जनक श्रेष्ठ
लमजुङ, २१ भदौः बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो । घरपरिवारले पनि उहाँहरू काममै हुनुहुन्छ भन्ने ठानेको थियो । तर यही जेठ १० गते बिहान करिब ८:३० बजेपछि आएको एउटा खबरले बेँसीसहर नगरपालिका–११ का घर्ती परिवारलाई गहिरो पीडामा धकेल्यो, ‘रसुवामा बाढी आएको छ, आयोजनामा कार्यरत राधिका र झपटबहादुरको सम्पर्क टुटेको छ ।”
त्रिचालीस वर्षीया राधिका घर्ती र ४५ वर्षीय झपटबहादुर घर्ती श्रीमान्–श्रीमती हुनुहुन्छ । उहाँहरू रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा करिब १०–१२ वर्षदेखि कार्यरत हुनुहुन्थ्यो । राधिका खाना पकाउने काम गर्नुहुन्थ्यो भने झपटबहादुर सुरुङसम्बन्धी काममा खटिनुहुन्थ्यो । बाढी आएको दिन बिहानसम्म सबै सामान्य नै थियो । परिवारसँग करिब ८ः३० बजेसम्म सम्पर्क भएको थियो । त्यसपछि भने फोन लागेन । झपटबहादुरको मोबाइलको ‘लोकेसन’ पनि बिहान करिब ८ः५६ बजेसम्म देखिएको थियो । त्यसपछि लोकेसनसमेत देखिन छाड्यो ।
“उहाँहरू कहाँ हुनुहुन्छ भन्ने नै थाहा हुन सकेन । सुरुङ वा पावरहाउस आसपास हुनसक्ने हाम्रो अनुमान छ”, भतिज विशाल घर्तीले भन्नुभयो । बाढीपछि नेपाली सेनाले सुरुङमा एक पटक खोजी गरेको थियो । तर सुरुङभित्रको कठिन अवस्थाका कारण पूर्ण रूपमा खोजी गर्न नसकिएको घर्तीको परिवारले जनाएको छ । त्यसपछि परिवारका लागि हरेक दिन प्रतीक्षाको दिन बनेको छ । घर्ती परिवार कतैबाट फोन आउँछ कि, खोजीका क्रममा कुनै खबर भेटिन्छ कि भन्ने आशामा ।
राधिका र झपटबहादुरका दुई छोरा र एक छोरी हुनुहुन्छ । जेठो छोरा आमाबुबाको खोजीमा संलग्न हुनुहुन्छ । कान्छो छोरा जापानमा हुनुहुन्छ भने छोरीको विवाह भइसकेको छ । परिवारका सदस्यहरूका लागि भने अहिले सबैभन्दा ठूलो प्रश्न एउटै छ – उहाँहरू कहाँ हुनुहुन्छ ? “अब त न सासको खबर छ, न लासको । जिउँदै भेटिने आस पनि लगभग मरिसकेको छ । तर पनि उहाँहरूको अवस्था थाहा पाउन र कम्तीमा शवसम्म भए पनि फेला पार्न पाए हुन्थ्यो”, विशालले भन्नुभयो ।
आफन्तका अनुसार राधिका र झपटबहादुर लामो समयदेखि आयोजनामै काम गर्दै आउनुभएको थियो । रोजगारीकै क्रममा रसुवा पुग्नुभएका उहाँहरू वर्षौँदेखि त्यहीँ कार्यरत हुनुहुन्थ्यो । घरपरिवारबाट टाढा रहेर काम गर्दै आउनुभएका उहाँहरू एकैपटक सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात भएको छ ।
रसुवामा आएको बाढीपछि राधिका र झपटबहादुरमात्र होइन, लमजुङका अन्य व्यक्तिसमेत सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रसुवाको बाढीपछि जिल्लाका १० जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ ।
