डा. गणेश रेग्मी

पुस्तक लेखक स्वयं सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार, संवैधानिक इजलास विज्ञ, राष्ट्रिय समावेशी आयोगका प्रमुख आयुक्त र सदाबहार कानुन प्राध्यापक भएकाले होला, यस पुस्तकमा कानुनका विद्यार्थीका लागि विशेष “प्याकेज” छन् भन्न सकिन्छ। म्याग्नाकार्टाको अर्को पाटो, समानता, समता, समरसता, राज्य सञ्चालनमा त्रिमूर्ति दर्शन, न्यायिक दर्शन, न्यायको प्राचीन स्वरूप, नैतिकता र चरित्र, अधिपत्य सिद्धान्त, भीष्म र आधुनिक नेतृत्व, शक्ति सन्तुलन र न्यायपालिका: शिवतत्त्वको संवैधानिक भूमिका आदि विषयहरू यसका केही उदाहरण हुन्।
मानिसले कसरी र के बोल्ने भन्ने सन्दर्भमा पुस्तकको विशेष मत छ। कम बोल्नु विवेकको प्रतीक हो। सत्य बोल्नु नैतिकताको पहिचान हो। मधुर बोल्नु संस्कारको परिचय हो। अनि, मुस्कानसहित बोल्नु आत्मीयताको प्रतीक हो। यो खण्डले मानिसको बोली नै उसको बौद्धिक स्तरको मापक हो भन्दै यस खण्डमा नेपालीको बौद्धिक स्तरमा समेत चर्चा गरिएको छ।
डा. रामकृष्ण तिमल्सेनाद्वारा लिखित “प्रश्न पुराना र उत्तर नयाँ” पुस्तक हात लाग्यो। शीर्षक हेर्दा “आदिकवि भानुभक्त” द्वारा लिखित “आदि शङ्कराचार्य” को संस्कृत कृति “प्रश्नोत्तररत्नमालिका” मा आधारित “प्रस्नोत्तरमाला” जस्तो पुस्तक होला भन्ने लाग्यो। अनि आध्यात्मिक ज्ञान, नैतिकता, मानव जीवन, कर्तव्य, वैराग्य, सन्तोष र मोक्ष जस्ता विषयवस्तु केन्द्रित होलान् भन्ने अनुमान भयो।
शीर्षकसँगै “मानव चेतना र सभ्यताको यात्रा” भन्ने वाक्यांशसमेत जोडिएकोले मानव चेतना र सभ्यता विषयका प्रश्न र जवाफ रहेछन् भन्ने अनुमान भयो। तथापि, कस्ता प्रश्न होलान् र उत्तर कस्तो होलान् भन्ने कौतूहलता लिएर पुस्तक पल्ट्याउन थालेँ।
हलुका नीलो पृष्ठभूमिको आवरणमा रहेको अन्तरिक्ष, मानिसको दिमाग, शास्त्र र प्रश्नचिह्न अङ्कित निशान चिह्नमा रुमलिएको अवस्थामा पुस्तकको सुरु खण्डमा फेला पारेको शब्द “उपोद्घात” को अर्थको भेउ पाउन सकिनँ। अपरिचित यो शब्दको अर्थ खोज्न शब्दकोश हेरेँ, अर्थ रहेछ– प्रस्तावना, भूमिका, प्रारम्भिक परिचय वा विषय प्रवेश आदि। सुरुमै लाग्यो, यो पढ्नको लागि पनि एक तहको पूर्वज्ञान हुनैपर्छ।
विषयवस्तु हेरेँ। बुझेको जस्तो भान पर्ने तर शङ्कामाथि शङ्का लाग्ने “दर्शन” का विभिन्न पक्षहरूमा लेखिएको रहेछ। भनिन्छ, दर्शनको उद्देश्य विद्वान् बनाउनु होइन विवेकी बनाउनु हो। मेरो विवेकले भनेको छ, “पुराना प्रश्न नयाँ उत्तर” पुस्तकले नेपाली राजनीति र समाजबारे वैचारिक बहसलाई समृद्ध बनाउन खोजेको छ।
