disaster update
काठमाडौँ, भदौ २२ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् ।
प्राधिकरणका अनुसार हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ । प्राधिकरणका प्रवक्ता शान्ती महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीमा परी करिब चार हजार ९९६ जना अझै सम्पर्कविहीन छन् । रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब एक हजार ९६७ जना र नुवाकोटबाट करिब दुई हजार ३४० नेपाली सम्पर्कविहीन रहेको विवरण अद्यावधिक भएको छ । यस्तै, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
यसबीच बाढीमा फसेका १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । बाढी प्रभावित क्षेत्रमा छ हजार ६७२ जनाको उपचार गरिएकोमा विभिन्न अस्पतालमा उपचाररत ३२३ जनामध्ये २२८ जना उपचारपछि घर फर्किसक्नुभएको छ ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा अहिले तीन हजार ५३३ जना बाढी प्रभावित रहनुभएको छ । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना हुनुहुन्छ ।
उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाका नौ हजार २८७, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना छन् ।
