सडकको मर्मत
नारायणगढ (चितवन), असोज २७ ।
सडक डिभिजन कार्यालय भरतपुरले चाडपर्वलाई लक्षित गरी राष्ट्रिय राजमार्ग तथा मातहतका सडकको मर्मतलाई तीव्रता दिएको छ । बाढी, पहिरो र वर्षाका कारण खाल्डाखुल्डी परेका तथा भत्किएका सडक मर्मत गरी चाडपर्वमा यात्रा सहज बनाउन काम तीव्र पारिएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार यस वर्ष बाढी, पहिरो र वर्षाका कारण विभिन्न स्थानमा सडकमा क्षति पुगेकाले चाडपर्वलाई ध्यानमा राखेर मर्मतको काम तीव्र पारिएको हो । उहाँले सडक मर्मत नियमित काम भए पनि यस वर्ष थप प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो ।
“हामी नियमित रुपमा सडक मर्मत गर्छौं । यस वर्ष चाडपर्वलाई लक्षित गरी कामलाई तीव्रता दिएका छौँ । यात्रुलाई सहज रूपमा यात्रा गर्नसक्ने वातावरण बनाउनु हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार नारायणगढ–मुग्लिन, नारायणगढ–लोथर, भरतपुर–माडी र भरतपुर–मेघौली सडकखण्डका साथै नवलपुर–पाल्पा–कालीगण्डकी करिडोरमा नियमित मर्मत भइरहेको छ । तीमध्ये धेरै स्थानमा मर्मतको काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।
सडकको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनको आवागमन र वर्षायाममा पानीको बहावका कारण सडकमा क्षति पुग्ने गरेको आचार्यले बताउनुभयो । उहाँले सडकको क्षति कम गर्न क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन सञ्चालन नगर्न आग्रह गर्नुभयो ।
कार्यालयले आफ्नै जनशक्ति परिचालन गरी ‘इमल्सन प्याच’ र ‘रेक्टिफिक्स प्याच’ विधिबाट सडक मर्मत गरिरहेको छ । हिउँदमा तयार पारिएको रेक्टिफिक्स प्रयोग गरी आवश्यकताअनुसार इमल्सन प्याच प्रविधिसमेत अपनाएर सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन
बाढीले अवरूद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही असोज ११ गतेदेखि अवरूद्ध भएको थियो ।
गलकोट र ताराखोलाको सिमाना गाईघाट झरना नजिक सडकको ट्र्याक बगाएपछि अवरुद्ध बनेको सडकमा अस्थायी रूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताउनुभयो ।
दरमखोलामा आएको बाढीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडकको विभिन्न भागमा क्षति पुर्याएको थियो ।
बाढीले सडकको ट्र्याक बगाएपछि गलकोट र ताराखोलाबीचको यातायात सम्पर्कविच्छेद भएको थियो । सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो ।
सडक सञ्चालनमा आएसँगै गलकोट र ताराखोलाबीच आवतजावत गर्ने स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।
रासस / एकीकृत नेपाल