यो पुस्तक अनुसन्धानपरक ग्रन्थभन्दा चिन्तनपरक, विश्लेषणात्मक र मूल्यकेन्द्रित निबन्ध सङ्ग्रहका रूपमा रहेको पाएँ।
यो पुस्तक एक साहित्यिक कृति हो। पुस्तकमा समाज, राज्य र राजनीतिबारे गम्भीर चिन्तन गरिएको छ। लोकतन्त्रमा नागरिकको भूमिका, नैतिक नेतृत्वको आवश्यकता र मूल्यमा आधारित राजनीतिप्रति जोड दिइएको हुनाले यो राजनीतिक पुस्तक पनि हो। तथापि, पुस्तकले कुनै दल वा व्यक्ति वा वादको पक्ष वा विपक्षमा उभिनुभन्दा पनि मूल्य, विवेक र नैतिकतालाई केन्द्रमा राखेको छ।
पुस्तकमा मानव सोच, विचार र दर्शनका विविध पक्षहरूलाई समेटिएको र “सिद्धान्त मर्न सक्छ, तर मूल्य मर्नु हुँदैन; विचार झुटो हुन सक्छ, तर विवेक साँचो रहनुपर्छ” भन्ने जस्तो दृष्टिकोण पस्किएकाले यो पुस्तक एउटा दर्शनशास्त्र पनि हो।
पुस्तकले समसामयिक विश्व परिवेश, नेपाली राजनीति, लोकतन्त्र, न्याय, नैतिकता र सामाजिक रूपान्तरणका विषयमा केही विचार प्रस्तुत गरेको छ। परम्परागत राजनीतिक र सामाजिक प्रश्नहरूलाई नयाँ दृष्टिकोणबाट हेर्ने प्रयास गरेको छ।
पुस्तकको भाषा सरल र प्रभावकारी भए तापनि सबै सन्देश बुझ्न सहज नहुन सक्छ। कतिपय शब्द गह्रौँ लाग्न सक्छ। विचारप्रधान पुस्तकमा शैक्षिक अनुसन्धानभन्दा लेखकका व्यक्तिगत चिन्तन बढी प्रभावशाली देखिन्छन्। केही स्थानमा मूलतः चेतनाको विविध पक्षसम्बद्ध एउटै नैतिक सन्देश दोहोरिएको पनि अनुभूति हुन सक्छ।
तथापि, नेपाली साहित्यिक क्षेत्रमा यो कृति अमूल्य र अद्वितीय रहेकोमा विवाद छैन।
पुस्तक लेखन र संरचनाको हिसाबले हेर्दा, किताब दस खण्डमा बाँडिएको रहेछ।
पहिलो खण्ड दर्शनका आधारभूत पक्षको बारेमा छ। आफैँमा “जटिल (कम्प्लेक्स)” विषय दर्शनलाई “मानिसले म को हुँ? म यहाँ किन छु? संसार किन यस्तो?” जस्ता प्रश्न गरेसँग दर्शनको जन्म भयो भनेर सहज रूपमा व्याख्या गरिएको पाएँ।
पहिलो खण्डको “सिद्धान्तको शवयात्रा” भन्ने उपशीर्षकले कुनै एक सिद्धान्त सधैँभरि एकरूपमा नै लागू हुन नसक्ने भन्ने सन्देश दिन्छ। “पुँजीवाद र समाजवादको विकल्प” भन्ने उप-शीर्षकले नेपालमा यी दुवै सिद्धान्तभन्दा माथि “नयाँ समता केन्द्रित” वाद चाहिएको भन्ने निष्कर्ष दिएको छ। यद्यपि, यो पनि अन्तिम सत्य होइन भन्ने पनि यहीँ स्वीकारिएको छ।
