काठमाडौं, कात्तिक १०। नेपाल मौसम विज्ञान विभागले आगामी बिहीबार (कात्तिक १२) देखि शनिबार (कात्तिक १४) सम्म देशका धेरै भागमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ। केही स्थानमा भारी तथा अति भारी वर्षा र हिमपात हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।
मंगलबार बिहान ८ बजे जारी बुलेटिनअनुसार हाल देश पश्चिमी वायुको आंशिक प्रभावमा छ। हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा छ भने तराई, उपत्यका र खोँचमा बिहानपख हिउँद र कुहिरो लागेको छ।
धानबाली लगायत देशभरि अन्न भित्र्याउने बेला भएको हुनाले मौसमको पूर्वानुमान विचार गरेर बाली भित्र्याउनका लागि देशभरि कृषकहरुले योजना बनाउनु उपयुक्त हुने देखिएको छ ।
बुधबार (कात्तिक ११): देशभर बदली रहनेछ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ। राति कोशी र बागमतीका पहाडी भाग, मधेश प्रदेश तथा कोशीको तराईका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुन सक्ने भएको छ।
बिहीबार (कात्तिक १२): दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका हिमाली भागमा बदली रहनेछ। हिमाली क्षेत्रमा हल्कादेखि मध्यमसम्मको वर्षा/हिमपात हुन सक्छ। राति देशभर बदली रहने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा, तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात हुने सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा/हिमपात, तथा लुम्बिनीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ।
शुक्रबार (कात्तिक १३): कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थानमा, तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ। उक्त पाँच प्रदेशका केही स्थानमा भारी वर्षा/हिमपात हुन सक्छ। कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भागका एक–दुई स्थानमा पनि भारी वर्षा/हिमपात हुन सक्ने देखिन्छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षा/हिमपातको सम्भावना पनि छ।
शनिबार (कात्तिक १४): मौसमको अवस्था शुक्रबारजस्तै रहने देखिन्छ। फरक यत्ति कि अति भारी वर्षा/हिमपातको सम्भावना मधेश प्रदेशका एक–दुई स्थानमा पनि छ।
विभागका अनुसार अहिले आगामी तीन दिनका लागि औपचारिक मौसमी चेतावनी जारी गरिएको छैन। तर बिहीबारदेखि शनिबारसम्मका लागि बुलेटिनमा परामर्श दिइएको छ। बाढी, पहिरो, डुबान, भू–क्षय र हिमपतनले दैनिक जनजीवन, कृषि, पर्यटन तथा सडक र हवाई यातायातमा असर पार्न सक्ने भएकाले सबै सतर्क रहन विभागले आग्रह गरेको छ।
चक्रवात ‘अर्नब’ को सम्बन्ध: बंगालको खाडीमा बनेको गहिरो न्यून चापीय प्रणाली चक्रवात ‘अर्नब’ मा परिणत भएको भारतीय मौसम विभाग (आईएमडी) ले सोमबार पुष्टि गरेको छ। यो प्रणाली मंगलबार मध्याह्नतिर आन्ध्रप्रदेश र उडिसाको तटीय भागमा पुग्ने अनुमान थियो। त्यसपछि स्थानीय वर्षा प्रणालीसँग मिसिँदै उत्तरतर्फ बढेर बुधबार राति नेपाल आइपुग्ने र बिहीबारदेखि वर्षा बढ्ने जलवायु शाखाको विश्लेषण छ। चक्रवातको शक्ति हेर्दा केही स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा व्यापक हिमपात हुन सक्ने अनुमान गरिएको छ। यद्यपि नेपाल मौसम विज्ञान विभागको बुलेटिनमा चक्रवातको नाम उल्लेख गरिएको छैन।
सतर्कताका लागि:
- बाढी, पहिरो र नदी किनारका जोखिमयुक्त क्षेत्रमा बस्नेहरू सुरक्षित स्थानमा सर्ने तयारी गरून्।
- खेतमा रहेका बाली तथा खुला ठाउँमा राखिएको अन्न सुरक्षित स्थानमा सार्ने।
- उच्च हिमाली क्षेत्रमा यात्रा तथा पदयात्रा गर्नेहरू यात्रा स्थगित गर्ने वा ताजा मौसम जानकारी लिएर मात्र अघि बढ्ने।
- मेघगर्जन र चट्याङका बेला खुला ठाउँ, रूखमुनि र धातुका वस्तुबाट टाढा रहने।
- सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले यात्रा गर्नुअघि अवस्था बुझ्ने।
- मौसम विभागका ताजा सूचना निरन्तर हेर्ने।
