ईश्वर थापा/रासस
धनकुटा, ५ असोज । धनकुटा नगरपालिका–६ सिरान बजारमा रहेको एउटा घर बाहिरबाट हेर्दा सामान्य घरजस्तै देखिन्छ तर घरभित्र पस्नेबित्तिकै त्यहाँको वातावरण फरक महसुस हुन्छ । कोठाका दराज, भित्ताका कुनाकाप्चा र ¥याकमा सजाएर राखिएका पुराना सामग्रीले आगन्तुकलाई दशकौँ पुरानो समयतिर पु¥याउँछ ।
घरभित्र कुनै समय नेपाली समाजको दैनिकीमा प्रयोग भएका रेडियो, ग्रामोफोन र टेलिफोन रहेका छन् । पुराना भाँडाकुँडा र कृषि औजार पनि छन् । राणा शासनकालको इतिहास सम्झाउने चन्द्रशमशेरकालीन इँटा र माटाका पाइप छन् । धनकुटाको पुरानो स्वरुप देखाउने दुर्लभ तस्बिर रहेका छन् । त्यति मात्र होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका महत्वपूर्ण दस्तावेज पनि त्यहीँ सुरक्षित रहेका छन् ।
तीमध्ये एउटा सामान्य देखिने कागजले विशेष अर्थ राख्छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा नेपाली काँग्रेसका तत्कालीन राजनीतिक कमिसार गिरिजाप्रसाद कोइरालाले जयनारायण श्रेष्ठसँग भरुवा बन्दुक र गोली लिएको भर्पाइ हो त्यो । बन्दुक फिर्ता गर्ने शर्तमा बनाइएको भर्पाइ हो त्यो । तर, बन्दुक लिएको प्रमाणका रुपमा तयार पारिएको त्यो कागज भने पुस्तौँ पार गर्दै अहिले पनि सुरक्षित रहेको छ । यस्ता ऐतिहासिक सामग्रीको संरक्षण धनकुटा नगरपालिका–६, सिरान बजारका मनोजनारायण श्रेष्ठ गर्दै आउनुभएको हो ।
शहीद भीमनारायण श्रेष्ठका जेठा छोरा श्रेष्ठले तीन दशकभन्दा बढी समयदेखि पुराना वस्तु, ऐतिहासिक कागजात, तस्बिर तथा स्मृति चिन्ह सङ्कलन गर्दै आफ्नै घरलाई सानो तर महत्वपूर्ण सङ्ग्रहालयका रूपमा विकास गर्नुभएको छ । उहाँले स्थापना गर्नुभएको शहीद भीमनारायण श्रेष्ठ स्मृति सङ्ग्रहालय अहिले धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक स्मृतिको एउटा निजी अभिलेखजस्तै बनेको छ ।
एक विदेशीको प्रश्नले सुरु भएको संरक्षण यात्रा
मनोजनारायण श्रेष्ठको पुराना वस्तु सङ्कलन गर्ने यात्रा कुनै पूर्वयोजनाबाट सुरु भएको थिएन ।
एउटा सामान्य घटनाले उहाँलाई पुराना सम्पदा र वस्तुको महत्वबारे सोच्न बाध्य बनाएको थियो । २०५१ सालमा उहाँ जापानी नागरिकहरूसँग काम गर्नुहुन्थ्यो । एक दिन जापानी टोलीलाई लिएर धनकुटा बजारको हुलाकटोल हुँदै चारचौतारातर्फ जाने क्रममा अहिलेको जिल्ला प्रहरी कार्यालय नजिक पुगेपछि टोलीका सदस्यहरुले अचानक गाडी रोकेर हिँड्न लगाएका थिए । त्यो बेला सडकमा बिछ्याइएको पुरानो ढुङ्गा हेर्न उनीहरू गाडीबाट ओर्लिएको मनोजनारायणले बताउनुभयो । ‘‘उनीहरु किन गाडीबाट ओर्लिए भनेर दोभासेमार्फत सोधेको थिएँ”, श्रेष्ठ सम्झनुहुन्छ, ‘‘उनीहरुले त्यो ढुङ्गे सडक पुरातात्विक सम्पदा भएकाले त्यसको संरक्षण गर्नुपर्ने र त्यसमाथि गाडी चलाउँदा ढुङ्गा फुट्नसक्ने बताएका थिए ।’’
