Merce Cunningham

रामकुमार राई
पृष्ठभूमि
पर्फमिङ्ग आर्टस् को विकासक्रम खोज्ने क्रममा विभिन्न व्यक्तित्वहरुसँग साक्षात्कार गरियो । नृत्यकला मानव संस्कृतिको महत्वपूर्ण हिस्सा कसरी बन्न पुग्यो ? भन्ने विषयमाथि केही नृत्य इतिहासकार, दर्शानिक र सिद्धान्तकारहरुसँग भर्चुअल विचार–विमर्श गरियो ।
नेपाली नृत्यकलाको स्थितिलाई अध्ययन गर्न पनि पाश्चात्य नृत्यको इतिहास थोरबहुत अध्ययन गर्नै पर्ने होस आयो । अनि, त्यही रुझानले म युरोप र अमेरिकाको केही कोरियोग्राफरहरुको स्टुडियोतिर धाउन थालेँ । जसले नृत्यकलाको इतिहासमा उल्लेखनीय योगदान दिएका थिए ।
पाश्चात्य नृत्यकलाको विकासक्रम खोतल्ने सिलसिलामा १९६० को दशकतिर फर्किएँ । सोही समयको आसपासबाट केही नामुद कोरियोग्राफरहरुले आफ्नो अग्रज गुरुहरुले स्थापित गरेका परम्परागत नृत्य विधि र प्रविधिहरु विरुद्ध असहमति जनाएका थिए ।
उनीहरुले असहमति मात्रै राखेनन्, बरु नयाँ नृत्य दर्शन र सिद्धान्तहरुको विकल्प दिए, र स्थापित गरे । जसले नृत्यको प्रतिमानहरु नै बदलिदिए । त्यसलाई मुख्यरुपमा समकालीन नृत्य भनिन्छ । नृत्यको त्यही सैद्धान्तिक आधारले आधुनिक र उत्तराधुनिक नृत्यको इतिहासको सीमाङ्कन गर्दछ ।
यसरी, अमेरिकी समकालीन नृत्यका पिता (Father of Contemporary Dance) मानिएका मर्श कनिङ्गम (ई.सं. १९१९ – २००९) सँग पनि मेरो अनौपचारिक भेटबार्ता भयो । केही भर्चुअल अन्तरक्रियाबाट नृत्यकलालाई हेर्ने, बुझ्ने र सिर्जना गर्ने उनका तौर तरिकाहरुसँग धेरथोर परिचित हुने अवसर जुर्यो ।
उनले नृत्यलाई शास्त्रीय बन्धनबाट मुक्त गरी खुला, अन्वेषणात्मक र प्रविधि मैत्री कलाको रुपमा स्थापित गरेका किस्साहरु पढियो । उनको अध्ययन, चिन्तन र साधना गर्ने शैली बुझेजस्तो गरियो ।
विश्वको सबैभन्दा प्रभावशाली र मौलिक नृत्य कोरियोग्राफरहरु मध्ये एक कनिङ्घम केवल नर्तक मात्रै थिएनन्, एउटा उच्च कोटीको दार्शनिक र अग्रगामी विचारक पनि थिए । त्यसैकारण उनले आधुनिक नृत्यको परिभाषा नै परिवर्तन गरिदिए ।
जसले नृत्य अवधारणाहरुले नृत्य, सङ्गीत, नाटक, फेसन, चित्रकला र प्रविधिको सम्बन्धलाई नयाँ सिर्जनात्मक आयाम दिएको छ ।
मर्श कनिङ्घमसँगको उठबस पछि नृत्य भनेको सङ्गीतको तालमा शारीरिक अङ्गहरु सञ्चालन गर्नु मात्रै होइन भन्ने थाहा पाइयो । उनको नृत्यसम्बन्धि दृष्टिकोणले प्रत्येक कलाकारहरुलाई सोच्न प्रेरित गर्छ कि “सिर्जनाका सम्भावनाहरु असीमित हुन्छन् ।”
उत्तराधुनिक नृत्य : कनिङ्घमका समकालीनहरु
