डा. प्रेम सिंह बस्न्यात

महेश्वर पन्तको भनाइलाई विश्वास गरेर हमलाको लागि हतारिएका २० बर्षे राजा पृथ्वीनारायण शाहले नुवाकोटमा लडाइँ गरी हाले । तर उक्त लडाइँ हारेपछि वीराज थापालाई सेनापतिबाट हटाएकोमा पश्चाताप् गरेका थिए । महेश्वर पन्तको नेतृत्वमा नुवाकोटको युद्ध हारेपछि पृथ्वीनारायणले फेरी पनि विराज बखती (थापा मगर) लाई काजी दिने निर्णय गरे ।
गोर्खा राज्यको वि.सं. १६१६ देखिको आंशिक इतिहास भेटिन्छ । त्यसमा बाइसे–चौवीसे राज्यलाई भरपर्दो रुपले इतिहासमा समेटिएको छैन । त्यही क्रममा यस लेखकले पनि यस आलेखमा वि.सं.१६१६ देखि पृथ्वीनारायण शाहको पालाभन्दा अघिको समयसम्म गोर्खाराज्य अन्तर्गत नेपाली सेनामा काम गरेका माथिल्ला तहका ज्ञात मगर व्यक्तिहरुको बारेमा मात्र २/४ शब्द प्रष्ट्याउने जमर्को गरेको छ ।
यस लेखमा लेखकको नजरमा नेपाली सेनाको इतिहासबाट थाहा हुन आएका कमान्डर तहका ज्ञात मगर व्यक्तिहरुको बारेमा मात्र समेट्ने छ भने यसमा लेखिएका सम्पूर्ण विवरणप्रति लेखक व्यक्तिगत रुपमा जिम्मेवार रहनेछन् ।
काजी गंगाराम रानामगर
लम्जुङको राजकुमार द्रव्य शाह वि.सं. १६१६, भाद्र वदी, अष्टमी तिथी, रोहीणी नक्षेत्र, बुधवारको दिन लिगलिगकोटको राजा भए । सोही मितिबाट राजा द्रव्य शाहले नारायण अज्र्याललाई राजगुरू, सर्वेश्वर खनाललाई राज पुरोहीत, गणेश पाण्डेलाई प्रशासन हेर्ने मन्त्री, भगीरथ पन्तलाई सेनापति, केशव बोहोरालाई भूमी विभागको प्रमुख तथा गंगाराम रानामगरलाई प्रधानन्यायाधिस (न्याय विभाग प्रमुख) नियुक्त गरेका थिए ।१
प्रशासन हेर्ने १, सेना हेर्ने १, भुमी सम्बन्धि हेर्ने १, तथा न्याय हेर्ने १ गरी जम्मा ४ जना काजी (मन्त्रि) को ब्यवस्था भएको थियो । यो प्रथा पछिसम्म पनि रह्यो । त्यहीँ मितिबाट सैनिक सँगठन खडा भएकोले तिनै सेनाको विकासक्रम अहिलेको नेपाली सेना हो । यसर्थ नेपाली सेना वि.सं. १६१६ मा खडा भएको हो भने नेपाली सेनाको पहिलो सेनापति भगीरथ पन्त हुन ।
उतिखेर सेनापतिलाई प्रधानसेनापतिको जिम्मेवारी दिइन्थ्यो । त्यसबेला लिगलिगकोट, उपल्लोकोट र तल्लोकोट गरी ३ वटा साना भुरे राज्य थिए। ती सबैलाई राजा द्रव्य शाहले एकीकरण गरेर एउटै राज्य बनाई, गोर्खा नामाकरण गरेर गोर्खा राज्य स्थापना गरिएको थियो । त्यस बेलाको सैनिक बिकासमा गंगारामको पनि देन भएकोले नेपाली सेनाले उनलाई बिर्सन नहुने ठान्दछु ।
काजी लखन थापा (प्रथम)
यी गोर्खाका राजा रामशाहको पालको जल्दो बल्दो काजी थिए । उनको भूमिका राजा रानीको अंगरंक्षक भएको पनि बुझिन्छ भने उनको सैनिक भूमिका पनि त्यत्तिकै महत्वपूर्ण थियो । पछि उनी धर्मभीरु महात्मा बनेका र उनकै सपना अनुसार हाल गोर्खा मनकामना देवी उत्पत्ति भएको थलो फेला परेको भन्ने पनि देखिन्छ । उनको बारेमा बिस्तृत सोध हुनु जरुरी छ ।
काजी जयन्त राना
यी गोर्खाका राजा नरभुपाल शाहको प्रधान सेनापति (काजी) थिए । नरभुपाल शाहको पालामा कान्तिपुर राज्यको नुवाकोट माथि गरिएको पहिलो हमलाको नाइके यिनै थिए । उक्त युद्ध असफल भएपछि दरबारिया अन्य भारदारहरको विभिन्न लान्छनाबाट उनलाई काजीबाट हटाइयो र त्यसपछि उनले कान्तिपुरका राजा जयप्रकाश मल्लको फौजमा काम गर्न थाले ।२ पछि उनी नुवाकोट किल्लाकै प्रमुख भई बसेका थिए ।
शंखमणि राना
यी जयन्त रानाका छोरा थिए भने कान्तिपुर फौजमा उनी आफ्नै पिताको मातहतमा जागीरे थिए।३ जयन्त राना काम विशेषले कान्तिपुर गएका बेला शंखमणि नुवाकोट किल्लाको प्रमुख भई बसेका बेलामा पृथ्वीनारायण शाहले नुवाकोट माथी हमला गरी बिजय प्राप्त गरे भने शंखमणि यसै युद्धमा वि.सं. १८०१ मा मारिए । नेपाली सेनासंग प्रत्यक्ष सरोकार नराखे पनि एक सैनिक नेताको हिसावले उनलाई यहां सम्झिएको हो ।