दोस्रो खण्ड “वैदिक प्रजा” पुस्तकको विशेष अंश रहेको पङ्क्तिकारको अनुभव छ। जन्मजात हिन्दु पङ्क्तिकारका लागि वेदहरूको विकास, वेदहरूको रचना समय, त्यसभित्र समेटिएका विषयवस्तु निकै सरल रूपमा बुझ्न पाउँदा निकै मनमोहक अनुभूति भयो। ईपू १५ सयदेखि १२ सयसम्म रचना गरिएको सबैभन्दा पुरानो ऋग्वेदमा प्रकृति र जीवनरूपक देवीदेवताहरूको स्तुतिसँगै आगो, पानी, इन्द्र, वरुण, सोम, उषा आदिको चर्चा गरिएको रहेछ।
पुस्तक आफैँमा आशावादी छ। यस पुस्तकले केही विषयवस्तुहरू प्रश्नकै रूपमा पनि छोडेको छ। यस पुस्तकमा लेखकबाट स्पष्ट हुन नसकेका विविध पक्षहरूमा पछि थप अध्ययन अनुसन्धान र खोज हुने कुरामा आशा गरिएको छ। पश्चिमको दृष्टिमा पूर्व, पूर्वको दृष्टिमा पश्चिम, अनि दुवैले उठाएका प्रश्न, दुवैले दिएका उत्तर र दुवैले दिन नसकेका उत्तरहरू पछि उद्घाटित हुँदै जाने आशा गरिएका छन्। पुस्तकले सबै प्रश्नको अन्तिम उत्तर दिएको दाबी गर्दैन। बरु, पाठकलाई आफ्नै दृष्टिकोणबाट सोच्न, प्रश्न गर्न र उत्तर खोज्न प्रेरित गर्छ।
दोस्रो वेद, सामवेद, ईपू १२ सयदेखि १ हजारसम्ममा बनेको रहेछ। यो मूलतः ध्वनि, मन्त्रभित्र लुकेको शक्तिको बारेमा लेखिएको रहेछ। तेस्रो यजुर्वेद, १ हजारदेखि ८ सयसम्ममा रचना गरिएको र यसमा यज्ञ र कर्मकाण्डका कुराहरू रहेछन् भने चौथो अथर्ववेद ईपू ९ सयदेखि ७ सयसम्ममा रचना गरिएको रहेछ। यसमा स्वास्थ्य रोग औषधि शान्ति प्रार्थना र सुरक्षा जस्ता विषयहरू रहेछन्।
यी वेदहरूको अङ्गका रूपमा संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् रहेछन्। “संहिताले जगतसँगको प्रत्यक्ष सम्बन्ध र प्रकृतिको काव्यात्मक रहस्य खोल्ने रहेछ। ब्राह्मणहरूले विधि, कर्म र समाजको आधारभूत संरचना निर्माण गर्ने रहेछन्। आरण्यकहरूले कर्मलाई ध्यानमा रूपान्तरण गरी अन्तर्मुखी हुन सिकाउने र, उपनिषद्हरूले आत्म र ब्रह्मको एकता अनुभूतिद्वारा मानवीय चेतनालाई उच्चतम स्तरमा पुर्याउने रहेछन्।
यसैको “पुराणमा के छ” भन्ने उप-शीर्षकले जम्माजम्मी १८ पुराणहरूमध्ये ब्रह्मसम्बन्धी पुराण ६ वटा, विष्णुसम्बन्धी पुराण ६ वटा र शिवसम्बन्धी पुराण ६ वटा रहेको पनि जानकारी मिल्छ।
यसै खण्डको अर्को आकर्षण चाहिँ, हिन्दु धर्मका विभिन्न षोडशसंस्कारको चर्चा छ। पङ्क्तिकारले सुनेको तर नाम नजानेको यी संस्कारहरूको बारेमा भएको चर्चा निकै उपयोगी छन्। गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, कर्णभेद, विद्यारम्भ, चूडाकर्म, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह, वानप्रस्थ, सन्न्यास र अन्त्येष्टि रहेछन्। तर, षोडशसंस्कारमा यी १९ मध्ये कुन कुन चाहिँ एकआपसमा खप्टिएर १६ बनेका हुन् पङ्क्तिकार स्पष्ट हुन सकिनँ।