इस्वी १९६० को दशक र त्यसपछिको उत्तरआधुनिक नृत्यको विकासमा मर्श कनिङ्घमको प्रमुख प्रभाव थियो । विशेषगरी अमेरिकाको न्यूयोर्क शहरमा आधारित भएर ठूलो संख्यामा नयाँ नर्तक र कोरियोग्राफरहरुको आगमन भयो ।
तिनीहरुमध्ये मर्श कनिङ्घमका साथै त्रिशा ब्राउन, यभोन रेनर, र पिना बाशलाई प्रमुख स्थान दिन सकिन्छ । यिनीहरु आधुनिक नृत्यको अग्रज र अमेरिकी आधुनिक नृत्यकी आमा – मार्था ग्राहमका चेलाचेपटाहरु थिए ।
नयाँ पुस्ताका यिनै कोरियोग्राफरहरुले कलाप्रवीण व्यक्ति केन्द्रीत परम्परागत नृत्य विधिलाई त्याग्न थाले । त्यसको स्थानमा नयाँ विधि पद्धतिहरुको प्रयोग गर्न थाले ।
परम्परागत बरोक थिएटरहरुको स्थानको विकल्पमा खुला मञ्चहरुमा प्रदर्शन, नृत्यको चालहरुमा मञ्चमा नै इम्प्रोभाइज्ड गर्ने, अमूर्त शैलीको नृत्यरचना, औपचारिक नृत्य प्रशिक्षण नलिएका कलाकारहरुद्वारा मञ्चन, अतिसुक्ष्मवादी नृत्यरचनाहरु, मिश्रित माध्यमहरुको प्रयोग, डिजिटल प्रविधिहरुको प्रयोग, सङ्गीत बिना नै नृत्यको कोरियोग्राफी, ताल लयलाई वेवास्ता, आदि प्रयोगात्मक नृत्य कोरियोग्राफीहरु उत्तराधुनिक नृत्यको विशेषताहरु हुन् ।
यस सन्दर्भमा ट्वाइला थार्प जस्ता कलाकारहरु देखा परिन् । उनले बिस्तारै आफ्नो नृत्य शैलीमा शास्त्रीय ब्याले आधारित लोकप्रिय सामाजिक नृत्यलाई सुधार गरिन् । यसो भनौं कि शास्त्रीय नृत्यमा लोकनृत्यका चालहरु समावेश गरिन् ।
आजको समकालीन नृत्यको अधिकांश नृत्य भाषा मर्शकनिङ्घम कै दार्शनिक र शारीरिक अन्वेषणमा आधारित छ । संसारका नृत्य कोरियोग्राफर बुझीनबुझी उनको शैलीलाई अनुसरण गर्छन ।
यसरी यति धेरै लोकप्रिय हुनुको पछाडिको मलाई लागेका कारणहरु :
एक – गति र चाल आफैंमा अर्थपूर्ण हुनसक्छ ।
दुई – शरीर आफैंमा सुन्दरताको एकमात्र स्रोत हो ।” भन्ने कुरा कनिङ्घमले स्थापित गरिदिए ।
उनको केही नृत्यसम्बन्धि विधि र सिद्धान्तहरुमाथि मनन गर्दा : नृत्यलाई कथा, सङ्गीत र भावनात्मक अभिव्यक्तिबाट अलग गरेर गहिरो दार्शनिक र सैद्धान्तिक प्रतिमान परिवर्तन सिर्जना गरेको स्पष्ट हुन्छ ।
मुख्यतः “मुभमेन्ट फर मुभमेन्टस् सेक”, “चान्स अपेरेसन्स – ¥यान्डम”, “इन्डिपेन्डेन्स अफ एलिमेन्टस्” “डिसेन्ट्रलाइज्ड स्पेस स्टेज”, “डान्सर्स अटोनोमी”, जस्ता विधि र सिद्धान्तको प्रयोगमा ध्यान केन्द्रित गरेको देखिन्छ ।
मर्श कनिङ्घमको केही नृत्य अवधारणा
मर्श कनिङ्घमले लगभग २०० भन्दा बढी नृत्य निर्माण र कोरियोग्राफी गरेका छन् । तीमध्ये नृत्यकलाको दार्शनिक र सैद्धान्तिक प्रतिमानहरु परिवर्तन गर्ने केही कृतिहरुलाई उल्लेख गर्नु बढी सान्दर्भिक हुन्छ ।
अवधारणा १ : संयोग सञ्चालन
