ढाका, मङ्सिर ३ ।
पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ ।
विद्यार्थी नेतृत्वको विद्रोहबाट १५ वर्षे शासन अन्त्य भएपछि सन् २०२४ अगस्टमा भारत पलायन हुनुभएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गर्नुभएको छ । प्रदर्शनकारीमाथि भएको घातक दमनसम्बन्धी मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले उहाँलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ।
हसिनाको सम्भावित फिर्तीलाई लिएर पछिल्ला दिनमा हिंसात्मक घटना बढेका छन् । प्रतिबन्धित अवस्थामा रहेको उहाँको दल अवामी लिगले बिहीबार राष्ट्रव्यापी प्रदर्शन र ‘लकडाउन’ आह्वान गरेको थियो । सीमा सुरक्षा बल बङ्गलादेशले हसिनाको गृहनगर गोपालगञ्जसहित सात जिल्लामा सुरक्षाकर्मी खटाएको छ ।
पार्टीको घरभित्रै बस्नुपर्ने आह्वानका बाबजुद समर्थकहरूले ढाकालाई गोपालगञ्जसँग जोड्ने राजमार्गका विभिन्न स्थानमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । ती क्षेत्रमा आगजनी तथा हिंसाका घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
यसैबीच, प्रधानमन्त्री तारिक रहमानले राजनीतिक विरोधीहरूले देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाउँदै लोकतन्त्र समर्थक शक्तिहरूलाई एकजुट हुन आग्रह गर्नुभएको छ । प्रहरीले अवामी लिगसँग सम्बन्धित १०७ जनालाई बुधबारदेखि पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत हुनुहुन्छ ।
हसिनाले पछिल्ला सातामा समर्थकहरूलाई सम्बोधन गर्दै डिसेम्बरमा स्वदेश फर्कने प्रतिबद्धता दोहोर्याउनुभएको छ । उहाँको घोषणासँगै बङ्गलादेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ ।
रासस/एएफपी
