ब्यारेज
सर्लाही, १९ भदौः सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज तीन दशकसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
बलरा नगरपालिका–१० र रामनगर गाउँपालिका–१ को सिमाना सुदामामा निर्माण भएको सिँचाइ ब्यारेज ३१ वर्षदेखि अलपत्र अवस्थामा छ । बाह्रै महिना पानी बग्ने एकादशी खोलामा २०५२ सालमा ब्यारेज निर्माण गरिएको थियो । सुदामा, छोटउल, अचलगड, बलरा अर्नाह, मिर्जापुर, छतौना, खेअर्वा, रामनगर बहुअर्वालगायत साविक दर्जन बढी गाविसका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित निर्माण भएको ब्यारेज प्रयोग नै नभई अलपत्र बनेको हो ।
ब्यारेज रु छ करोड लागतमा निर्माण भएको थियो । कृषिको उर्वर भूमिका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको भरपर्दो सुविधा नहुँदा किसान वर्षाको पानीकोे भरमा खेती गर्न बाध्य छन् । यस क्षेत्रका सयौँ बिघा खेतीयोग्य भूभाग वर्षात्मा जलमग्न र हिउँदमा खण्डहर बन्ने गरेको बलरा नगरपालिका–५ मिर्जापुरका किसान शङ्कर साहले गुनासो गर्नुभयो । “ब्यारेजसँग जोडिएको एउटा नहर छ”, उहाँले भन्नुभयो, “त्यो पनि अव्यवस्थित छ ।”
नहरबाट आएको पानी वर्षायाममा अनियन्त्रित भइ ब्यारेज नजिकका केही किसानको खेतसम्म पुग्छ । बाँकी क्षेत्रका किसानले पम्पसेट र विद्युत् मोटरको भरमा जेनतेन खेती गरिरहेका उहाँको गुनासो छ ।
यसरी गरिएको खेती मौसम प्रतिकूल हुँदा खेर जाने गरेको उहाँको अनुभव छ । ब्यारेज निर्माण भएको ठाउँ जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्छ । उत्तरी क्षेत्र रामनगर गाउँपालिकाका भूभागमा सिँचाइ गर्न नसकिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
रासस
