काठमाडौं, असोज ७ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले हालै रसुवालगायत क्षेत्रमा गएको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षति र व्यवसायीलाई राहत उपलब्ध गराउने विषयमा भन्सार विभागसँग छलफल गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार भन्सार विभागका महानिर्देशक यमलाल भुसालसँग भेट गरी बाढीबाट चीनबाट आयात गरिएका ठूलो संख्यामा सवारी साधन बगेको विषयमा जानकारी गराएको हो।
नाडाले पीडित आयातकर्तालाई सरकारले उपलब्ध गराउने राहत तथा सहुलियतको व्यवस्था तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ।
नाडाका महासचिव मिलनबाबु मल्लले चीनतर्फको सीमा भन्सार नखुलेका कारण पाँच सयभन्दा बढी सवारी साधन सीमाक्षेत्रमै रोकिएको जानकारी दिँदै नाका सञ्चालनका लागि सहजीकरण गर्न आग्रह गरे। ११ सिटे विद्युतीय माइक्रोबसको आयातसम्बन्धी समस्या समाधानका लागि पनि नाडाले पहल गर्न आग्रह गरेको छ।
महानिर्देशक भुसालले बाढीपीडित व्यवसायीलाई सरकारले दिने सुविधा र सहुलियतको मोडालिटीबारे अर्थ, भौतिक पूर्वाधार तथा गृह मन्त्रालयबीच गृहकार्य भइरहेको जानकारी दिनुभयो।
