जेरुसेलम, मङ्सिर १२ ।
इजरायलमा नयाँ सरकार गठनका लागि गठबन्धनको अनिश्चितता बढिरहेका बेला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विपक्षी नेता गादी आइसेनकोटलाई आलोपालो प्रधानमन्त्री बन्ने प्रस्ताव गर्ने तयारी गर्नुभएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार प्रस्तावित सत्ता साझेदारीबारे नेतान्याहुको कार्यालयभित्रै मतभेद छ ।
च्यानल १३ का अनुसार नेतान्याहुले आइसेनकोटसँग सत्ता साझेदारीको इच्छा सार्वजनिक गर्ने तयारी गर्नुभएको थियो । इजरायली सार्वजनिक प्रसारक कानका अनुसार प्रस्ताव अनौपचारिक माध्यमबाट अघि सारिने अपेक्षा गरिएको छ ।
तर, आइसेनकोट नेतान्याहुको प्रस्तावप्रति सशङ्कित हुनुहुन्छ । उहाँले अर्को साता सरकार गठन गरी शपथ लिने तयारीसमेत जारी राख्नुभएको छ । उहाँले गठबन्धन साझेदार डेमोक्रेट्स पार्टीका अध्यक्ष यायर गोलान र इजरायल बेटेनुका अध्यक्ष अभिग्डोर लिबरम्यानलाई उनीहरूको सहमतिबिना लिकुडसँग एकता सरकार गठन नगर्ने आश्वासन दिनुभएको बताइएको छ । दुवै नेताले नेतान्याहु नेतृत्वको सरकारमा सहभागी हुन अस्वीकार गर्दै आएका छन् ।
लिकुडसँग एकता सरकारको पक्षमा रहनुभएका बी’याचड पार्टीका अध्यक्ष नफ्ताली बेनेटले नेतान्याहुसँगको वार्ता टुङ्गिनुअघि आइसेनकोट नेतृत्वको सरकार गठन भए त्यसको विरोध गर्न सक्ने उहाँको समूहका वरिष्ठ नेताहरूले च्यानल १३ लाई बताएका छन् । लिकुडसँगको वार्ता असफल भए अन्य विकल्पमा विचार गर्न सक्ने सङ्केत बेनेटले यसअघि दिनुभएको थियो ।
राष्ट्रपति आइज्याक हर्जोगले आइसेनकोटलाई सरकार गठनका लागि दिनुभएको २८ दिनको समय डिसेम्बर ६ मा समाप्त हुँदैछ । आइसेनकोटको याशर, गोलानको डेमोक्रेट्स र लिबरम्यानको इजरायल बेटेनु पार्टीसँग नेसेटका १२० सिटमध्ये ३६ सिट छन् । बेनेटको समर्थनसमेत जोड्दा चारदलीय गठबन्धनसँग ४८ सिट पुग्छ । बहुमतका लागि आवश्यक ६१ सिट पुर्याउन लिकुड, अति अर्थोडक्स गुट वा अरब बहुल राम पार्टीको समर्थन आवश्यक पर्ने देखिन्छ ।
टाइम्स अफ इजरायलका अनुसार च्यानल १२ ले राम पार्टीले मन्त्री पद र अरब समुदायमा लगानीको बदलामा प्रस्तावित चारवर्षे कार्यकालमा आइसेनकोट नेतृत्वको सरकारका सुरक्षा निर्णयलाई समर्थन गर्ने प्रस्ताव गरेको जनाएको छ । रामका नेता मन्सुर अब्बासले पश्चिम किनारासम्बन्धी नियमजस्ता संवेदनशील विषयमा समेत गठबन्धनको निर्णय पालना गर्ने आश्वासन दिनुभएको बताइएको छ ।
रामले अब्बास र पार्टीका दोस्रो वरीयताका नेता सांसद योआव सेगालोभिट्जका लागि मन्त्रिपरिषद्मा पद, अरब समुदायमा अपराध नियन्त्रणको योजना तथा अरब र मिश्रित सहरहरूको विकासका लागि पाँचवर्षे कार्यक्रमअन्तर्गत दसौँ अर्ब शेकेल लगानी माग गरेको छ । नेगेभका अरब समुदायमा निर्माण गतिविधि व्यवस्थित गर्न राष्ट्रिय परियोजना सञ्चालन गर्नुपर्ने माग पनि पार्टीले अघि सारेको छ ।
आइसेनकोटले माग पूरा गर्ने प्रतिबद्धता जनाए राम आफ्ना केही माग सरकार गठनपछि क्रमशः कार्यान्वयन गर्न तयार रहेको बताइएको छ । पार्टी प्रारम्भिक सरकारमा सहभागी हुने अपेक्षा गरिएको छैन । अब्बासले आगामी च्यानल १२ को अन्तर्वार्तामा हमासलाई आतङ्कवादी सङ्गठनका रूपमा सार्वजनिक रूपमा मान्यता दिने अपेक्षा गरिएको छ । सम्भावित सुरक्षा जोखिमका कारण रामले उहाँका लागि निजी सुरक्षा व्यवस्था मिलाइरहेको जनाइएको छ ।
यसैबीच, आइसेनकोटको समूहका एक वरिष्ठ नेताले लिकुडसँगको एकता सरकारले सैन्य रिजर्भ सैनिकहरूको बोझ कम गर्ने बेनेटको तर्कमाथि प्रश्न उठाएका छन् । नेतान्याहु अति अर्थोडक्स सहयोगीहरूप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले एकता सरकारमा ती गुटलाई समावेश गर्ने र उनीहरूलाई छुट दिने प्रस्ताव रहेको बताएका छन् ।
च्यानल १२ लाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले ती अधिकारीको भनाइ उल्लेख गरेको छ, “रिजर्भ सैनिकहरूको समस्याको समाधानका रूपमा एकतालाई प्रस्तुत गर्नु गलत हो । लिकुडसँगको सरकारमा अति अर्थोडक्स गुट र नेतान्याहु दुवैले छुट पाउनेछन् ।”
रासस/एएनआई