तेस्रो खण्ड “महाभारत” केन्द्रित छ। महाभारत एकै पटक नलेखिई करिब १ हजार वर्षसम्ममा सङ्कलन भएको रहेछ। “जय महाकाव्य” र “भारत महाकाव्य” बाट महाभारतको हालको स्वरूप बनेको रहेछ। महाभारत लेखिँदा बौद्ध, जैन र पौराणिक दर्शनका भागहरू पनि मिलाएको रहेछ।
यसै खण्डमा महाभारतनिःसृत “गीता” को बारेमा पनि धेरै नयाँ कुरा जानकारी भयो। धर्म, कर्तव्य र जीवनका विभिन्न पक्षबारे व्याख्या गर्ने गीता एउटा मात्र नभई थरी थरीका रहेछन्। १५ वटा गीताको बारेमा पुस्तकमा व्याख्या गरिएको छ। भगवद्गीता, अनुगीता, देवीगीता, ऋभुगीता, अष्टावक्रगीता, कपिलगीता, भीष्मगीता, सुदर्शनगीता, विष्णुगीता, अवधूतगीता, भिक्षुगीता, ब्राह्मणगीता, वृत्रगीता, शिवगीता, गुरुगीता सम्पर्कगीता आदि।

“श्रीकृष्ण चेतना र विज्ञान” उपशीर्षक अन्तर्गत कृष्णलाई दर्शन र चेतनाका प्रतिरूप हुन् भन्ने रमाइलो र नयाँ ज्ञानपूर्ण व्याख्या छ। “विष्णु भगवान” का अवतार मानिने कृष्ण कथाका अवस्था र पात्रहरू सबै प्रतीकात्मक रहेको र ती सबै मानव मन अहंकार र मुक्तिसँग सम्बन्ध रहेछन् भन्ने लेखकको राय निकै तार्किक फेला पर्छ।
कंश अहङ्कार र अन्धकारको प्रतीक, श्रीकृष्णको जन्म जेलमा हुनु शरीर र इन्द्रियहरूमा चेतनाको अवतरणको प्रतीक, श्रीकृष्णका पिता वासुदेव बुद्धि र बौद्धिकताका प्रतीक, आमा देवकी इच्छाशक्तिकी दिव्य नारीकी प्रतीक, श्रीकृष्णका गोपिनीहरू इन्द्रिय र मनका वृत्तिका प्रतीक, पाण्डव पञ्च ज्ञानेन्द्रियका प्रतीक, कौरव सयौँ अवगुणका प्रतीक, कंश अहङ्कारको प्रतीक, वा, पाण्डव र कौरव इन्द्रिय र विकारहरूका प्रतीक, महाभारतका पात्र नैतिक र मनोवैज्ञानिक पक्षका प्रतीक लगायत श्रीकृष्णसँग जोडिएका तृणावर्ग बकासुर अधासुर जस्ता अन्य पात्रहरू नकारात्मक संस्कारका प्रतीक र अन्ततः कृष्ण कथाका सबै पात्र हाम्रै शरीरभित्र छन्। हामी आफैँले खराब वृत्तिलाई असल वृत्तिले जित्नुपर्छ भन्ने पनि कृष्ण दर्शन हो भन्ने व्याख्या निकै रोचक रहेको फेला पर्यो। पङ्क्तिकारका लागि साह्रै चित्तबुझ्दो अंश यो रह्यो।
