भैली नाच

रामकुमार राई
काठमाडौं, कात्तिक २२ ।
खासगरी भैली गीत र नृत्य भाइटीकासँग सम्बन्धित छ । किवदन्ती अनुसार यमलोकका अधिपति यमराज एक पटक यमलोकबाट फुर्सद लिएर बहिनी यमुना कहाँ आएर पाँच दिनसम्म बसेका थिए ।
व्यस्त रहने आफ्ना दाजु आफ्नो घरमा आएकोमा बहिनी यमुना साहै« प्रसन्न हुन्छिन् र दाजुलाई विभिन्न तरहले पूजा गरी स्वादिष्ट भोजनले सन्तुष्ट गराउँछिन् ।
दाजु यमराज निकै आनन्दित भइ बहिनीलाई इच्छाएको कुरा पुरा गरिदिने वचन दिन्छन् । यमुनाको लागि दाजुलाई आफ्नो निवासमा देख्न पाउनु नै खुसीको कुरा थियो । त्यसैले जसरी हजुर मेरा घरमा आउँदा म सन्तुष्ट भएँ, त्यसरी नै हरेक चेली र माइतीहरु सन्तुष्ट भएको देख्न चाहान्छु भनिन् ।
हजुर मेरो घरमा बसेको पाँच दिन चेली माइतीको पर्व बनोस् । यस पर्वमा दिदीबहिनीहरले लगाइदिएको दुबोको माला, मखमली फूलको माला र तोरीको तेल नसुकुन्जेल दाजुभाइहरुलाई नमार्नू भनी यमदूतहरुलाई हुकुम दिनुहोस् ।
आफ्नी बहिनी यमुनाको यो इच्छालाई यमराजले स्वीकार गरे । त्यो दिन द्वितीय तिथि परेको थियो, त्यसैले यसलाई यमद्वितीय पनि भनिन्छ । यही चेली माइतीको प्रगाढ प्रेम र सम्झौताको पुनःस्मरणको लागि पनि भैली नृत्य नाचिन्छ ।
त्यसैगरी, अर्को सन्दर्भ अनुसार एक जना मानिस दिदी कहाँ भाइटीका लगाउन जाँदै थियो । बाटोमा उनलाई लिन आएको यमदूतसँग भेट भयो ।
यमदूतहरुले उनलाई समातेर यमलोकमा जान आदेश दिए । तर त्यस मानिसले आज यमद्वितीयको दिन हो, मेरी दिदी मेरै प्रतीक्षामा पूजा सामान लिएर बसेकी छिन् ।
त्यसैले यमराज र यमुनाको पूजा गरी दिदीसँग टीका ग्रहण गरी जान्छु भनी निवेदन गर्यो । यमराजको पूजा गर्ने भनेपछि सर्त राखी त्यो मानिसलाई टीका सकिएपछि आउने भनी छाडिदिए ।
त्यो मानिस दिदी कहाँ गयो र फूलटीका लगायो । यमदूतहरु पनि त्यहाँ पुग्यो र दिदीसँग पनि भाइलाई लिन आएको बतायो ।
दिदीले यमदूतहरुसँग एउटा कुराको माग गर्यो कि भाइलाई पूजा गरेको समयमा रक्षा कवजको रुपमा भाइको वरिपरि पोखिएको तेल र गलामा लगाइदिएको मखमली फूलको माला सुकेपछि लैजान भने ।
यमदूतहरुले धेरै समयसम्म पर्खिए तर तेल र मखमली फूलको माला सुकेनन् । लाचार भएर यमदूतहरु फर्किए भन्ने किंवदन्ती रहेको छ ।
शरद ऋतुको आगमनसँगै झिलिमिली बत्ती र रङहरुको पर्वको रुपमा परिचित तिहार वा यमपञ्चक चाडले नेपाली समाजको मनोविज्ञानमा उज्यालो प्रकाश ल्याउँछ ।
यस चाडले प्रकृतिको सौन्दर्य, मानवता, सहअस्तित्व र आन्तरिक चेतनाको प्रकटीकरण पनि गर्दछ । यस पाँच दिवसीय पर्वको केन्द्रमा रहेको लक्ष्मीपूजाले नेपाली साहित्य, कला र संस्कृतिको गहिरो अर्थ बोकेको छ ।
