रतन भण्डारी

भीमशमशेर, दीलकुमारी तामाङ र पाँडे पजनी!
प्रधानमन्त्री भीमशमशेरले आफ्नो दरबारमा काम गर्ने सुसारे दिलकुमारी तामाङसँग विवाह गरे। नाम परिवर्तनसहित ‘सीता महारानी’ (बडामहारानी) बनाए।
दीलकुमारीका तीन दाजुभाइ, राजमान तामाङ, हडमान तामाङ र थानसिंह तामाङलाई जनै लगाइदिएर तामाङबाट ‘पाँडे’ थर दिए।
उनीहरूलाई पाँडे बनाइसकेपछि भीमशमशेरले पजनीको समयमा राज्यका महत्त्वपूर्ण सरकारी पदहरूमा नियुक्त गरे।
यसरी आफ्नी रानीका माइतीहरूलाई जबरजस्ती पाँडे थर दिई नियमविपरीत उच्च पद बाँडेकोले सो घटनालाई ‘पाँडे पजनी’ भन्न थालियो।
अहिले पनि व्यङ्ग्यस्वरूप नीतिनियम मिचेर आफ्ना नातेदार र चाकडीबाजहरूलाई भर्ती गर्नुलाई ‘पाँडे पजनी’ भनिने कारण त्यही हो।
दीलकुमारीको माइती सम्बन्धमा कतिपय इतिहासकारहरुले उनको माइती भोजपुरको सिम्पाने भन्नेका गरेका छन्, तर उनको माइती त्यति वेलाको पूर्व ४ नम्बर दिप्रुङ थुमको दिहु हो ।
त्यति वेला भोजपुरमा पर्ने दिहु पछिल्लोपटक खोटाङमा पारिएको छ । त्यसैले अहिलेको हिसाबले दीलकुमारीको माइती दिप्रुङ, खोटाङ जिल्लाको चुइचुम्मा गाउँपालिकामा पर्दछ ।
सीता बडामहारानीबाट भीमशमशेरकी एकजना छोरी सोमगर्भदिव्येश्वरी थिइन्। सोमगर्भको विवाह भारतको उत्तर प्रदेशको धामपुरको राजपरिवारमा भएको थियो।
भीमशमशेरका अन्य रानीहरूबाटका छोराहरू पद्मशमशेर (पछि प्रधानमन्त्री), हिरण्यशमशेर (ने.काँग्रेस नेता शुवर्णशमशेरका पिता), प्रकाशशमशेर, रामशमशेर, रघुराजशमशेर र यज्ञशमशेर थिए।
लेखक इतिहास, नेपालको सीमाना र जलस्रोत विषयका विज्ञ हुनुहुन्छ ।
