काठमाडौँ, असोज ९ । अविरल वर्षाका कारण पहिरो खस्दा बागमती प्रदेशका प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ । बीपी राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडक र कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खसेपछि केही सडक बन्द गरिएको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । वर्षाको जोखिमलाई ध्यान दिँदै काभ्रेपलाञ्चोक खण्डमा असोज ८ देखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ । अवस्था गम्भीर भए दिउँसोसमेत सडक बन्द गर्न सकिने प्रशासनले जनाएको छ ।
चितवनमा पहिरो र थप जोखिमका कारण पृथ्वी राजमार्ग तथा नारायणगढ–मुग्लिन सडक अर्को सूचना जारी नभएसम्म बन्द गरिएको छ । यी दुई सडकबाट दैनिक क्रमशः १४ हजारभन्दा बढी र १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्छन् ।
यसैगरी, लगातारको वर्षाका कारण कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फका विभिन्न तीन स्थानमा पहिरो खसेपछि हेटौँडाबाट सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ । प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा नदी किनार र पहिरो जोखिममा रहेका क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
