काठमाडौं, कात्तिक १६। नेपाल र पाकिस्तानबीचको लामो समयदेखिको कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई व्यापार, लगानी र आर्थिक सहकार्यका माध्यमबाट थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानबीच सोमबार चेम्बर भवनमा भएको भेटवार्तामा दुई देशबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल भएको हो।
भेटमा अध्यक्ष अग्रवालले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि अपेक्षाअनुसार द्विपक्षीय व्यापार विस्तार हुन नसकेको उल्लेख गर्दै औपचारिक सम्झौताभन्दा अघि बढेर निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक साझेदारी र लगानी प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो।
उहाँले नेपाली चिया, ठूलो अलैँची, अदुवा, जडीबुटी, आवश्यक तेल तथा प्रशोधित कृषि उत्पादनका लागि पाकिस्तानी बजारमा राम्रो सम्भावना रहेको उल्लेख गर्नुभयो। साथै, औषधि उद्योग, स्वास्थ्य सेवा, सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), पर्यटन, स्टार्टअप तथा प्राविधिक तालिममा सहकार्य गर्न सकिने धारणा राख्नुभयो।
राजदूत खानले नेपालसँगको सम्बन्धलाई पाकिस्तानले विशेष महत्त्व दिएको उल्लेख गर्दै आर्थिक सम्बन्ध विस्तार आफ्नो कार्यकालको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले दुवै देशका युवा जनशक्तिको सीप, प्रविधि र उद्यमशीलतालाई आर्थिक सहकार्यसँग जोड्नुपर्नेमा जोड दिनुभयो।
यसैबीच, रसुवा तथा आसपासका क्षेत्रमा हालै आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राजदूत खानले पाकिस्तान सरकार र जनताका तर्फबाट नेपाल तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउनुभयो।
भेटमा दुवै पक्षले व्यापार, लगानी, कृषि, पर्यटन, औषधि उद्योग, सूचना प्रविधि तथा हवाई र स्थलमार्गको सम्पर्क विस्तारलगायतका क्षेत्रमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेटमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रालगायत पदाधिकारीको उपस्थिति थियो।
