भर्जिनिया, नोभेम्बर ११, २०२६ — अमेरिकाको भर्जिनिया राज्यस्थित एक जुरीले नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या गरेको अभियोगमा उनका पति नरेश भट्टलाई दोषी ठहर गरेको छ। करिब दुई वर्षदेखि चर्चामा रहेको यस घटनामा आएको फैसलालाई ममताको परिवार र नेपाली समुदायले न्यायको दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।
जुरीले मंगलबार ३९ वर्षीय नरेशलाई जघन्य क्रुर हत्या, शव लुकाएको तथा मानव शरीरको अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो। करिब छ सातासम्म चलेको सुनुवाइपछि जुरीले झन्डै पाँच घण्टा छलफल गरेर फैसला सुनाएको थियो।
अदालतमा आफ्नो बचाउ गर्दै भट्टले ममताको मृत्यु आत्महत्याका कारण भएको दाबी गरेका थिए। उनले ममतालाई घरमा अचेत अवस्थामा भेटेको र बचाउने प्रयास असफल भएपछि आफू डराएको भन्दै शव टुक्राटुक्रा पारेर फालेको स्वीकार गरेका थिए।
तर सरकारी वकिलहरूले भट्टले योजनाबद्ध रूपमा पत्नीको हत्या गरी प्रमाण नष्ट गर्ने प्रयास गरेको जिकिर गरेका थिए। अभियोजन पक्षले आफ्नो दाबी पुष्टि गर्न फरेन्सिक प्रमाण, डीएनए परीक्षण, निगरानी क्यामेराका दृश्य, मोबाइल फोनका विवरण तथा डिजिटल खोज इतिहास अदालतसमक्ष प्रस्तुत गरेको थियो।
अनुसन्धानका क्रममा भट्टले खरिद गरेको आरामा ममताको डीएनएसँग मेल खाने प्रमाण भेटिएको थियो। त्यस्तै, उनले फोहोर फाल्न प्रयोग गरेका झोला र सरसफाइका सामग्री खरिद गरेको विवरण तथा विभिन्न स्थानमा झोला फाल्दै गरेको दृश्यसमेत अभियोजन पक्षले प्रस्तुत गरेको थियो।
सुरुमा भट्टले ममता घर छाडेर गएको र न्यूयोर्क वा टेक्सास पुगेको हुन सक्ने बताएका थिए। तर अनुसन्धानका क्रममा उनका भनाइमा विरोधाभास देखिएको अभियोजन पक्षको तर्क थियो।
नेपाल मूलकी ममता भर्जिनियाको मनासस पार्कस्थित आफ्नै निवासबाट सन् २०२४ जुलाईमा बेपत्ता भएकी थिइन्। उनी काममा जान छाडेपछि र परिवार तथा साथीभाइसँग सम्पर्कविहीन भएपछि उनको खोजी सुरु भएको थियो। तर अहिलेसम्म उनको शव फेला परेको छैन।
घटनाले अमेरिका र नेपालमा रहेका नेपाली समुदायको ध्यान आकर्षित गरेको थियो। ममताको अवस्था पत्ता लगाउन र दोषीलाई कारबाही गर्न परिवार तथा नेपाली समुदायले निरन्तर आवाज उठाउँदै आएका थिए।
फैसलापछि अदालतले भट्टको धरौटी रद्द गरेको छ। अब उनी सजाय निर्धारण नभएसम्म पुर्पक्षका लागि हिरासतमै रहनेछन्।
प्रथम श्रेणीको हत्यामा भट्टलाई २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्नेछ। अन्य दुई अभियोगमा पनि थप सजाय हुन सक्ने व्यवस्था छ। उनको सजाय निर्धारणका लागि सन् २०२७ मार्च १२ को मिति तोकिएको छ।
यो फैसलाले ममताको परिवारले लामो समयदेखि भोग्दै आएको पीडा र न्यायको प्रतीक्षालाई महत्वपूर्ण मोडमा पुर्याएको छ।
