काठमाडौं, मंसिर २ ।
पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व सहमहामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
श्रेष्ठले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन तथा रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्।

उनले आफ्नो घोषणामा लेखेकी छन्, “मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित। आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।”
यद्यपि, श्रेष्ठले कुनै राजनीतिक दलबाट चुनाव लड्ने वा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने भन्ने विषयमा स्पष्ट पारेकी छैनन्।
श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्। उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन्। मन्त्री पदमा रहँदा उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्।
काठमाडौं महानगरको आगामी निर्वाचनमा श्रेष्ठको उम्मेदवारी घोषणासँगै महानगरको नेतृत्वका लागि राजनीतिक प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।
