समाजिक प्रिस्क्रिप्शन सिफारिस
यदि कुनै दिन तपाईंलाई चिकित्सकले डिप्रेसन, थकान वा एक्लोपनको उपचारका लागि औषधि होइन, नृत्य कक्षा, कुकिङ क्लास वा कला समूहमा सहभागी हुने सिफारिस गरे कस्तो होला ?
मानसिक स्वास्थ्य समस्या भएका वा एक्लोपन महसुस गर्ने बिरामीहरूलाई मोन्ट्रियल म्युजियम अफ फाइन आर्ट्समा निस्शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।
रामकुमार राई
काठमाडौं, कात्तिक ६ ।
मानिसको जीवनशैलीमा आएको तीव्र फेरबदल, डिजिटल डिभाइसहरूप्रतिको बढ्दो निर्भरता र भौतिक दूरीले आजको आधुनिक समाजको गम्भीर चुनौती बनेको छ— एक्लोपन ।
शारीरिक स्वास्थ्य बिग्रँदा चिकित्सककहाँ पुग्ने र औषधिको प्रेस्क्रिप्शन (पुर्जी) बोकेर फर्किने चलन त पुरानै हो, तर यदि कुनै दिन तपाईंलाई चिकित्सकले डिप्रेसन, थकान वा एक्लोपनको उपचारका लागि औषधि होइन, नृत्य कक्षा, कुकिङ क्लास वा कला समूहमा सहभागी हुने सिफारिस गरे कस्तो होला ?
सुन्दा अचम्म लाग्न सक्छ, तर यो कुनै काल्पनिक कथा होइन। बेलायत जस्तो विकसित राष्ट्रले आफ्ना नागरिकहरूको मानसिक स्वास्थ्य सुधार गर्न र एक्लोपनको महामारीसँग जुध्न यही मोडललाई राष्ट्रिय स्वास्थ्य सेवा प्रणाली (NHS) मा औपचारिक रूपमा भित्र्याइसकेको छ।
केही वर्षअघि तत्कालीन बेलायती प्रधानमन्त्री टेरेसा मेको सरकारले यसलाई गम्भीर राष्ट्रिय समस्याको रूपमा पहिचान गर्दै एक विशेष एक्लोपन रणनीति सार्वजनिक गरेको थियो।
बेलायतमा गरिएका विभिन्न अध्ययन र तथ्यांकहरूले देखाएअनुसार त्यहाँ करिब २ लाख मानिसहरू यस्ता छन्, जसले एक महिनाभन्दा बढी समयदेखि कुनै पनि साथी वा आफन्तसँग संवाद गरेका छैनन्।
शारीरिक रूपमा एक्लो हुनु मात्रइन, यो दीर्घकालीन रूपमा मानसिक स्वास्थ्यको पतन, डिप्रेसन, मुटु रोग र अन्य शारीरिक बिरामीहरूको प्रमुख कारक बन्दै गएको छ। यसै तथ्यलाई मध्यनजर गर्दै बेलायत सरकारले स्वास्थ्य सेवा प्रणालीमा आमूल परिवर्तनको प्रस्ताव गरेको हो।
सामाजिक प्रिस्क्रिप्शनको अवधारणा
यस रणनीतिको मुख्य उद्देश्य बिरामीलाई केवल रासायनिक औषधिहरूमा मात्र निर्भर गराउनुको सट्टा उनीहरूको सामाजिक जीवन र मानसिक उर्जालाई पुनर्जीवित गर्नु हो। यसअन्तर्गत जनरल प्रक्टिसनर अर्थात् चिकित्सकहरूले वृद्धवृद्धा र सीमित सामाजिक सम्पर्क भएका व्यक्तिहरूलाई निम्न गतिविधिहरूका लागि सामाजिक पुर्जी दिन सक्नेछन् । त्यसमा पनि
बलरुम डान्स तथा नृत्य कक्षाहरूले शारीरिक सक्रियता बढाउनुका साथै मस्तिष्कलाई ताजा राख्न, कुकिङ र आर्ट समूहहरूमा सहभागी हुनाले मानिसहरूलाई एक ठाउँमा जम्मा भएर रचनात्मक कार्य गर्न प्रेरित गर्छ भने, वाकिङ क्लबहरूस् जसले खुला वातावरणमा सामूहिक हिँडडुलमार्फत सामाजिक अन्तरक्रिया बढाउँछ।
प्रधानमन्त्री टेरेसा मेले यस कदमबारे स्पष्ट पार्दै भनेकी थिइन्, यस्ता सामाजिक प्रिस्क्रिप्शनहरूले राष्ट्रिय स्वास्थ्य सेवा माथि बिरामीको चाप कम गर्नेछन् र बिरामीहरूको समग्र जीवनस्तरमा सुधार ल्याउनेछन्।
यसका साथै, सरकारले हुलाक सेवाका कर्मचारीहरूलाई समेत आफ्ना रुटमा रहेका एक्ला र जोखिममा परेका वृद्धवृद्धाको अवस्था बुझ्न र उनीहरूलाई स्वास्थ्यकर्मीहरूसँग जोडिन प्रोत्साहन गर्न आग्रह गरेको छ।
बेलायतको यो पहल एक्लोपनविरुद्धको विश्वव्यापी लडाइँको एउटा प्रमुख उदाहरण बनेको छ। यस्ता अभ्यासहरू अन्य मुलुकमा पनि विस्तार हुन थालेका छन्। उदाहरणका लागि, क्यानाडाको मोन्ट्रियल सहरमा पनि यस्तै अभ्यासको थालनी गरिएको छ।
जहाँ केही मानसिक स्वास्थ्य समस्या भएका वा एक्लोपन महसुस गर्ने बिरामीहरूलाई मोन्ट्रियल म्युजियम अफ फाइन आर्ट्समा निस्शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। कला र संस्कृतिले मानिसको मनको बोझ हल्का गर्न र समाजसँग पुनस् जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास यी संस्थाहरूको छ।
विकसित राष्ट्रहरूमा देखिएको यो प्रवृत्तिले स्वास्थ्यको परिभाषालाई फराकिलो बनाएको छ। स्वास्थ्य भनेको केवल रोग नलाग्नु मात्र होइन, बल्कि एक खुसी, सन्तुष्ट र सामाजिक रूपमा जोडिएको जीवनयापन गर्नु हो।
नेपाल जस्ता विकासशील मुलुकहरूमा पनि परम्परागत सामुदायिक संरचनाहरू टुट्दै गएका छन् र सहरीकरणसँगै एक्लोपनका समस्याहरू लुकेको रूपमा बढ्दो छन्।
बेलायतको यो सामाजिक प्रिस्क्रिप्शनु मोडलले हामीलाई पनि स्वास्थ्य नीति निर्माण गर्दा मानसिक स्वास्थ्य, कला, संस्कृति र सामुदायिक अपनत्वलाई कसरी जोड्न सकिन्छ भन्ने गतिलो पाठ सिकाइएको छ।
एकीकृत नेपाल
