बागमती, २ मङ्सिरः काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्मित सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त सुरुङको ब्रेक थ्रु गर्नुभएको हो । त्यस कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि समेत महत्त्वपूर्ण रहेको बताउनुभयो ।
द्रुतमार्ग निर्माणमा नेपाली सेनाले देखाएको तदारुकताको उहाँले प्रशंसासमेत गर्नुभयो । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजनाको काम निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभयो ।
नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको उक्त आयोजनाको भौतिक प्रगति हाल सम्म ५०.५४ प्रतिशत भएको कार्यक्रममा जानकारी दिइयो ।
रासस