लक्ष्मीपूजाको रातलाई केवल धनधान्यकी देवीको पूजा आराधना गर्ने धार्मिक अनुष्ठानका रुपमा मात्र सीमित गरिएको छैन, यसलाई मानिसको अन्तरमनका अन्धकारलाई चिर्दै ज्ञान, ऐश्वर्य र आत्मिक समृद्धिको अन्वेषण गर्ने अवसरको रुपमा पनि चित्रण गर्न सकिन्छ ।
कात्तिक कृष्ण औँसीको कालो रातलाई शास्त्रहरुमा सुखरात्रि भनिएको छ । चेतना र हृदयमा भएको अन्धकारलाई चिर्दै बालिने दियो, मैनबत्तीको झिलिमिली र विभिन्न फूलहरुको रङ्गिन चित्ताकर्षक दृश्यले मानिसको मनको सुसुप्त चेतनालाई जागृत गर्ने बिम्बको रुपमा काम गर्छ ।
लक्ष्मीपूजा गरिसकेपछि महिलाहरु मिलेर मादल, मुजुरा, आदि बजाउँदै भैलो वा भैली नाच्न सुरु गर्दछन् । यसले सांस्कृतिक निमयहरुको पालना मात्रै नगरी त्यसबाट मनोरञ्जन र स्वतन्त्रताको अनुभूति गर्छन् । विशेषगरी, आश्विन कृष्ण त्रयोदशीदेखि आश्विन कृष्ण आमावास्यसम्म नाचिने नृत्तलाई भैलो नाच भनिन्छ ।
यो महिलाहरुद्वारा मात्र नाचिने समूहगत परम्परागत नाच हो । यस नाचमा महिलाहरुको समूहमा एक टोलीनेताले कोमल शब्दमा बलिराजा र वामन अवतारसँग सम्बन्धित गीत, विभिन्न गीतहरु र टुक्काहरु गाउँदै समूहमा खेलिने नृत्त हो ।
टोलीनेतृले भट्याएपछि भैली वा भैली रे गाउँदै र नाच्दै रमाइलो गरिन्छ । यस नाचमा मादल, खैँजडी, थपडी जस्ता वाद्यहरु बजाउने गरिन्छ ।
भैली गीत र नाच मूलतः तीन चरणका हुन्छन् । पहिलो चरणमा घरभेटीलाई भैली समूह आएको जानकारी दिनु, घरभेटीलाई जगाउनु र बस्ने प्रबन्ध गर्ने अनुरोधका गीतहरु प्रस्तुत गरिन्छ ।
जस्तै :
भैलेनी आइन् आँगन, बढारी कुडारी राख न !
हे…औँसीको बार, गाई तिहार भैलो ।
दोस्रो चरणमा भैली खेल्न आउनुको कारण र रसमय भैलीगीतहरु प्रस्तुत गरिन्छ ।
जस्तै :
हामी त्यसै आएनौँ, बलिराजाले पठाको !
हे… औँसीको दिन गाई तिहार भैलो ।
तेस्रो चरणमा धनधान्य दिने घरपेटीलाई आशीर्वाद दिने आकर्षक गीतहरु प्रस्तुत गरिन्छ ।
जस्तै :
जसले दिन्छन् मानो, उसकै सुनको छानो !
हे… औँसीको दिन गाई तिहार भैलो ।
जसले दिन्छन् पाथी, उनकै सुनको छात्ति !
हे… औँसीको दिन गाई तिहार भैलो ।
जसले दिन्छन् मुरी, उनकै सुनको धुरी !
हे… औँसीको दिन गाई तिहार भैलो ।
भैलीको दिन पूर्वी पहाडी भेगमा सिमल बारुलै अन्तरा भएको गीत र सुदूर पश्चिमतिर सैलेना गीत प्रचलनमा रहेको छ ।
सैलेना भैली गीतमा महाराज सलेन शाह र रम्भा रानीको गाथाका गीतिकथाको रुपमा गाउने गरिन्छ । बलिराजाको प्रशस्ति नै सलेन शाहको रुपमा गाइएको हो भन्ने केही विद्वानहरुको कथन छ ।
डोटी क्षेत्रमा गाइने सैलेना गीतमा भट्याउने नेतृले राजा र रानीको गाथा र समूहले ज्यूनापुरी भनेर छोप्ने गर्छन् ।
जस्तै :
सलेनका शाह महाराज – ज्यूनापुरी !
धारु बल्यो भाइ – ज्यूनापुरी !
गौरा गाउँकी रम्भा रानी – ज्यूनापुरी !
