अमृत खरेल

काग कराउँदै छ, पिना सुक्दै छ देखि भाइ भए भरोस, गाई भए गोरससम्म!
तिहारमा पुजिने पात्र नेपाली उखान–टुक्कामा पनि उत्तिकै लोकप्रिय! यी उखान–टुक्का केवल मनोरञ्जनका लागि बनेका होइनन्। यिनमा नेपाली समाजको अनुभव, कृषि जीवनको इतिहास, प्रकृतिप्रतिको निर्भरता, पशुपक्षीप्रतिको व्यवहार र पारिवारिक सम्बन्धको गहिरो दर्शन लुकेको छ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार फूल, माला, बत्ती र देउसीभैलोको मात्र पर्व होइन। यो त नेपाली लोकजीवन, प्रकृति, पशुपक्षी, कृषि संस्कृति, पारिवारिक आत्मीयता र भाषिक सम्पदाको अनुपम उत्सव पनि हो। तिहारमा एकातिर काग, कुकुर, गाई र गोरुको पूजा गरिन्छ भने अर्कोतिर दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास र दीर्घायुको कामना गर्दै भाइटीका मनाइन्छ।
रोचक कुरा के छ भने तिहारमा सम्मान गरिने यी पशुपक्षी र पारिवारिक सम्बन्ध नेपाली उखान–टुक्कामा पनि प्रशस्त भेटिन्छन्। हाम्रा पुर्खाले जनावरको स्वभाव, मानिसको व्यवहार र समाजका अनुभवलाई छोटा तर चोटिला उखानमा उतारेका छन्।
काग कराउँदै छ, पिना सुक्दै छ। यो नेपाली समाजमा निकै लोकप्रिय उखान हो। प्रश्न उठाउनेले जति प्रश्न उठाएपनि शासकले उस्तै चरित्र देखाए भने यो उखान ठ्याक्कै मिल्न जान्छ । अनि सकारात्मक रुपमा लिने हो यो उखानलाई भने अरुले जे भने पनि आफ्नो काम र लक्ष्यमा निरन्तर लागिरहनुपर्छ भन्ने पनि यसको सकारात्मक सन्देश हो।
त्यस्तै, ‘कागभन्दा कोइली चङ्ख’, ‘कौवालाई बेल पाक्यो, हर्ष न विस्मात्’, ‘काग बढ्ता बाठो भएर गु खान्छ’ जस्ता उखानले कागका राम्रा नराम्रा पक्षलाई हेरेर नेपाली जनजीवन र भाषाको अभिन्न पात्र बनाएका छन्।
कुकुर तिहारमा फूलमाला, टीका र मीठो खानेकुरा दिएर सम्मान गरिने कुकुर पनि नेपाली उखानमा उत्तिकै चर्चित छ।
‘भुक्ने कुकुर भुकिरहन्छ, टोक्ने कुकुर सुतिरहन्छ’ भन्ने उखानले धेरै हल्ला गर्नेभन्दा चुपचाप काम गर्ने मानिसको महत्त्व बुझाउँछ। यस्तै कुकुर भुकिरहन्छ हात्ती लम्किरहन्छ भन्ने उखानले पनि कोही कसैले आलोचना गर्दैमा डगमगाउन जरुरी छैन भन्ने यथार्थबोध गराउँछ ।
‘भुक्ने कुकुरले टोक्दैन’ भन्ने उखानले ठूलो हल्ला गर्नेले काम गर्दैन भन्ने सन्देश दिन्छ । ‘कुकुरजस्तै बफादार’ भन्ने टुक्काले निष्ठा र इमानदारीको प्रशंसा गर्छ। तर ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा हाले पनि बाङ्गाको बाङ्गै’ भन्ने उखानले मानिसको जिद्दी स्वभावमाथि व्यङ्ग्य गर्छ। त्यस्तै, ‘सबै कुकुर काशी गए गु केले खाला?’ भन्ने उखानले कुकुरको खराब पक्ष उजागर गर्दै संसारमा खराब काम गर्नेको पनि सबैको आ–आफ्नो काम र भूमिका हुने कुरा सम्झाउँछ।
‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेर एकपटक चेतिसकेको मान्छे पछिदेखि सचेत हुन्छ भन्नेतर्फ इंगित गरिन्छ । कुकुरलाई घिउ पच्दैन भन्ने उखानले स्तरहीनलाई धेरै राम्रो चीजको महत्व हुँदैन भन्ने व्यंग्य पनि गरिन्छ ।