चौथो खण्ड “चेतना, मन र मनोविज्ञान” सँग सम्बन्धित छ। यसमा चेतन, अवचेतन र अचेतन (कन्सस, सबकन्सस र अनकन्सस माइन्ड) को बारेमा चर्चा छ। यसैमा प्राण, नाडी र चक्रको सविस्तार व्याख्या छ। मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा अनि सहस्रार र यिनीहरूसँग सम्बन्धित क्षेत्रको चर्चा छ। यसै शीर्षकमा “सचेत उपस्थिति/सजगता” (माइन्डफुलनेस) बुद्धभन्दा अगाडि नै उपनिषद्हरूमा चर्चा भइसकेको कुराको जानकारी मिल्छ।
पाँचौँ खण्ड मानस स्वभावको बारेमा छ। यसमा मानिसका आचरण, विचार र व्यवहारजन्य समस्याको बारेमा चित्रण गर्दै मानिसलाई असल हुन र विचार शुद्ध राख्न सिकाइएको छ। यस खण्डले असल मानिस हुन ईर्ष्या, विकार, झुट र दुष्टतामुक्त हुनुपर्छ भन्ने व्यावहारिक ज्ञान दिएको छ। हामीभित्रै रहेका खराब स्वभावहरू चिन्न र त्यसलाई समाधान गर्न यो खण्ड उपयोगी छ।
छैटौँ खण्ड धर्म, कर्म र आत्मजागरणका बारेमा लेखिएको छ। मानवीय वाणी, विवेक, संस्कार, विश्वास, चरित्र, पात्रताबारे चर्चा गर्दै अन्यायबाट सिकिने पाठ समेतका नवीन चिन्तन यसमा संलग्न छन्। यी सबै कुराको मूल मर्म हरेक व्यक्तिले आफ्ना कमजोरीहरू आफैँ सुधार्नु पर्छ भन्ने हो।
मानिसले कसरी र के बोल्ने भन्ने सन्दर्भमा पुस्तकको विशेष मत छ। कम बोल्नु विवेकको प्रतीक हो। सत्य बोल्नु नैतिकताको पहिचान हो। मधुर बोल्नु संस्कारको परिचय हो। अनि, मुस्कानसहित बोल्नु आत्मीयताको प्रतीक हो। यो खण्डले मानिसको बोली नै उसको बौद्धिक स्तरको मापक हो भन्दै यस खण्डमा नेपालीको बौद्धिक स्तरमा समेत चर्चा गरिएको छ।
यस खण्डमा मार्क्सवादको चर्चा पनि छ। यो विषयको केही पुनरावृत्ति भएको जस्तो भेटिन्छ। यसैगरी, पुस्तकको चौथो, पाँचौँ, छैटौँ र सातौँ खण्डमा चेतनाको सन्दर्भको केही भाग एकआपसमा खप्टिएको वा जोडिएको जस्तो पनि देखिन्छ।
आठौँ खण्ड “विश्व, चेतना र विमर्श” मा केन्द्रित छ। नेपालको कानुन क्षेत्रमा संलग्न एउटा नेपाली लेखकले विश्वप्रसिद्ध विद्वान्हरूको विश्वविख्यात पुस्तकमा प्रतिपादित सिद्धान्तलाई पूर्वीय दर्शनको कसीमा जाँचेर उनीहरूका कुन पक्ष राम्रा र कुन कुन पक्ष सन्देहात्मक (नराम्रा) छन् भन्नेतर्फ “क्रिटिकल एनालिसिस” गर्नु समग्र नेपालीले गौरव गर्ने विषय हो।
“डेटा र अल्गोरिदमको सम्पत्तिले भोलिको मानिस देवतासमान शक्तिसम्पन्न हुन्छ” भन्ने युभाल नोह हरारीले मानव चेतनाको सबै अंशको महसुस र व्याख्या गर्न नसकेको, केवल भौतिक सुखलाई मात्र केन्द्रमा राखेको, अधिकारमा केन्द्रित भई कर्तव्यलाई बिर्सेको भन्दै लेखकले प्रविधिको चमत्कारले मानवीय चेतनाको मूल मर्मलाई प्रतिस्थापन गर्न नसक्ने ठोकुवा गर्नु सानो कुरा अवश्य होइन।