विदेशी नागरिकले धनकुटाको एउटा पुरानो ढुङ्गाप्रति देखाएको संवेदनशीलताले उहाँलाई गहिरो प्रभाव पारेको उहाँको भनाइ छ । “धनकुटा हाम्रो, बाटो हाम्रो, ढुङ्गा पनि हाम्रो, तर त्यसको माया चाहिँ विदेशीलाई लाग्ने ?” उहाँले त्यसबेला मनमा उठेको प्रश्न सुनाउनुभयो । त्यही घटनापछि उहाँले पुराना वस्तु जोगाउने र सङ्कलन गर्ने सोच बनाएको बताउनुभयो । सानो प्रयासबाट सुरु भएको उहाँको अभियान तीन दशकभन्दा बढी समयपछि ठूलो व्यक्तिगत सङ्ग्रहमा परिणत भएको छ । अहिले उहाँसँग २००भन्दा बढी महत्वपूर्ण तथा दुर्लभ ऐतिहासिक सामग्री सुरक्षित छन् ।
एउटा भर्पाइ, जसले इतिहासको कथा सुनाउँछ
सङ्ग्रहालयमा रहेका सबै सामग्रीमध्ये २००७ सालको प्रजातान्त्रिक आन्दोलनसँग सम्बन्धित दस्तावेजलाई विशेष महत्व दिइएको छ । त्यसमध्ये जयनारायण श्रेष्ठसँग तत्कालीन नेपाली कांग्रेसका राजनीतिक कमिसार गिरिजाप्रसाद कोइरालाले भरुवा बन्दुक र त्यसका गोली लिएको भर्पाइ महत्वपूर्ण मानिन्छ । राणा शासनविरुद्धको सशस्त्र आन्दोलनका क्रममा तत्कालीन राजनीतिक गतिविधिका लागि बन्दुक आवश्यक परेपछि कोइरालाले जयनारायणसँग उक्त हतियार लिएको बताइएको छ ।
क्रान्ति सम्पन्न भएपछि फिर्ता गर्ने सर्तमा बन्दुक लिइएको प्रमाणका रुपमा भर्पाइ गरिएको थियो । क्रान्ति सम्पन्न भयो । राजनीतिक व्यवस्था पनि परिवर्तन भयो । तर, त्यो बन्दुक श्रेष्ठ परिवारमा फर्किएन । बन्दुकको सट्टा त्यसको सम्झना बोकेको एउटा कागज मात्र परिवारसँग रह्यो । जयनारायण सहिद भीमनारायणका बुबा तथा मनोज नारायणका हजुरबुबा हुन् । ‘‘त्यो सामान्य कागजजस्तो देखिए पनि यसको ऐतिहासिक महत्व धेरै ठूलो छ’’, श्रेष्ठले बताउनुभयो, ‘‘त्यसले नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण घटनालाई सम्झाइरहेको छ ।’’ आज त्यो भर्पाइ सङ्ग्रहालयको महत्वपूर्ण सामग्री बनेको छ ।
चन्द्रशमशेरकालीन इँटादेखि राणाकालीन माटाका पाइपसम्म
सङ्ग्रहालयमा राजनीतिक इतिहाससँग सम्बन्धित सामग्री मात्र छैनन् । नेपाली समाजको जीवनशैली, प्रविधि र निर्माण संस्कृतिसँग सम्बन्धित सामग्री पनि उत्तिकै महत्वपूर्ण छन् । चन्द्रशमशेरको पालामा निर्माण गरिएका इँटा यहाँ सुरक्षित छन् । राणा शासनकालमा हिलेबाट धनकुटा सदरमुकामसम्म खानेपानी ल्याउन प्रयोग गरिएका माटाका पाइप पनि सङ्ग्रहालयमा राखिएका छन् । पुराना सञ्चार उपकरणले तत्कालीन प्रविधिको झल्को दिन्छन् । ग्रामोफोन, रेडियो र टेलिफोनले सञ्चार र मनोरञ्जनका पुराना दिन सम्झाउँछन् ।
घरायसी भाँडाकुँडा, काठ तथा माटाबाट बनेका सामग्री र कृषि औजारले तत्कालीन समाजको दैनिकी बुझ्न सहयोग गर्छन् । यी सामग्रीमध्ये धेरै अहिलेको पुस्ताले देख्नसमेत पाएको छैनन् । त्यसैले सङ्ग्रहालय पुराना वस्तु थन्क्याइएको स्थान मात्र नभएर पुस्ताबीचको सम्बन्ध जोड्ने माध्यम पनि बनेको श्रेष्ठको भनाइ छ ।
अनुसन्धानकर्ताका लागि पनि महत्वपूर्ण स्रोत
