चितवन, भदौ २०। पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन भनी उद्योगीहरूले उपत्यका बाहिरै सिलिन्डरमा ग्यास भर्ने तयारीमा सक्रिय भएका छन् ।
उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिण्डर ल्याउन अनुमति दिएपछि सोहीअनुसार उद्योगीहरू लागेका हुन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेतीलगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउन लागेको जानकारी दिनुभयो ।
नेपाल ग्यासका सञ्चालक रहनुभएका भण्डारीका अनुसार उहाँको उद्योगको सिलिण्डर चितवनमा रहेको नेपाल ग्यास गण्डकीमा ‘बोटलिङ’ गर्ने काम भइरहेको छ । सिलिण्डरको अभावमा मागअनुसार भर्न सकिएको छैन । नेपाल ग्यासले उपत्यकामा दैनिक ११ हजार सिलिण्डर बिक्री गर्दै आएको छ । उहाँका अनुसार केही दिन भित्रमानै आठदेखि १० हजार शिलिण्डर दैनिक काठमाडौँ लैजाने गरी तयारी गरिएको छ ।
