बुडापेस्ट, भदौ २३: हंङ्गेरी कुटनीतिज्ञका लागिअस्वीकार्य मानिएका गतिविधिमा सङ्लग्न भएको आरोपमा रुसी कूटनीतिक नियोगका १० सदस्यलाई देश छोड्न आदेश दिएको छ । विदेशमन्त्री अनिता ओर्बानले मङ्गलबार यसबारे जानकारी दिनुभएको हो ।
विदेशमन्त्री ओर्बानले रुसी कूटनीतिज्ञले कस्ता गतिविधि गरेका थिए भन्नेबारे विस्तृत जानकारी दिनुभएन् । उनीहरूले कति समयभित्र हङ्गेरी छोड्नुपर्ने हो भन्ने पनि स्पष्ट पारिएको छैन ।
उहाँका अनुसार रुसी राजदूतलाई हङ्गेरीका अधिकारीको मूल्याङ्कनअनुसार रुसी नियोगका १० सदस्यले हङ्गेरीमा कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिअन्तर्गत कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधि गरेको जानकारी दिइएको थियो ।
भियना महासन्धिले कूटनीतिज्ञको आचरण, अधिकार र जिम्मेवारीसम्बन्धी अन्तरराष्ट्रिय नियम निर्धारण गर्छ ।
विदेशमन्त्रीले यो निर्णयले हङ्गेरीको सुरक्षा र सार्वभौमिकताको रक्षा गर्ने बताउनुभयो । यद्यपि, यसबाट रूससँगको कूटनीतिक सम्बन्ध तोड्ने सङ्केत नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
“यसले रूससँग कूटनीतिक सम्बन्ध तोड्ने सङ्केत गर्दैन । हङ्गेरी पारस्परिक सम्मान र नियमको पालनामा आधारित आवश्यक संवाद जारी राख्न चाहन्छ,” उहाँले विज्ञप्तिमा भन्नुभयो ।
यो कदम प्रधानमन्त्री पिटर मग्यार नेतृत्वको सरकारको रूससम्बन्धी नीतिमा आएको परिवर्तनका रूपमा हेरिएको छ । मग्यारले यस वर्षको सुरुमा पदभार ग्रहण गर्दा हङ्गेरीको रूस समर्थक नीति अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
यसअघिका प्रधानमन्त्री भिक्टर ओर्बानलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीका रूपमा हेरिन्थ्यो । उहाँको कार्यकालमा हङ्गेरीले रूसमाथि युरोपेली सङ्घले लगाएका केही प्रतिबन्धलाई ढिलाइ गर्ने वा अवरुद्ध गर्ने प्रयास गरेको थियो । साथै, रूससँग ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्झौतालाई पनि अघि बढाइएको थियो । (रासस/एपी)
