काठमाडौँ, २३ असोज। दसैँमा खाना पकाउने ग्यासको अभाव र सिलिन्डरको ब्रान्ड नमिल्ने समस्या कम गर्न काठमाडौँ उपत्यकामा जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सकिने व्यवस्था गरिने भएको छ।
प्रस्तावित व्यवस्थाअनुसार उपभोक्ताले ब्रान्ड परिवर्तन गर्दा अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीचको छलफलपछि चाडपर्व लक्षित यस्तो व्यवस्था अघि बढाइएको हो।
बजारमा ग्यास उपलब्ध भए पनि आफूले प्रयोग गर्ने कम्पनीको सिलिन्डर नपाउँदा उपभोक्ताले भोग्नुपरेको समस्या समाधान गर्नु यसको मुख्य उद्देश्य हो।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार उपत्यकाका विभिन्न स्थानमा साझा बिक्री केन्द्र स्थापना गरी फरक–फरक कम्पनीका ग्यास सिलिन्डर उपलब्ध गराउने योजना छ। त्यस्ता केन्द्रमा उपभोक्ताले आफ्नो खाली सिलिन्डर बुझाएर उपलब्ध ब्रान्डमध्ये अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्।
प्रारम्भिक योजनामा बालाजु, सीतापाइला, सुकेधारा, पेप्सीकोला र ललितपुरको हरिसिद्धिलाई सम्भावित केन्द्रका रूपमा उल्लेख गरिएको छ। उपभोक्तालाई पायक पर्ने अन्य स्थानमा समेत साझा बिक्री केन्द्र विस्तार गर्न सकिने बताइएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले विशेषगरी घरमा एउटा मात्र ग्यास सिलिन्डर भएका उपभोक्तालाई लक्षित गरी समस्या समाधानको पहल गरेका थिए। चाडपर्वका बेला आफ्नो कम्पनीको सिलिन्डर नपाएर उपभोक्ता ग्यासबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उद्योगीहरूलाई विकल्प खोज्न आग्रह गरिएको थियो।
विभिन्न कम्पनीका खाली सिलिन्डर साझा बिक्री केन्द्रमा जम्मा भएपछि सम्बन्धित उद्योगहरूले आपसी समन्वयमा तिनको व्यवस्थापन गर्नेछन्। यसबाट उपभोक्ताले अर्को कम्पनीको सिलिन्डर खोज्न वा साट्न थप रकम खर्च गर्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको छ।
चाडपर्वमा ग्यासको माग बढ्ने र वितरणमा अवरोध आउन सक्ने अवस्थालाई ध्यानमा राखेर ल्याइएको यो व्यवस्थाले उपभोक्तालाई राहत दिने अपेक्षा गरिएको छ। यद्यपि, सेवा लिन जानुअघि सम्बन्धित बिक्री केन्द्रको सञ्चालन र उपलब्धताबारे जानकारी लिनु उपयुक्त हुनेछ।