उनको “संयोग सञ्चालन” अवधारण भनेको वास्तविक प्रदर्शन नभएसम्म नृत्यका चरणहरु वा अनुक्रमहरुको क्रम अज्ञात हुन्छ र संयोगले नृत्य कोरियोग्राफी निर्यण गरिन्छ । मर्श कनिङ्घमले आफ्नो कोरियोग्राफी सिर्जनाको लागि संयोग सञ्चालन अवधारणाको विकास गरे ।
यस अवधारणामा सिक्का उफार्ने, डाइस रोल गर्ने, तासको पत्ता तान्ने, चिनिया दर्शन आई चिङ्ग, जस्ता अनियमित विधि को प्रयोग गरे । यस विधिमा नृत्य रचना र कोरियोग्राफीको क्रम, दिशा, गति, र शरीरका अङ्गहरुको प्रयोग, आदिलाई निर्धारण गरिन्थ्यो ।
यसले पूर्वनिर्धारित भावना र कथाको बन्धनलाई तोडेर नृत्यलाई नवीन ढाँचाको बनाउने गर्दथ्यो । यस विधिले गर्दा नृत्यलाई मनोवैज्ञानिक र कथाको बोझबाट मुक्त गर्ने गर्दथ्यो ।
कलाकार कुनै एक उस्ताद कोरियोग्राफरको दिमागको नियन्त्रण होइन, स्वतन्त्र प्रदान गर्नुपर्ने धारणा थियो । यसले नयाँ शुद्ध गतिहरुको सिर्जना गर्दथ्यो । यस सिद्धान्तको “चान्स बाइ सुइट” नामक कोरियोग्राफीमा पहिलो पटक प्रयोग गरिएको थियो ।
दृष्टान्त (१) : चान्स बाइ सुइट
कोरियोग्राफी : मर्श कनिङ्घम ।
प्रिमियर मिति : मार्च २४, १९५३ ।
प्रिमियर स्थान : इलिनोय विश्वविद्यालय, अर्बाना, इलिनोय ।
नृत्यको समय : २२–२४ मिनेट ।
सङ्गीत : क्रिस्चन वुल्फ ।
भेषभूषा र मञ्च सज्जा : रमी चार्लिप ।
कलाकारहरु : मर्श कनिङ्घम, क्यारोलिन ब्राउन, जो एनी मेल्सर, नतान्या न्युम्यान, मरियान प्रेगर साइमन र जोन स्किनर ।
मर्श कनिङ्घमले यस सिद्धान्तको प्रयोग “चान्स बाइ सुइट” (१९५३) मा गरेका थिए । यो सिद्धान्तद्वारा कारियोग्राफी गरेको नृत्य इतिहासमै पहिलो हो ।
यसको कोरियोग्राफी मञ्चको स्थान, चाल, दिशा, लय र स्थिति जस्ता विशिष्ट तत्वहरु सिक्का फ्याँकेर निर्धारण गरिएको थियो । संयोग विधिबाट सिर्जना गरिएकोले यसमा कोरियोग्राफरको न्यून निर्णय तर नर्तकको इम्प्रुभाइजेसन बढी निर्णायक थियो । आधुनिक नृत्यको इतिहास मै यो एक साहसी प्रयोग थियो । जसले मानिसको दैनिक जीवनको अनियमितताहरुलाई प्रतिबिम्बित गर्दछ ।
अवधारणा २ : मुभमेन्ट फर इट्स अउन् सेक
मर्श कनिङ्घमको सबैभन्दा क्रान्तिकारी विचार भनेको नृत्य र सङ्गीतलाई स्वतन्त्र कलाको रुपमा विकास गर्नु हो । उनको अनन्य मित्र सङ्गीतकार जोन केजसँगको सहकार्यमा उनले नृत्य र सङ्गीतलाई एउटै भावना र कथा व्यक्त गर्ने साधन बनाउनुको सट्टा दुबैलाई समानान्तर रुपमा सिर्जना गर्ने सिद्धान्तको विकास गरे ।
कनिङ्घम भन्ने गर्दथे “नृत्यकला र सङ्गीतकला दुवैको आफ्नै समय र स्थान हुन्छन्, तिनीहरु प्रदर्शनको समयमा मात्र एकै ठाउँमा भेट्छन् ।” त्यसै कारण उनको कोरियोग्राफी कुनै सङ्गीत बिना नै हुने गर्दथ्यो । अन्त्यमा मञ्चमा मात्रै एकसाथ हुने प्रदर्शन गरिन्थ्यो । यसले गर्दा सङ्गीत र नृत्यको स्वाद फरक फरक हुने गर्दथ्यो ।
