काठमाडौँ, भदौ २३। भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकको सम्झनामा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ। यही दिन राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ।
देश शोकमा छ। कैयौँ परिवारले आफ्ना आफन्त गुमाएका छन्। धेरै परिवार अझै आफ्ना मान्छेको खोजीमा छन्। बाढीले घर, सडक, पुल, सुरुङ र अन्य संरचना बगाएको छ। कतिपय मानिस अझै भग्नावशेषमा पुरिएका वा संरचनाभित्र थुनिएको आशंकामा खोजी भइरहेको छ। यस्तो बेला आजै विपद् क्षेत्रमा पुगेर फर्किएपछि राष्ट्रपतिको सम्बोधन आउने कुरामा स्वाभाविक चासो छ।
तर आज नागरिकले केवल सान्त्वनाका शब्द मात्र सुन्न चाहेका छैनन्। उनीहरू राज्यले आफ्नो जिम्मेवारीबारे के भन्छ भन्ने पनि सुन्न चाहन्छन्।
विपत्तिको पहिलो घडीमा उद्धारका लागि समय सबैभन्दा महत्वपूर्ण हुन्छ।
नेपालसँग सीमित प्राविधिक क्षमता भएका कारण यस्तो ठूलो विपत्तिमा छिमेकी तथा अन्य मित्रराष्ट्रबाट विशेषज्ञ उद्धार टोली, उपकरण र प्रविधि तत्काल ल्याउनुपर्ने अवस्था थियो।
अहिले चीन, भारत, दक्षिण कोरिया लगायतका देशका विशेषज्ञ टोली उद्धारमा संलग्न छन्। सुरुङ र भग्नावशेषबाट मानिसलाई जीवित उद्धार गरिएका घटनाले विपत्तिपछिका केही घण्टा र दिन कति महत्वपूर्ण हुन्छन् भन्ने देखाइसकेको छ।
त्यसैले आजको सम्बोधनसँगै एउटा गम्भीर प्रश्न उठ्नु स्वाभाविक छ।
यी अन्तर्राष्ट्रिय उद्धार टोली र अत्याधुनिक उपकरणहरू विपत्तिको सुरुवाती समयमा नै नेपाल ल्याउन र परिचालन गर्न सकिएको भएअझै धेरै मानिसको ज्यान जोगाउन सकिने रहेछ।
यसको निश्चित उत्तर अहिले कसैले दिन सक्दैन। तर भग्नावशेषमा थुनिएका मानिसका लागि राज्यको हरेक ढिलाइ जीवन र मृत्युबीचको दूरी बन्न सक्छ भन्ने कुरा हामीले भुल्नु हुँदैन।
राष्ट्रपतिको सम्बोधन मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना व्यक्त गर्ने अवसर अवश्य हो।
तर यो राज्यका संयन्त्रले विपत्तिमा कस्तो काम गरे, कहाँ चुके र आगामी दिनमा यस्ता संकटमा निर्णय तथा उद्धारलाई कसरी छिटो र प्रभावकारी बनाउने भन्नेबारे आत्मसमीक्षा गर्ने अवसर पनि बन्नुपर्छ।
आज राष्ट्रिय शोक दिवस हो। तर शोकमा डुबेको राष्ट्रले केही कठिन प्रश्न सोध्ने अधिकार पनि राख्छ। मृतकप्रति साँचो श्रद्धाञ्जली भनेको केवल उनीहरूलाई सम्झनु होइन, उनीहरूलाई बचाउन सकिने ठाउँमा राज्य कहाँ चुक्यो भन्ने इमानदार खोजी गर्नु पनि हो।