यसैगरी, नोम चोम्स्कीको भाषा, दर्शन र राजनीतिसम्बन्धी सिद्धान्त पूर्वीय दर्शनका कुन पक्षसँग मिल्ने र कुनसँग नमिल्ने देखाउनु, फ्रेडरिक नित्सेको शिक्षा, नैतिकता, धर्म सम्बन्धी विचारलाई कडा विचार (हार्डलाइन थट) र आक्रामक भएको घोषणा गर्नु अनि सामुअल फिलिप्स हन्टिङटनले भनेका “अब ठूला सङ्घर्षहरू सभ्यताको बिचमा हुने छ” भन्ने सिद्धान्तलाई आंशिकरूपमा मात्र सान्दर्भिक छ भनेर सभ्यताहरूबाट आन्तरिक सामञ्जस्यता, सहमति पनि खोजिन्छ भन्नु सानो कुरा कदापि होइनन्।
बरु, लेखकबाट प्रेषित यी तर्कहरूको चर्चा र मूल्याङ्कन नेपाल बाहिर पनि हुन जरुरी छ र त्यो कसरी हुन सक्ला भन्नेतर्फ सोच्न जरुरी देखिन्छ।
पुस्तकको “खण्ड ९” मा युद्ध र प्रेमका आधारभूत नियम, धन, धन आर्जन तरिका, जीवन, जीवनका रहस्य, मानव मन, कर्म, विवेक, आत्मज्ञान, बोध, प्रेम, प्रेमका आयाम, मौनता, मौनताको शक्ति, प्रज्ञा लगायत विषयवस्तुहरूमा चर्चा गरिएको छ।
पुस्तकको अन्तिम, दशौँ खण्ड “ईश्वरको प्रश्न” मा केन्द्रित छ। यसमा आस्तिकता, नास्तिकता, नैतिकता, अज्ञेयवाद (प्रश्नको स्थगन), नास्तिक आन्दोलन र आस्तिकताको पुनर्जागरण, ईश्वर र अन्तिम सत्य, मानव जीवन, मृत्यु, अन्धविश्वास र धर्म, त्रिमूर्ति दर्शन आदि बारेमा प्रकाश पारिएको छ।
यस पुस्तकलाई छोटकरीमा “आदर्श जीवन जिउन सिकाउने पुस्तक” को रूपमा पनि बुझ्न सकिन्छ।
पुस्तक बहुआयामिक छ। यसले विवेक केन्द्रित पूर्वीय जीवन पद्धति र अधिकारकेन्द्रित पाश्चात्य स्वतन्त्रता निकटको पद्धतिको तुलनात्मक विश्लेषण अध्ययन र व्याख्या गरेको छ।
यो पुस्तकले परम्परागत सोचाइलाई प्रहार गरेको छ। यस्ता कुराहरू, युद्ध र प्रेममा सबै कुरा जायज हुँदैनन्, अन्यायबाट सिकिने पाठ, म्याग्नाकार्टाको अर्को पाटो, मृत्युकै मृत्यु भन्ने जस्ता उपशीर्षकमा पर्याप्त छन्।
यस पुस्तकबाट धेरै नयाँ कुरा सिकेको पङ्क्तिकारको अनुभव रह्यो। जस्तो, चार्वाक दर्शन गुरु बृहस्पति हुन् तर उनले सो कुरा गुरु अम्बलबाट सिकेका रहेछन्। पछिल्लो समयमा भयो भनिएका विभिन्न आधुनिक वैज्ञानिक अनुसन्धान सिर्जना हाम्रै शास्त्रका विभिन्न महापुरुषहरूले यसपूर्व नै जरो गाडिसकेका रहेछन्। शिक्षाप्रदाता गुरुहरू, ज्ञानदाताको तह, मौनताको शक्ति, जीवनका रहस्य, उपनिषद् र राज्य दर्शन, ओमकार र आधुनिक विज्ञान, गायत्री मन्त्र र अन्तरिक्ष चेतना, ज्योतिषीय दृष्टिमा राज्य सञ्चालन र वर्गीकरण लगायत पश्चिम र पूर्वका समानता तथा विभेद लगायत अन्य धर्म सम्प्रदायसँगको समानता आदि।