यसले गति वा चाल मूल तत्व हो । कनिङ्घमका अनुसार नृत्यकला भाव र कथा सुनाउने माध्यम मात्रै होइन । हाम्रो शरीरको गति, दिशा, समय र स्थान आफैमा अर्थपूर्ण हुन्छ भन्ने धारणा थियो । नृत्यले कुनै कथा नै भन्नुपर्दछ भन्ने हुँदैन । यसको प्रयोग “रुट अफ एन अनफोकस” भन्ने कोरियोग्राफीबाट सुरु गरिएको थियो ।
दृष्टान्त (२) : रुट अफ एन अनफोकस
कोरियोग्राफी : मर्श कनिङ्घम ।
प्रिमियर मिति : अप्रिल ०५, १९४४ ।
प्रिमियर स्थान: हम्फ्रे–वेडमेन स्टुडियो थिएटर, न्युयोर्क ।
सङ्गीत : जोन केज ।
नृत्यको समय : ५ मिनेट ।
भेषभूषा र मञ्च सज्जा : मर्श कनिङ्घम ।
कलाकार : मर्श कनिङ्घम ।
नृत्य रचनाको प्रक्रिया र सङ्गीत सिर्जनाको प्रक्रिया एकअर्काबाट स्वतन्त्र हुन सक्छन् भन्ने विचारलाई व्यवहारमा उतार्नको लागि “रुट अफ एन अनफोकस” (१९४४) मा प्रस्तुत गरिएको थियो । यसको भेषभूषाको डिजाइनर पनि कनिङ्घम आफैंले गरेका थिए ।
यसरी सङ्गीत, गीत, कथा, भेषभूषा, आदिको आधारमा सिर्जना गरिने परम्परागत नृत्य स्टेप्स्हरुबाट मुक्त भयो । निश्चित ताल, लय र मात्राहरुमा बाँधिएर गरिने चालहरु स्वतन्त्र भए । खासमा सङ्गीतअनुसारको नृत्यको चाल बनाउने सिद्धान्तबाट नृत्यको चालबाट सङ्गीत र अन्य पक्षहरु निर्धारण हुने पद्धतिको सुरुवात भयो । यसले गीत र बाद्ययन्त्रबिना पनि नृत्य गर्न सकिन्छ भन्ने धारणाको विकास ग¥यो ।
अवधारणा ३ : इन्डिपेन्डेन्स अफ एलिमेन्टस्
सबै कलाको आफ्नो विशिष्ट स्वभाव हुन्छ । त्यसको आफ्नै प्रकारको विशेष स्वाद हुन्छ । त्यसैले नृत्यका साथमा प्रयोग हुने लय, ताल, गीत, भेषभूषा, श्रृङ्गार, मञ्च, सजावट, आदिको सिर्जनामा एकआपसमा हस्तक्षेपपूर्ण हुनु हुँदैन ।
यसको रचनागर्भ, प्रक्रिया, स्थान र परिस्थितिमा एकअर्काबिच संक्रमित हुनुहुँदैन भन्ने मर्श कनिङ्घमको अर्को सिद्धान्त थियो । त्यस्तो रचनाहरु प्रदर्शनको समयमा मात्रै एक स्थानमा उपस्थित हुने र सहअस्तित्वको भावना हुने गर्दछ । यस्ता सिर्जनामा दर्शकहरुले आ–आफ्नो तरिकाले अर्थ खोज्ने प्रयास गर्दछ ।
नृत्य र सङ्गीत एकआपसमा स्वतन्त्र भएकोले तालमा नै नाच्नु पर्दछ भन्ने बाध्यता छैन । शारीरिक मुद्रा र चाल अभिव्यक्तिको माध्यम होइन, अभिव्यक्ति त हुँदै होइन । नृत्यले केही भन्नै पर्छ भन्ने पनि छैन । शरीरको गति आफैंमा अर्थपूर्ण हुन्छ । त्यसैले भावुक कथा र अर्थपूर्ण मुद्राहरु नभएपनि नृत्य पूर्ण हुन्छ भन्ने मान्यता थियो ।