गाई तिहार नेपाली कृषि, धर्म र ग्रामीण जीवनसँग जोडिएको विशेष दिन हो। गाईलाई दूध, दही, घिउ र कृषि संस्कृतिको महत्त्वपूर्ण आधार मानिन्छ। त्यसैले नेपाली उखानमा पनि गाईको विशेष स्थान छ। ‘भाइ भए भरोस, गाई भए गोरस’ भन्ने उखानले दाजुभाइको साथ र गाईको दूधबाट प्राप्त हुने पोषणलाई एकै ठाउँमा राखेर परिवार र जीवनको महत्त्व बुझाउँछ। ‘गाई गङ्गा बराबर’ भन्ने भनाइले गाईप्रतिको धार्मिक श्रद्धा झल्काउँछ। त्यस्तै, ‘गाई मारी गधा पोस्नु’ भन्ने उखानले उपयोगी र महत्त्वपूर्ण वस्तु गुमाएर कम महत्त्वको कुरालाई प्राथमिकता दिनु कति मूर्खतापूर्ण हुन्छ भन्ने व्यङ्ग्य गर्छ। फलानो त “गौप्राणी” नै हो भन्यो भने गाई जस्तै सोझो भन्ने बुझिन्छ ।
गोरु तिहारको अर्को महत्त्वपूर्ण पात्र हो। खेत जोत्ने, अन्न उब्जाउन सहयोग गर्ने र परम्परागत कृषि अर्थतन्त्रलाई धान्ने गोरुलाई नेपाली समाजले श्रम र उत्पादनको प्रतीकका रूपमा हेर्दै आएको छ। त्यसैले ‘कानो गोरुलाई औँसी न पूर्णे’ भन्ने उखान प्रचलित छ। यसको आशय कुनै कुरा छुट्याउन नसक्ने व्यक्तिका लागि राम्रो–नराम्रो वा अवसर–अनवसरको भेद नहुनु हो। ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने टुक्काले अरूको कुरा नसुनी आफ्नै अडानमा अडिग रहने जिद्दी स्वभावलाई चित्रण गर्छ। त्यस्तै, ‘साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ’ भन्ने उखानले मानिसले आफ्नो अनुभव र अवस्थाअनुसार संसारलाई हेर्ने दृष्टिकोण बनाउँछ भन्ने सन्देश दिन्छ।
अब कुरा गरौँ भाइटीकाको। तिहारको सबैभन्दा भावनात्मक पक्ष भनेकै दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध हो। नेपाली उखानमा पनि भाइको महत्त्वलाई निकै सुन्दर ढङ्गले व्यक्त गरिएको छ। ‘भाइ भए भरोस, गाई भए गोरस’ भन्ने उखानले परिवारमा भाइको साथ र सहयोगलाई गाईको दूधजत्तिकै उपयोगी मानेको छ। ‘भाइ फुटे गँवार लुटे’ भन्ने उखानले आपसी फाटो र विभाजनले परिवार तथा समाजलाई कमजोर बनाउने चेतावनी दिन्छ। त्यस्तै, ‘गाँस छोड्नु तर साथ नछोड्नु’ भन्ने भनाइले कठिन अवस्थामा पनि आत्मीय सम्बन्ध र साथ नत्याग्न प्रेरित गर्छ।
यी उखान–टुक्का केवल मनोरञ्जनका लागि बनेका होइनन्। यिनमा नेपाली समाजको अनुभव, कृषि जीवनको इतिहास, प्रकृतिप्रतिको निर्भरता, पशुपक्षीप्रतिको व्यवहार र पारिवारिक सम्बन्धको गहिरो दर्शन लुकेको छ। कतिपय उखानमा पुरानो समाजका पूर्वाग्रह र नकारात्मक दृष्टिकोण पनि झल्किने भएकाले तिनलाई तत्कालीन सामाजिक परिवेशको अभिव्यक्तिका रूपमा बुझ्नुपर्छ।
यसरी हेर्दा तिहारले कागको सन्देश, कुकुरको इमानदारी, गाईको उपयोगिता, गोरुको श्रम र दाजुभाइको आत्मीयतालाई एउटै सांस्कृतिक मालामा गाँसिदिएको छ। प्रकृतिमा भएका साना जीवदेखि मानव सम्बन्धसम्म सबैको महत्त्व सम्झाउने यो पर्व नेपाली समाजको विशिष्ट पहिचान हो।
सायद यही भएर नेपाली लोकजीवनले भन्छ— ‘भाइ भए भरोस, गाई भए गोरस।’ तिहारको वास्तविक सुन्दरता पनि यही हो: सबैको अस्तित्वको सम्मान, सम्बन्धको संरक्षण र आपसी प्रेमको उत्सव!
