तस्बीर : नेपाली सेना
भीष्मराज ओझा
काठमाडौँ, भदौ १८। भोटेकोशी नदी क्षेत्रमा भारतीय सुरुङ उद्धार टोलीले चिलिमे र लाङटाङमा नेपाली उद्धार टोलीसँग निकट समन्वयमा काम गरिरहेका छन् । आवश्यक उपकरणसहित उहाँहरूले खोजीकार्य जारी राखेका भन्दै सहयोगका लागि एउटा एक्स्काभेटर पनि चिलिमेतर्फ पठाउन लागिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसैगरी, लाङटाङ साइटमा २५ जना नेपाली सेना, जलविद्युत् आयोजनाका दुई जना कर्मचारी तथा ‘ड्रिलिङ’ उपकरणसहित आधुनिक मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रिमतर्फ अर्को सानो प्वाल खोलिएको छ । यसमा थप कार्य जारी छ ।
अपर त्रिशूली ३ ‘ए’ साइटमा कुल ९३ सदस्यीय उद्धार टोली संयुक्त रूपमा स्थलमा काम गरिरहेको मन्त्रालयको भनाइ छ । “चिनियाँ सुरुङ उद्धार टोली त्यहाँ परिचालित रहँदै नेपाली उद्धार टोलीसँग मिलेर काम गरिरहेको छ । थप जनशक्ति तथा उपकरणसहित टोलीलाई सुदृढ गरिएको छ”, प्रवक्ता क्षेत्रीले भन्नुभयो ।
अपर त्रिशूली ३ ‘बी’ साइटमा हाल ६७ जना नेपाली सेना र जलविद्युत् आयोजनाका तीन जना प्राविधिक विज्ञहरूको टोली एक्स्काभेटरसहित काम गरिरहेको छ । ‘भग्नावशेष संरचना खोज तथा उद्धार टोली’लाई पनि यस कार्यमा थप गरिएको छ ।
हाकुको अपर त्रिशूलीमा नेपाली सेना तथा जलविद्युत् आयोजनाका कर्मचारीहरू पुनः सुरुङभित्र प्रवेश गरी खोज कार्य जारी राखिरहेका छन् । त्यस्तै, रसुवागढी साइटमा एक्स्काभेटर परिचालन गर्न सकिने सम्भावनाको मूल्याङ्कन गर्न रेकी उडानहरू सञ्चालन भइरहेका प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।
अपर त्रिशूली–१ साइटमा कोरियाली सुरुङ उद्धार टोलीले नेपाली टोलीसँग मिलेर अपर त्रिशूली–१ को सुरुङ खोल्ने कार्य जारी राखेको भोटेकोशी बाढीसम्बन्धी आज मन्त्रालयमा आयोजित ‘प्रेस ब्रिफिङ’ प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।
‘डिएनए’ सङ्कलन र विश्लेषणमा ‘फरेन्सिक’ विदेशी टोली
त्यस्तै भारतको १९ सदस्यीय फरेन्सिक टोली, चीनको पाँच सदस्यीय विशेष फरेन्सिक टोली तथा सिङ्गापुरको २४ सदस्यीय ‘विपद् पीडित पहिचान टोली’मध्ये १९ जना नेपाली टोलीसँग मिलेर काम गरिरहेका छन् । जारी डिएनए सङ्कलन, विश्लेषण तथा प्रतिवेदन प्रक्रियालाई तीव्रता दिइएको छ ।
सिङ्गापुरको ‘डिभिआई’ टोलीका बाँकी सदस्यहरू ड्रोन तथा सम्बन्धित सामग्रीसहित आज र भोलि आइपुग्ने मन्त्रालयले जनाएको छ । गणतन्त्र कोरियाका दुई जना फरेन्सिक अधिकारीहरू पनि आवश्यक उपकरण तथा सामग्रीसहित हालै यस कार्यमा सहभागी भएका छन् ।
प्रवक्ता पौडेल क्षेत्री भन्नुभयो, “नेपालमा उपलब्ध तथा विश्वभरबाट प्राप्त सबै विशेषज्ञता र स्रोतसाधनको अधिकतम उपयोग गरेका छौँ र यी कार्यहरू प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्न सम्भव सबै प्रयास गरिरहेका छौँ ।”
सरकारले भोटेकोशी बाढी विपद् प्रभावितको खोज, उद्धार तथा राहत कार्यहरू जारी राखेको छ । हालसम्म प्राप्त पछिल्लो जानकारीअनुसार, प्रभावित क्षेत्रहरूबाट एक हजार २५२ वटा शव फेला परेका छन् । करिब चार हजार २०० जना अझै बेपत्ता छन् भने हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।
चीनतर्फ एक सय नेपाली नागरिक अझै बेपत्ता
यसैगरी उत्तरी छिमेकी चीन सरकारले तिब्बतबाट नेपाली तथा विदेशी नागरिकहरूलाई नेपाल-चीन सीमाका अन्य नाकाहरू हुँदै फर्कने व्यवस्था मिलाएको छ । प्रवक्ता क्षेत्रीका अनुसार केरुङबाट ११४ जना नेपाली नागरिक आज तातोपानी नाका हुँदै नेपालतर्फ आउँदैछन् । उहाँहरूमध्ये अधिकांश रसुवा जिल्लाका सीमा वारपार अनुमतिपत्र प्राप्त (पासधारी) नागरिक हुन्, जो व्यापार तथा व्यवसायका लागि नियमित रूपमा चीन जानेआउने गर्छन् ।
“हाल करिब एक हजार ४०० जना नेपाली नागरिक केरुङमा रहेका छन् र छिट्टै फर्कन चाहनेका लागि हामी चिनियाँ पक्षसँग समन्वय गरिरहेका छौँ । त्यस दिन चिनियाँ सीमातर्फबाट करिब एक सय जना नेपाली नागरिक अझै बेपत्ता छन्”, प्रवक्ता पौडेल क्षेत्रीले भन्नुभयो ।
