Photo: https://www.facebook.com/Swoyambhustupa
काठमाडौं, कार्तिक १०— कार्तिक शुक्ल पूर्णिमा अर्थात् कतिं पुन्हीका अवसरमा ज्यापु समुदायले आज स्वयम्भू महाचैत्यमा परम्परागत ‘ओला पर्व’ मनाउँदैछन्।
यस दिन शुद्ध र चोखो अवस्थामा हातैले उनिएको यस पवित्र सेतो पताहःलाई कतिं पुन्ही (कार्तिक शुक्ल पूर्णिमा) को पावन दिन स्वयम्भू महाचैत्यमा श्रद्धा र भक्तिपूर्वक अर्पण गर्ने परम्परा रहेको छ।


पर्वका अवसरमा ज्यापु समुदायका विभिन्न टोलका बालबालिकाहरू आफ्ना अभिभावकसँगै झिसमिसेमै स्वयम्भू पुग्ने परम्परा छ। उनीहरू दिनभरि तथा रातभरि स्वयम्भूमै बसेर भोलिपल्ट परम्पराअनुसारका पूजाविधि सम्पन्न गरेपछि मात्र आ–आफ्ना टोलमा फर्कने गर्छन्।
पुस्तौँदेखि चलिआएको यस परम्पराले ज्यापु समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा पुर्ख्यौली संस्कारलाई जीवन्त राख्दै आएको छ।

कतिं पुन्हीकै अवसरमा ‘चिभा वर्षं’ अन्तर्गत पुर्खाहरूले स्थापना गरेका चिभा चैत्यहरूको श्रद्धापूर्वक पूजा गर्ने चलनसमेत रहेको छ। यसका साथै आकाशदीप प्रज्वलन गरी पूजाआजा गर्ने परम्पराले पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्छ।
यसरी कतिं पुन्हीले नेवार समुदायको मौलिक संस्कृति, धार्मिक विश्वास र पुस्तान्तरण हुँदै आएको परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

