रतन भण्डारी

चन्द्रशमशेरको विषकाण्डमा ज्यान गुमाएका उनका भाइ फत्तेशमशेर पत्नीका साथ माथि तस्विरमा देख्न सकिन्छ।
चन्द्रशमशेर दाज्यू देवशम्शेरलाई पदच्युत गराई धनकुटा धपाए र आफू प्रधानमन्त्री भए ।
इतिहासकार रामजी उपाध्यायका अनुसार त्यस षड्यन्त्रका प्रारम्भमा चन्द्रशम्शेरले आफ्ना भाइ भतिजाहरूको चित्त बुझाउन “अब उप्रान्त मैले कुनै भाइ भतिजाहरूलाई धपाउन खोजेमा सबै भाइ भतिजाले मिलि मलाइ धपाउन सक्नेछन्” भन्ने धर्मपत्र लेखी फत्तेशम्शेरलाई दिएका थिए ।
त्यस धर्मपत्रलाई राखेकोले पछि फत्तेशम्शेरले विष परी अकालमा मर्नु पर्यो ।
फत्तेशम्शेरले आफूले विष परि मर्नु पर्ने कारण त्यो धर्मपत्र हो भन्ने बुझेर त्यसलाई मर्ने वेलामा भीमशम्शेरलाई दिएका थिए ।
फितला भीमशम्शेरले त्यो धर्मपत्र आफ्ना कान्छा भाइ जुद्धशम्शेरलाई राख्न दिए । फत्तेशम्शेरका मृत्यु पछि हत्तपत्त आफैं चन्द्रशम्शेर फत्तेशम्शेरका गृहमा पुगे ।
तिनले त्यहाँ पुगी भाइ बुहारीहरूलाई सान्त्वना दिनु, बोलाउन, सोध्नु समझाउने कुरा केही नगरी फत्तेशम्शेरको मूल कन्तुर खोली त्यो धर्मपत्र खोज्न थाले ।
त्यो धर्मपत्र त्यहाँ नपाएर भीमशम्शेरका हात परेको थाहा पाइ चन्द्रशम्शेर लगत्तै भीमशम्शेरको घरमा पुगे । भीमशम्शेरबाट त्यो धर्मपत्र जुद्धशम्शेरलाई दिएको छु, भन्ने थाहा भै निजले जुद्धशम्शेरसँग त्यो धर्मपत्र मागे । त्यसमा “त्यो धर्मपत्र त हामीले राख्नुपर्ने हो, हजूरलाई किन चाहियो” भन्ने जुद्धशम्शेरले स्पष्ट उत्तर दिएकोले चन्द्रशम्शेरले चुप लाग्नु पर्यो ।
यस प्रकार आफ्ना वंश प्रर्वतक जंगबहादुर र वीरशम्शेरद्वारा चलाएको नेपालामात्य पद प्राप्ति तथा त्यसका स्थिरताका निमित्त चलाएको हत्याको परिपाटीलाई फत्तेशम्शेरको हत्या गरी चन्द्रशम्शेरले पनि कायम राखेका थिए ।
फत्तेशमशेर धीरशमशेरका १७ भाइ छोरा मध्ये आठौँ छोरा थिए । राणाहरुले बसालेको प्रधानमन्त्रीको रोलक्रममा चन्द्रशमशेर पछि भीमशमशेर र भीमशमशेरपछि फत्तेशमशेरको नाम थियो ।
लेखक इतिहास, नेपालको सीमाना एवं जलस्रोतका विषयमा विज्ञ हुनुहुन्छ ।
