संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदी नयाँदिल्ली, ७ मङ्सिरः भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हैदरावाद हाउसमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस
नयाँदिल्ली, ७ मङ्सिरः प्रधानमन्त्री वालेन्द्र साहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट नयाँ युगको आवश्यकताअनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताउनुभएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री साहले द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि आज हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकारसम्मेलनमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सम्भावनाका नयाँ ढोका खोल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भगवान् पशुपतिनाथ, माता जानकी र करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको स्नेह, प्रेम र सद्भाव लिएर आफू भारत भ्रमणमा आएको उल्लेख गर्दै मैत्रिपूर्ण निमन्त्रणा र न्यानो आतिथ्यका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्नुभयो । पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका मूल आधार रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अतुलनीय र अपरिमित यस सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको बताउनुभयो ।
नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको तथा यस्तो आत्मीय निकटतालाई शब्दमा सीमित गर्न नसकिने उहाँको भनाइ थियो । विश्वसनीय छिमेकीका रूपमा भारतले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा अग्रपङ्क्तिमा रहेर नेपाललाई सहयोग गर्दै आएको स्मरण गर्दै उहाँले त्यसका लागि भारत सरकार र भारतीय जनताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
रासस