काजी वीराज थापा मगर (वि.सं. १८००-१८०१)
राजा रामशाहको पालादेखि नै मनकामनाका थापा मगरहरूले गोर्खा दरवारको मन जितेका थिए । ती मगर सन्तानको क्रमिकतापछि सम्म भई पृथ्वीनारायण शाहको पालासम्म थियो। काजी वीराज थापा मगरहरु गोर्खाका राज परिवारका “ददा” भएका धेरै दृष्टान्त भेटिन्छ । जुन पक्ष पारिवारिक वा एकै परिवारको जस्तै सम्बन्ध हो । तिनीहरूकै सन्तान वीराज थापा मगर पृथ्वीनारायण शाहले पहिलो पटक नुवाकोटमाथि हमला गर्दाका सेनापति थिए ।
वीराज थापा लाह्यु वा लाहे मगर थिए । उनी गोर्खाको भाङरा भञ्ज्याङ, बुंङकोट इलाकामा जन्मेको बुझिन्छ।४ गोर्खा मनकामनाबाट उनको बुबापछि बुंङकोट बसाई सरेका थिए । राजा नरभुपाल शाहको पालामा नुवाकोटमाथि भएको हमलामा गोर्खा दरवारका सेना नायकहरू पन्त र मगर (महेश्वर पन्त र जयन्त राना मगर) बीच एकता कायम हुन नसक्दा गोर्खाली सेनाको हार र क्षति भएको थियो भने जयन्त रानालाई पदच्युत गरी कारवाही गर्न खोजेकोले जयन्त राना भागी कान्तिपुरका राजा जयप्रकाश मल्लको फौजमा भर्ना हुन पुगे । जसबाट गोर्खाली फौजका मगर जातिहरूप्रति असन्तोष फैलियो । यो कुरा राम्रोसँग बुझेका पृथ्वीनारायण शाहले मगरहरू प्रति सदभाव राखेका थिए र मगरहरू पनि सोझा र गोर्खा दरबारप्रति साह्रै निष्ठ थिए ।
पृथ्वीनारायण शाहले वीराज थापा मगरलाई सेनापति बनाई तुरून्तै नुवाकोट माथि हमला गर्न आदेश दिए।५ नेपालको इतिहासमा कालु पांडे लाई पहिलो प्रधानसेनापति र काजी बनाएको छ , पृथ्वी नारायण शाहको राज्यकालमा । तो कसरी भयो ? पृथ्वीनारायण शाहले नुवाकोटमा पहिलो पटक आक्रमण गर्नको लागि विराज थापालाई सेनापति बनाएको होइन भन्ने तथ्य देखाउनु जरुरी छ । लडाइँको पूर्ण तयारी नभएकोले विराज थापा तयारी गर्नतर्फ लागे भने तुरून्तै हमलामा जान सकेनन् । यही मौकाको फाइदा उठाई महेश्वर पन्तले राजालाई भेटी वीराज थापा मगर लडाइँमा जान डरायो, मलाई सेनापति बक्सेमा तुरून्त हमलामा जान्छु भनेकोले पृथ्वीनारायण शाहले पत्याई वीराज थापालाई सेनापतिबाट हटाई महेश्वर पन्तलाई सेनापति बनाए। महेश्वर पन्तको भनाइलाई विश्वास गरेर हमलाको लागि हतारिएका २० बर्षे राजा पृथ्वीनारायण शाहले लडाइँ गरी हाले । तर उक्त लडाइँ हारेपछि वीराज थापालाई सेनापतिबाट हटाएकोमा पश्चाताप् गरेका थिए ।
महेश्वर पन्तको नेतृत्वमा नुवाकोटको युद्ध हारेपछि पृथ्वीनारायणले फेरी पनि विराज बखती (थापा मगर) लाई काजी दिने निर्णय गरे । तर उनले भारदार र जनताको सल्लाह माग्दा कालु पांडेलाई काजी दिंदा राम्रो हुन्छ भन्ने सुझाव आएकोले सोही अनुसार उनको सट्टा कालु पांडेलाई काजी बनाइएको थियो । दिव्य उपदेशबाट पनि यो प्रसंग बुझ्न सकिन्छ। तिनै विराज थापाका सन्तानहरू हाल मनकामना देवीको पुजारी भएर काम गरिरहेको बुझिन्छ । ति मध्यका सहायक रथी लोक बहादुर थापा मगर पनि एक हुन् ।
सन्दर्भसूची
१ गौतम बज्राचार्य र देवीप्रसाद भण्डारी (सं.), श्री ५ बडामहाराजधिराज ।
२ बाबुराम आचार्य तथा योगी नरहरी नाथ (सं.) बडामहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेश (काठमाडौंः श्री कृष्ण आचार्य, बि.सं. २०६१) पृ. ७ ।
३ तुलसीराम बैद्य तथा अन्य, नेपालको सैनिक इतिहास भाग–२, (काठमाडौंः नेपाली जंगी अड्डा, बि.सं.२०६५), पृ.२३८ ।
४ दण्डपाणी अज्र्याल, ‘‘गोर्खाको ऐतिहासिकता’’, ज्ञानबिन्दू, बर्ष १, अंक १, (२०६२), पृ. ७–१२ ।
५ प्रेम सिंह बस्न्यात, शाही नेपाली सेना र प्रधानसेनापतिहरु, (काठमाडौंः लक्ष्मी बस्न्यात तथा सर्वोच्चमानसिंह बस्न्यात, २०५३), पृ. ३२ ।
सैन्य इतिहासविद् डा. बस्न्यात नेपाली सेनाका अवकाश प्राप्त ब्रिगेडियर जनरल हुनुहुन्छ ।
