको नाम पत्रपत्रिकामा आइरहन्थ्यो। उनी राजकुमार एडवर्डसम्मकै सर्कलमा हिँड्थे । पछि उनी अमेरिकी नायिका सान्ड्रा राम्बोसँग प्रेममा परे ।

वि.सं. १९९८ मा उनी बहामास गएर बसे। त्यही बेला उनका पुराना साथी एडवर्ड (जो राजा पद त्यागेपछि ड्युक अफ विन्डसर भएका थिए) बहामासका गभर्नर थिए। बहामासमा उनी मदिराका अम्मली बने । सोही कारण उनको स्वास्थ्य बिग्रँदै गयो ।
अन्ततः वि.सं. २००३ सालमा ४० वर्षको उमेरमा उनको बहामासमै निधन भयो । आमा बालकुमारीको इच्छाअनुसार उनको शवलाई विमानमा बनारस ल्याई गंगा किनारमा दाहसंस्कार गरियो।
विष्णुशमशेरका छोरा पिताम्बर पछि भारतका ठूला उद्योगपति बने ।पिताम्बरशमशेर भारतमा महिन्द्रा एन्ड महिन्द्रा कम्पनीका प्रबन्ध निर्देशक थिए ।

यी हुन् विष्णुशमशेरका छोरा तथा चन्द्रशमशेरका नाति पिताम्बरशमशेर ।
प्रधानमन्त्री चन्द्रशमशेरका कान्छी महारानीतर्फका जेठा छोरा विष्णुशमशेरले कलकत्तामा गाईको मासु खाएको प्रकरणमा देश छाडेर लन्डन गएर बसे ।
त्यहीँ उनकी श्रीमती उर्मिलाबाट छोरा पिताम्बरशमशेर जन्मिए । लन्डनबाट विष्णु पछि बहामास टापुमा गएर बसे ।
मद्यपानमा लिप्त हुँदा उनको अल्पायुमै अर्थात् ४० वर्षकै उमेरमा वि.सं. २००३ सालमा निधन भयो ।
उनको शव विमानमा भारतको वाराणसी ल्याएर दाहसंस्कार गरियो । पछि विष्णुशमशेरका छोरा पिताम्बर भारतमै बसे । उनी महिन्द्रा एन्ड महिन्द्रा कम्पनीका प्रबन्ध निर्देशक रहे ।
पिताम्बरशमशेर गोल्फ खेलाडीसमेत थिए । उनले सन् १९५८ अक्टोबर २८ मा दिल्लीमा आयोजित राष्ट्रिय खुला गोल्फ च्याम्पियनसिपको सेमिफाइनलमा आई. एस. मलिकलाई हराएका थिए ।
तर फाइनलमा भने आई. एस. मलिकका छोरा ए. एस. मलिकसँग उनी हार्न पुगे । यो तस्बिर सन् १९५८ नोभेम्बर १ मा स्पोर्ट एन्ड पास्टाइम मा प्रकाशित छ ।
लेखक इतिहास, नेपालको सीमाना तथा जलस्रोत विषयका विज्ञ हुनुहुन्छ ।
