बूढीगण्डकी नदीमा आएको बाढी
काठमाडाैं असाेज २५ ।
नेपाल भौगोलिक विविधता र जटिल भू-बनोटका कारण प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको देश हो। यहाँ विशेष गरी मनसुनको समयमा वा विभिन्न कारणले हुने पहिरो, बाढी र नदी थुनिने समस्याहरू बारम्बार देखिँदै आएका छन्। भदाै १० भाेटेकाेशी बाढीपछि अाज गोरखा जिल्लाको उत्तरी क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढी र त्यसले पुर्याएको क्षतिले यस क्षेत्रमा ठूलो हलचल ल्याएको छ।
गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–३ फिलिम क्षेत्रमा अचानक पहिरो गएर बूढीगण्डकी नदी थुनिएको थियो। नदी थुनिएर कृत्रिम ताल बनेको केही समयपछि पानीको चाप बढ्दै गएर उक्त ब्यारेज (बाँध) अचानक फुटेको थियो। बाँध फुटेसँगै बगेको लेदो, बालुवा, गेग्रान र ठूला ढुङ्गासहितको बाढीले नदीको तटीय क्षेत्रमा ठूलो खतरा निम्त्यायो।
बिहानको समयमा करिब ४:३० बजे अचानक बाढी आएकाले नदी किनारका बस्तीहरूमा ठूलो त्रास सिर्जना भयो। नदीको बहाव अत्यधिक बढेपछि तटीय क्षेत्रका बासिन्दाहरू सुरक्षित स्थानको खोजीमा भाग्न बाध्य भए। यस आकस्मिक बाढीले नदी आसपासका भौतिक संरचना, खेतीयोग्य जमिन र पर्यावरणमा समेत गम्भीर असर पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाको सुचना प्राप्त हुनासाथ नेपाल सरकार र सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै उद्धार कार्य तिब्र बनाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनाको सक्रियतामा हवाई तथा स्थलमार्गबाट उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्।
पहिरोको उच्च जोखिम र बाढीको प्रभावमा परेको जगत इलाकाबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत ६ जना नागरिकहरूको सफलतापूर्वक हवाई उद्धार गरिएको छ। काठमाडौँबाट पठाइएको विशेष ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ (Composite Quick Reaction Team) हवाई साधनसहित घटनास्थलमा तैनाथ भई उद्धार कार्यमा जुटिरहेको छ।सुरक्षाकर्मीहरूको टोलीले नदी तटीय तथा आसपासका बस्तीहरूमा पुगी स्थानीय बासिन्दाहरूलाई नदी किनारबाट टाढा रहन र सुरक्षित उच्च स्थानहरूमा जान निरन्तर आग्रह गरिरहेका छन्।
गाेरखा र आसपासका क्षेत्रहरू वि.सं. २०७२ को भूकम्पबाट अति प्रभावित क्षेत्र हुन्। याे बाढीकाे अाउनुकाे कारण सम्भवत यहाँका पहाडका भिरालो जमिनहरू कमजोर भएकाले सामान्य वर्षा वा अन्य भू-हलचलले पनि सजिलै पहिरो जाने गर्दछ। जलवायु परिवर्तनका कारण मौसमी चक्रमा आएको फेरबदल र तीव्र वर्षाका कारण लेदोसहितको पहिरो झरेर साँघुरा खोँचहरूमा नदी थुनिने जोखिम उच्च हुन्छ। बूढीगण्डकी नदीका धेरैजसो भागहरू साँघुरा र गहिरा खोँचहरू भएर बग्ने हुनाले पहिरो खस्दा सजिलै नदी थुनिएर ठूलो जलमग्न ताल बन्ने र पछि अचानक फुट्दा तल्लो तटीय क्षेत्रमा भयानक बाढी आउने खतरा सधैँ रहन्छ।
प्राकृतिक प्रकोपलाई रोक्न नसकिए पनि पूर्वसतर्कता र सचेतना अपनाएर धनजनको क्षतिलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ। गोरखाको बूढीगण्डकी नदीमा आएको यस बाढीले प्राकृतिक विपद्प्रति हामी कति संवेदनशील हुनुपर्छ भन्ने पाठ सिकएको छ।
समयमै नेपाली सेना र सुरक्षा निकायको सक्रियताका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको भए पनि आगामी दिनहरूमा यस्ता प्रकोपबाट बच्न दीर्घकालीन तटबन्ध निर्माण, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने र नदी किनारका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजनाहरू तीव्र पार्नुपर्ने देखिन्छ। नागरिकहरूको सचेतता र राज्यको तत्परता नै विपद् व्यवस्थापनको सबैभन्दा बलियो उपाय हो।
रामकुमार राइ/एकीकृत नेपाल