घरभित्र सुरु भएको निजी सङ्ग्रह अहिले विद्यार्थी र अनुसन्धानकर्ताको अध्ययनस्थल पनि बन्न थालेको छ । इतिहास, संस्कृति, वास्तुकला र सामाजिक परिवर्तनसँग सम्बन्धित अध्ययन गर्ने विद्यार्थी तथा अनुसन्धानकर्ता संग्रहालय पुग्ने गरेका छन् । धरान इन्जिनियरिङ क्याम्पस तथा मदन भण्डारी प्रतिष्ठान, उर्लाबारी मोरङका विद्यार्थी र इन्जिनियरहरूले पुराना वास्तुकलाका नमुना अध्ययन गर्न सङ्ग्रहालयको अवलोकन गर्ने गरेका छन् । पुराना इँटा, माटाका पाइप, निर्माण सामग्री तथा घरायसी वस्तुले तत्कालीन प्रविधि र जीवनशैली बुझ्न सहयोग गर्ने गरेको श्रेष्ठले बताउनुभयो ।
मनोजनारायणले सङ्कलन गर्नुभएको सामग्री नयाँ पुस्ताका लागि महत्वपूर्ण ऐतिहासिक स्रोत बनेको स्थानीय राजेश्वर श्रेष्ठले बताउनु भयो । ‘‘समयसँगै प्रयोगबाट हराउँदै गएका धेरै सामग्री अहिले कतै भेटिँदैनन्’’, राजेश्वरले भन्नुभयो, ‘‘यस्ता सामग्री सुरक्षित हुनु भनेको समुदाय र मुलुकको इतिहासलाई सुरक्षित गर्नु हो ।’’ राजनीतिक इतिहाससँग सम्बन्धित सामग्री मात्र नभएर दैनिक जीवनसँग जोडिएका वस्तु सुरक्षित हुनु सङ्ग्रहालयको विशेष पक्ष भएको उहाँले बताउनुभयो ।
शहीद भीमनारायण श्रेष्ठसँग सम्बन्धित दस्तावेज र सामग्री अवलोकन गर्न नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता पनि सङ्ग्रहालय पुग्ने गरेका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, नेताहरु प्रकाशमान सिंह र मिनेन्द्र रिजाललगायत विभिन्न राजनीतिक व्यक्तित्वले सङ्ग्रहालयको अवलोकन गरिसकेको मनोज नारायणले बताउनुभयो । विशेषगरी भीमनारायण श्रेष्ठको राजनीतिक जीवनसँग सम्बन्धित दस्तावेजले लोकतान्त्रिक आन्दोलनको इतिहास बुझ्न सहयोग गर्ने उहाँको भनाइ छ ।
एउटा घरबाट सुरु भएको मौन अभियान
मनोजनारायण श्रेष्ठको सङ्ग्रहालय कुनै सरकारी परियोजनाबाट बनेको होइन । न त यसका लागि ठूलो बजेट छुट्याइएको छ । घरको एउटा सानो कुनाबाट सुरु भएको सङ्कलन यात्रा उहाँकै व्यक्तिगत लगानी, समय र मेहनतबाट विस्तार हुँदै आएको हो । साथीभाइ, आफन्त, स्थानीय बासिन्दा र विभिन्न ठाउँबाट प्राप्त सामग्री पनि सङ्ग्रहमा थपिँदै गए । कतिपय सामग्री उहाँ आफैँले खोज्नुभयो । कतिपय मानिसले महत्व बुझेर उहाँलाई उपलब्ध गराए । यसरी विस्तारै घर नै सङ्ग्रहालयमा परिणत भएको हो । अहिले एउटै घरमा दुई सयभन्दा बढी दुर्लभ सामग्रीसँगै ऐतिहासिक दस्तावेज रहेका छन् ।
इतिहास संरक्षण सजिलो काम भने होइन । पुराना कागजातलाई सुरक्षित राख्न वातावरण चाहिन्छ । तस्बिर बिग्रन नदिन संरक्षण चाहिन्छ । पुराना धातु, काठ, माटो र कागजबाट बनेका वस्तुलाई समयको असरबाट बचाउन निरन्तर हेरचाह आवश्यक हुन्छ । तर मनोजनारायण श्रेष्ठले आफ्नै स्रोत र साधनबाट यो कामलाई निरन्तरता दिइरहनुभएको छ ।
राज्यस्तरबाट पर्याप्त संरक्षण, बजेट वा प्रोत्साहन नपाए पनि उहाँले सङ्कलन र संरक्षणको कामलाई निरन्तरता दिनुभएको छ । उहाँका लागि यो केवल व्यक्तिगत रुचिको विषय भएपनि धनकुटाको इतिहाससँग जोडिएको जिम्मेवारी बनेको छ । ‘‘अहिले संरक्षण नगरे केही वर्षपछि धेरै सामग्री सधैँका लागि हराउन सक्छन्’’, श्रेष्ठले बताउनुभयो, ‘‘त्यसैले भेटिएका ऐतिहासिक सामग्रीलाई सम्भव भएसम्म जोगाएर राख्ने प्रयास गरिरहेको छु ।’’
