लबालिका तेक्वान्दो खेलको अभ्यास गर्दै घोराही(दाङ), ११ मङ्सिरः दाङको घोराहीस्थित घोराही तेक्वान्दो डोजाङमा आबद्ध बालबालिका तेक्वान्दो खेलको अभ्यास गर्दै । तस्बिरः सुशीला ओली÷रासस
दशौँ राष्ट्रिय खेलकुदः फुटबलमा कोशी प्रदेश विजयी
कर्णाली, ११ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी भएको छ । कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको वीरेन्द्रनगरमा आज भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई ४–१ गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको हो । कोशीका लागि मिलन राईले खेलको १२औँ मिनेट र ३२औँ मिनेटमा दुई गोल गरेका थिए । यस्तै अमित सन सतारले खेलको १४औँ मिनेट तथा सौरभ लिम्बूले ६४औँ मिनेटमा गोल गरेका थिए । यस्तै लुम्बिनीका लागि एकमात्र गोल खेलको ५९औँ मिनेटमा फागुराम चौधरीले गरेका थिए । कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८औँ मिनेटमा रातोकार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा सीमित भएको थियो । पहिलो खेलमा बागमतीसँग बराबरी गरी एक अङ्क पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अङ्क प्राप्त गरेको छ । त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अङ्कविहीन भएको छ । आजै बागमती र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल हुँदैछ ।
दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनलमा
कर्णाली, ११ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगीताअन्तर्गत महिला क्रिकेटतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ । सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै आर्मी क्बल सेमिफाइनल प्रवेश गरेको हो । कर्णाली भने दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि कर्णाली कोशी प्रदेशसँग पराजित भएको थियो । सुर्खेत वीरेन्द्रनगरस्थित कालुञ्चोक क्रिकेट मैदानमा आज भएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १३८ रन बनायो । महिला राष्ट्रिय टोलीका सदस्य आर्मी क्लबका सम्झना खड्काले ५८ बल खेल्दै सर्वाधिक ६२ रन बनाउनुभयो । उहाँले १० चौका प्रहार गर्नुभयो । त्यस्तै, यशोदा विष्टले ३३ रन बनाउँदा कविता कुँवर ६ बलमा ११ रन बनाउँदै नटआउट रहनुभयो । आर्मीकी बिन्दु रावलले सात तथा रुवि पोदारले पाँच रन थप्नुभयो । आर्मीले २० रन अतिरिक्त पाएको थियो । कर्णालीका बलर गङ्गा खड्का, रमा बुढाथोकी र सोना चन्द र किरणकुमारी कुँवरले एक–एक विकेट दिनुभयो । खेलमा १३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो । अन्तिममा ब्याटिङ गर्न आएका कर्णालीका जयन्ती चन्दले १० रन बनाउनुबाहेक अरुले दोहोरो अङ्क छुन सकेनन् । कप्तान करुणा कुमारी कुँवर ८ रन बनाएर आउट हुँदा शिखा दवाडीले ६ रन बनाउनुभयो । यस्तै रेखा सोनीले पाँच, रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रन बनाउनुभएको थियो । कर्णालीलाई सहजै समेट्ने क्रममा आर्मीकी मनिषा उपाध्यायले चार विकेट लिनुभयो । चार ओभर बलिङ गर्नुभएकी मनिषाले जम्मा १० रन मात्रै दिनुभयो । यस्तै, यमुना थारुले चार ओभर बलिङ गर्दै एक मेर्डन राखेर तीन विकेट लिनुभयो भने कविता कुँवरले तीन ओभर बलिङ गर्दै दुई विकेट लिनुभयो । लक्ष्मी साउदका नाममा एक विकेट रह्यो । आर्मीका लागि सर्वाधिक ६२ रन बनाएकी सम्झना प्लेयर अफ द म्याच घोषित हुनुभयो ।
शिरिस्थानको ज्वालाबाट ‘दसौँ राष्ट्रिय खेलकुद’को ट्रफी टुर सुरु, दैलेखले राष्ट्रिय पहिचान पाउने विश्वास

दैलेख, ११ मङ्सिर: कर्णाली प्रदेशको राजधानीबाट सबैभन्दा नजिकको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको जिल्ला दैलेखको प्रसिद्ध शिरिस्थान मन्दिरको अखण्ड दीप (मूल ज्वाला)बाट आगो प्रज्ज्वलन गरी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘ट्रफी टुर’ अभियान सुरु गरिएको छ । सुर्खेतबाट आएको विशेष टोलीले शिरिस्थान मन्दिरस्थित मूल ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी आज अभियानको शुभारम्भ गरेको हो । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव रवीन चन्दले कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायालाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै ट्रफी टुरको औपचारिक उद्घाटन गर्नुभएको थियो । अभियानको सुरुआतसँगै दैलेख सदरमुकाम दैलेख बजारमा समेत भव्य परिक्रमा गरिएको छ । उद्घाटन समारोहमा सदस्यसचिव चन्दले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशकै गौरव, प्रतिष्ठा र पहिचान स्थापित गर्न ऐतिहासिक कोसेढुङ्गा सावित हुने बताउनुभयो । ट्रफी टुरमा सहभागी ओलम्पियन दीपक विष्ट, साग गेम्सका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराते खेलाडी मण्डेकाजी श्रेष्ठसहितको विशिष्ट खेलकुद टोलीलाई दैलेखको नारायण नगरपालिका र भैरवी गाउँपालिकाले भव्य स्वागत तथा सम्मान गरेको छ । टोलीलाई सम्मान गर्दै नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले शिरिस्थान मन्दिरको मूल ज्वाला बालेर राष्ट्रिय खेलकुदको अभियान सुरु गर्नुले दैलेखबाट देशभर नयाँ र सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दैलेखको ऐतिहासिक ज्वालालाई राष्ट्रियस्तरमा महत्व दिनु भनेको दैलेखलाई विश्वमाझ चिनाउनु हो । यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै भोलिका दिनमा दैलेखको खेलकुद र समग्र विकासका लागि केन्द्रसम्म सहज पहुँच पुग्ने परिस्थिति सृजना गराउनेछ ।” यो सन्देशले दैलेखको पहिचान र पहुँच छिट्टै राष्ट्रियस्तरमा स्थापित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । दैलेखबाट सुरु भएको उक्त टर्च यात्रा कालीकोट, जुम्ला, मुगु हुँदै कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालसम्म पुर्याउने उद्देश्य राखिएको छ । ट्रफी टुर समापनपछि आगामी मङ्सिर १५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ट्रफी अनावरण गर्ने कार्यक्रम तय गरिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते गरिने भए तापनि विभिन्न खेलका प्रतिस्पर्धाहरू भने मङ्सिर ८ गतेबाटै सुरु भइसकेका छन् ।
धरानमा पुस ३ गतेदेखि डिआइजी रनिङ कप
सुनसरी, ११ मङ्सिरः कोशी प्रदेश अन्तर विद्यालय आठौँ डिआइजी रनिङ कप फुटबल प्रतियोगिता आगामी पुस ३ गतेदेखि सञ्चालन हुँदैछ । नेपाल प्रहरी स्कुल धरानको आयोजनामा आगामी पुस ११ गतेसम्म हुने प्रतियोगिता नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेलमैदानमा सञ्चालन गरिनेछ । विद्यालयस्तरदेखि नै फुटबल खेलको प्रवर्द्धन तथा प्रतिभाशाली खेलाडीको पहिचान गर्ने उद्देश्यले ‘फेयर प्ले फर फ्रेन्डसिप’ भन्ने नाराका साथ प्रतियोगिता गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागिताका लागि पहाडी क्षेत्रका सामुदायिक तथा सरकारी विद्यालयलाई विशेष प्राथमिकतामा दिइने आयोजकले जनाएको छ । विद्यालय तहदेखि नै खेलकुदको प्रवर्द्धन गर्दै भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल प्रहरी स्कुल धरानका प्रहरी निरीक्षक अनिता महतले बताउनुभयो । प्रतियोगिताले बालबालिकामा लुकेर रहेका प्रतिभाको पहिचान गरी उनीहरूलाई राष्ट्रियस्तरमा अघि बढ्ने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि आजदेखि यही मङ्सिर २८ गतेसम्म दर्ता गर्न सकिनेछ । प्रतियोगिताको विजेता टिमलाई रु एक लाख पाँच हजार एक, रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले नगद रु ५० हजार पाँच, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रमका खेल संयोजक सागर कार्कीले बताउनुभयो । त्यस्तै, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा उत्कृष्ट प्रशिक्षकलाई पुरस्कार प्रदान गरिने जानकारी दिइयो ।
