काठमाडौं, असोज ६ । काठमाडौंको त्रिपुरेश्वरमा बस चालकले आत्मदाह गरी ज्यान गुमाएको घटनाको सत्यतथ्य छानबिन गर्न यातायात व्यवसायी तथा श्रमिकका छ वटा संघ–महासंघले न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन् ।
मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले घटनालाई चालक र ट्राफिक प्रहरीबीचको सामान्य विवादका रूपमा मात्र नहेरी विवाद सुरु भएदेखि आत्मदाहसम्मको सम्पूर्ण घटनाक्रम छानबिन गर्न माग गरेका हुन् । सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको भनाइ, फोन सम्पर्क तथा संलग्न प्रहरी अधिकारीको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउन उनीहरूको माग छ ।
व्यवसायी तथा मजदुरका महासंघहरुका अनुसार असोज ५ गते बा.५ख ४२७४ नम्बरको बस त्रिपुरेश्वरमा पुगेका बेला चालक दावा लामाले हर्न बजाएपछि ट्राफिक प्रहरीले बस रोकेर कागजात मागेको थियो ।
त्यसपछि चालकलाई करिब दुई घण्टा नियन्त्रणमा राखी बग्गीखाना लैजान खोजिएको र उनले त्यसको विरोध गरेको उनीहरूको दाबी छ । सवारीधनीसँग फोन सम्पर्कका क्रममा चालकले आफूले गल्ती नगरेको र मानसिक दबाबमा परेको बताएको पनि विज्ञप्तिमा उल्लेख छ । त्यसको केही समयपछि उनले बसभित्रै आत्मदाह गरेको संगठनहरूको भनाइ छ ।
यद्यपि, प्रहरी स्रोतले विवाद हर्न बजाएको र ट्राफिक नियम उल्लंघनसम्बन्धी कारबाहीबाट सुरु भएको जनाएका छन् । प्रहरीले मृतकको पहिचान र घटनाको पृष्ठभूमिबारे समेत थप अनुसन्धान भइरहेको जनाएको छ ।
घटनाबारे उपत्यका प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । यातायात संगठनहरूले भने प्रहरी संयन्त्रभन्दा बाहिरका सरोकारवालासहित न्यायिक छानबिन आवश्यक रहेको बताएका छन् ।
उनीहरूले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति, जलेर क्षति भएको बसका धनीलाई क्षतिपूर्ति तथा यातायात श्रमिकको श्रम र सामाजिक सुरक्षा सुनिश्चित गर्नसमेत माग गरेका छन् । माग पूरा नभए शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी उनीहरूले दिएका छन् ।
