पत्रकार सम्मेलन-नेपाल फुटबल लिगको मिति घोषणा काठमाडौँ, ३० असोज : नेपाल फुटबल लिग (एनएफएल) को मिति घोषणा गर्न शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सहभागी सातवटा क्लबका टोली धनीहरू । लिग फागुन १ गतेदेखि सुरु हुनेछ । तस्बिर : लोकेश धामी/रासस
काठमाडौँ, ३० असोजः नेपाली फुटबललाई व्यावसायिक बनाउने उद्देश्यसहित नेपाल फुटबल लिग (एनएफएल) आगामी फागुन महिनामा हुने भएको छ ।
विभिन्न सात टोली सहभागी यस प्रतियोगितामा होम एन्ड अवेका आधारमा संचालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एनएफएलका अध्यक्ष कल्याण गुरुङले जानकारी दिनुभयो ।
उहाँले नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने लक्ष्यसहित यस प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । नेपाली फुटबलको इतिहास लामो भए पनि सफलता हासिल गर्ने क्रममा विभिन्न चुनौती रहेको उल्लेख गर्दै ती चुनौतीलाई अवसरमा बदल्न एनएफएलको अवधारणा अघि सारिएको अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।
लिगलाई पूर्ण व्यावसायिक प्रतियोगिताका रूपमा विकास गर्ने आयोजकको लक्ष्य रहेको उहाँले बताउनुभयो । करिब चार महिना सञ्चालन हुने उक्त प्रतियोगितामा काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, झापा एफसी र धनगढी एफसी सहभागी हुनेछन् ।
लिग सञ्चालनका लागि आवश्यक रङ्गशालाको उपलब्धता र अन्य तयारीलाई ध्यानमा राखेर प्रतियोगिता अघि बढाइने जनाइएको छ । अधिकांश रङ्गशाला सरकारको स्वामित्वमा रहेकाले एनएफएल सञ्चालनका लागि सरकारसँगको स्वीकृतिको प्रक्रिया अघि बढाइसकेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
