हिल्सा नाकामा हिमपात हुम्ला,कार्तिक १४ रासस: शुक्रबार साँझबाट परेकाे अविरल वर्षासँगै हिमपातपछि शनिबार बिहान सेताम्मे हिल्सा नाका । तस्बिर कालीबहादुर थापा रासस
कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भाग हिमपात भएको हो ।
डोल्पाको शे फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात हुनुका साथै हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी, कनकासुन्दरी गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिका हिमपात भइरहेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले तल्लो डोल्पामा वर्षा र माथिल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भइरहेको बताउनुभयो ।
उहाँका अनुसार माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक लगाइएको र गएकाहरू सबैको अवस्थाबारे सूचना लिने काम भइरहेको छ । विपद् जोखिम आकलन गरी त्यसबाट सम्भावित क्षति हुन नदिन कमाण्ड पोष्टको बैठक बसेर जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास कार्यालय, स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलगायत सबै सरोकार भएका निकायसँग समन्वय गरेर उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले शुक्रबार बेलुका ५ः०० बजेदेखि मध्यम खालको वर्षा निरन्तर भइरहँदा पहिरो जाने खतरा रहेकाले आजलाई सवारी आवागमन रोक्न प्रहरी खटाइएको बताउनुभयो । मुगुमा टेलिफोनको नेटवर्क र प्रहरी सञ्चार राम्रोसँग नलागेको बताउँदै उहाँले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर केही जोखिमपूर्ण घटना घटे समाधान र उद्धारका लागि सरोकार भएका निकायलाई तयारी अवस्थामा रहन समन्वय गरिएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले हिमपातले नाम्खा गाउँपालिको हिल्सा, लिमी, लाप्चाको बाटो बन्द भएको जानकारी दिनुभयो ।
जोखिम क्षेत्रका बासिन्दालाई यो वर्षा र हिमपातको तीन दिनमा सुरक्षित स्थानमा व्यवस्थापन गरिएको बताउँदै उहाँले कमाण्ड पोष्टको बैठकबाट सुरक्षा निकाय, रेडक्रस, स्वास्थ्य, खानेपानी र स्थानीय तहलगायत सरोकार भएका निकाय खोज तथा उद्धारका लागि तयारी रहने निर्णय गरिएको जनाउनुभयो ।
मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर
मुगु, १४ कात्तिकः मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ः४५ बजेदेखि २४ घण्टाको अवधिमा मुगुमा ३९.८ मिलिमिटर वर्षा भएको छ ।
आज बिहान ८ः४५ बजेसम्म गमगढी बजारको अधिकतम तापक्रम ९.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको केन्द्रका अवलोकनकर्ता नम्रता मल्लले जानकारी दिनुभयो । मौसममा आएको परिवर्तनसँगै तापक्रम घटेपछि सर्वसाधारणका साथै बालबालिका, वृद्धवृद्धा तथा बिरामी बढी प्रभावित भएका उहाँको भनाइ छ । निरन्तर वर्षाका कारण जिल्लाको हवाई सेवा तथा सडक मार्गसमेत प्रभावित भएका मल्लले बताउनुभयो । वर्षाका कारण बजार तथा ग्रामीण बस्तीमा चहलपहल घटेको छ ।

हिमपातले मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने डोल्फु, मुगु, ताखा, खारी, दाउरा, पुअ, सेरोग, किम्ग्री मह, माङ्री, पाँपु, चिमात गाउँ बढी प्रभावित भएका छन् । यी क्षेत्रमा बढी हिउँ र पानी परेकाले अत्यधिक चिसो बढेको केन्द्रका अवलोकनकर्ता मल्लले बताउनुभयो । हिमपात र वर्षाले एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न, बस्तुभाउ चराउन समस्या भइरहेको स्थानीय फुर्वा फुटिक लामाले बताउनुभयो ।
मुगुका अग्ला हिमाल, बस्तीहरूमा हिउँ परेको छ भने होचो स्थानमा शुक्रबार साँझदेखि वर्षा भइरहेको केन्द्रले जनाएको छ । वर्षा र हिमपातको समयमा अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमा बस्न, अनावश्यक आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय मुगुले शुक्रबार सूचना जारी गरी सबैमा अनुरोध गरेको छ । जिल्लामा वर्षा र हिमपात भइरहेको भए पनि हालसम्म कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस
