काठमाडौँ । मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गर्नुभएको दोस्रो राष्ट्रिय सम्मेलनमा अनुसन्धान, प्रविधि र नवप्रवर्तनलाई व्यवहारिक प्रयोगसँग जोड्नुपर्नेमा वक्ताहरूले जोड दिनुभएको छ।
‘डिजिटल ट्रान्सफर्मेसन एन्ड इनोभेसनः शेपिङ द फ्युचर अफ बिजनेस, टेक्नोलोजी एन्ड हस्पिटालिटी’ विषयमा आयोजित एकदिने सम्मेलनमा व्यवसाय, प्रविधि, पर्यटन, डिजिटल वित्तीय सेवा र आतिथ्य क्षेत्रको रूपान्तरणबारे छलफल गरिएको हो।
कलेजकी अध्यक्ष रितल राणाले अनुसन्धानलाई कागजमा सीमित नराखी समाजका वास्तविक समस्या समाधानमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ। अनुसन्धानबाट प्राप्त ज्ञान र निष्कर्षलाई आवश्यक क्षेत्र पहिचान गरी व्यवहारमा उतार्न सके मात्रै त्यसको उपलब्धि देखिने उहाँको भनाइ छ। उहाँले विद्यार्थी तथा अनुसन्धानकर्तालाई नयाँ विषयमा खोज गर्न प्रोत्साहित गर्दै अनुसन्धान र नवप्रवर्तनलाई संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
कलेजका रिसर्च हेड डा. पदम डंगोलले सम्मेलनलाई अनुसन्धान प्रस्तुत गर्ने अवसरसँगै नयाँ विचार आदानप्रदान गर्ने र भविष्यका अध्ययनका लागि आधार तयार गर्ने माध्यमका रूपमा व्याख्या गर्नुभएको छ। यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास र क्षमता बढाउने उल्लेख गर्दै उहाँले अनुसन्धानलाई समाज र राज्यको आवश्यकतासँग जोड्नुपर्ने बताउनुभएको छ। आगामी वर्ष सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तथा प्रस्तुत अनुसन्धानपत्रलाई आर्टिकलका रूपमा प्रकाशन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभएको छ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. सतीशकुमार ओझाले प्रविधिको विकासले काम गर्ने तरिका, व्यवसाय सञ्चालन र सेवा प्रवाहमा परिवर्तन ल्याइरहेको बताउनुभएको छ। उहाँले कृत्रिम बौद्धिकता (एआई) लाई मानिसको प्रतिस्पर्धीभन्दा सहयोगी प्रविधिका रूपमा बुझ्न आग्रह गर्नुभएको छ। एआईले रोजगारी समाप्त गर्ने चिन्ता भए पनि मानवीय संवेदना, अनुभव र प्रत्यक्ष अन्तरक्रिया आवश्यक पर्ने नर्सिङ, अध्यापन, काउन्सिलिङ तथा यात्राजस्ता क्षेत्रमा यसको पूर्ण प्रतिस्थापन सम्भव नहुने उहाँको धारणा छ।
सम्मेलनमा आचार्य श्री महेन्द्र वसिष्ठले वैज्ञानिक अनुसन्धान र आध्यात्मिक यात्राबीचको सम्बन्धबारे प्रस्तुति दिनुभएको छ। उहाँले प्रविधिको विकाससँगै मानसिक शान्ति र आन्तरिक सन्तुलनलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।
कार्यक्रममा पर्यटन, वातावरण, डिजिटल वित्तीय सेवा, स्वास्थ्य, यातायात, इलेक्ट्रिक भेहिकल ब्याट्री, डिजिटल वालेट, मेसिन लर्निङ, सूचना सुरक्षा, गोपनीयता, कर्पोरेट गभर्नेन्स र डिजिटल उद्यमशीलतालगायत विषयमा अनुसन्धानपत्र प्रस्तुत गरिएका थिए। सम्मेलनले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता तथा व्यवसाय र प्रविधि क्षेत्रका सरोकारवालाबीच ज्ञान तथा अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