पुस्तकले उच्च मानव हुन र मानव जीवन सार्थक बनाउन विभिन्न किसिमका राय सुझावहरू दिएको छ। “अप्प दीपो भवः” भन्ने बुद्ध दर्शनले जस्तै पुस्तकले पाठकलाई आफैँले आफूलाई थप परिष्कृत बनाई अझ माथि लैजानुपर्ने कुरामा पर्याप्त ज्ञान दिन्छ।
पुस्तक लेखक स्वयं सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार, संवैधानिक इजलास विज्ञ, राष्ट्रिय समावेशी आयोगका प्रमुख आयुक्त र सदाबहार कानुन प्राध्यापक भएकाले होला, यस पुस्तकमा कानुनका विद्यार्थीका लागि विशेष “प्याकेज” छन् भन्न सकिन्छ। म्याग्नाकार्टाको अर्को पाटो, समानता, समता, समरसता, राज्य सञ्चालनमा त्रिमूर्ति दर्शन, न्यायिक दर्शन, न्यायको प्राचीन स्वरूप, नैतिकता र चरित्र, अधिपत्य सिद्धान्त, भीष्म र आधुनिक नेतृत्व, शक्ति सन्तुलन र न्यायपालिका: शिवतत्त्वको संवैधानिक भूमिका आदि विषयहरू यसका केही उदाहरण हुन्।
पुस्तक आफैँमा आशावादी छ। यस पुस्तकले केही विषयवस्तुहरू प्रश्नकै रूपमा पनि छोडेको छ। यस पुस्तकमा लेखकबाट स्पष्ट हुन नसकेका विविध पक्षहरूमा पछि थप अध्ययन अनुसन्धान र खोज हुने कुरामा आशा गरिएको छ। पश्चिमको दृष्टिमा पूर्व, पूर्वको दृष्टिमा पश्चिम, अनि दुवैले उठाएका प्रश्न, दुवैले दिएका उत्तर र दुवैले दिन नसकेका उत्तरहरू पछि उद्घाटित हुँदै जाने आशा गरिएका छन्। पुस्तकले सबै प्रश्नको अन्तिम उत्तर दिएको दाबी गर्दैन। बरु, पाठकलाई आफ्नै दृष्टिकोणबाट सोच्न, प्रश्न गर्न र उत्तर खोज्न प्रेरित गर्छ।
पुस्तकले केही “मानक” निर्धारण गरेको छ, जसको कसीमा जाँचिएर मानव जीवनको गुणस्तर मापन हुन सक्छ। पुस्तकमा प्रेषित मानव जीवनका आधारभूत राय कति प्रयोग र लागू गर्न सकिन्छ, त्यसबाट नै सम्बन्धित मानिसको मूल्याङ्कन हुन सक्छ।
यो पुस्तक विशेष गरी दर्शन, कानुन, राजनीति, सार्वजनिक प्रशासन, समाजशास्त्र तथा सुशासनका विद्यार्थी, अध्यापक, अनुसन्धानकर्ता र नीति निर्माताका लागि उपयोगी अध्ययन सामग्री बन्न सक्छ।
लेखकको कलम कहिल्यै नथाकोस् भन्ने प्रार्थना गर्दै र त्यसको रसपानको अझै आशाका साथ व्यक्तिगत अध्ययनको अतुल्य ज्ञानलाई सर्वसाधारणसमक्ष पुर्याउने पुनीत कार्य गर्ने लेखकलाई हार्दिक साधुवाद।
समीक्षक डा. रेग्मी पूर्व प्रहरी उपरीक्षक एवं अधिवक्ता हुनुहुन्छ । उहाँ कानून प्राध्यापनमा पनि संलग्न हुनुहुन्छ ।