दृष्टान्त (३) : समरस्पेस
कोरियोग्राफी : मर्श कनिङ्घम ।
प्रिमियर मिति :अगस्ट १७, १९५८ ।
प्रिमियर स्थान : अमेरिकन डान्स फेस्टिवल, कनेक्टिकट कलेज, न्यु लण्डन ।
सङ्गीत : मोर्टन फेल्डमेन ।
नृत्य समय : २० मिनेट ।
भेषभूषा, प्रकाश र मञ्च सज्जा : रोबर्ट राउशचेनबर्ग ।
कलाकारहरु : मर्श कनिङ्घम, क्यारोलिन ब्राउन, रेमी चार्लिप, भियोला फार्बर, सिन्थिया स्टोन र मरिलिन वुड ।
मर्श कनिङ्घमको अर्को महत्वपूर्ण कृति “समरस्पेश” (१९५८) हो । यसको कोरियोग्राफीमा अमूर्त चालहरुको अन्वेषणको लागि परिचित छ । यस कृतिको सिर्जनामा सम्बद्ध सम्पूर्ण सर्जकहरु अलग अलग विधि र ढाँचामा रहेर कार्य गरेका थिए ।
अवधारणा ४ : डिसेन्ट्रलाइज्ड स्पेस
परम्परागत नृत्य प्रदर्शनमा मञ्चको केन्द्र भागलाई बढी महत्वपूर्ण दिइएको हुन्छ । तर, कनिङ्घमका लागि मञ्चको हरेक भाग समानरुपमा महत्वपूर्ण हुन्छ भनेर परिभाषित गरे ।
बरु दर्शकले जहाँ ध्यानपूर्वक हेर्दछ त्यही भाग मञ्चको प्रमुख केन्द्र हुन्छ भन्ने नयाँ अवधारणा विकास गरे । यस अवधारणामा मर्श कनिङ्घमले दुईवटा कुरा मञ्च र स्थानलाई नयाँ ढङ्गले प्रयोगमा ल्याए ।
परम्परागत प्रोसेनियम थिएटरको कलाकार मञ्चमा प्रदर्शन गर्ने र दर्शक अगाडि बसेर हेर्ने विधि ल्यागे । कला प्रदर्शनको लागि कुनै पनि दिशा र स्थानमा हुने, कुनै पनि दिशाबाट कलाकार प्रवेश गर्न सक्ने, निस्कन सक्ने, जस्ता कुराहरुको सुरुवात गरे ।
मञ्चको विभाजनमा पनि आमूल परिवर्तन गरे । शास्त्रीय रुपमा मुख्य कलाकार मञ्चको बीच र अन्य सहायक कलाकार मञ्चको छेउछाउमा प्रदर्शन गर्ने गरिन्थ्यो । चरित्रको हिसाबले मुख्य र सहायक नर्तकहरुको धारणालाई हटाए ।
कनिङ्घमले मञ्चको सबै स्थानलाई प्रमुखताको साथ प्रयोग गरे । नृत्यको गतिविधिहरु कुनै पनि बिन्दूहरुमा एकैसाथ हुने गर्दथ्यो । कुनै पनि स्थान नर्तकको लागि प्राथमिकतामा पर्दैन थियो । दर्शकले आफ्नो रुचिअनुसार नृत्यलाई बुझ्न र आस्वादन गर्न सक्दथे ।
यसरी मञ्चको स्थान र नर्तक वा पात्रको लोकतान्त्रिक प्रयोग उत्तराधुनिक नृत्यकलामा सुरुवात गरे । यसले दर्शकलाई दर्शकको रुपमा भन्दा एउटा अवलोकनकर्ता वा अनुसन्धानकर्ताको भूमिकामा परिवर्तन गरिदियो । मञ्चको बिकेन्द्रीकरणले दर्शक स्वयम् के हेर्ने भन्ने कुरा आफैले रोज्न सक्ने भए ।
अवधारणा ५ : प्रविधिसँगको सहकार्य
मर्श कनिङ्घम प्रविधिप्रति सधैँ जिज्ञासु हुने गर्दथे । उनले १९९० को दशकदेखि नै कम्प्युटर प्रोग्राम लाइफ फम्र्सको प्रयोग गरी कोरियोग्राफी गर्न सुरु गरेका थिए । जसले गर्दा शरीरको अङ्ग र चालहरुलाई ज्यामितीय रुपमा विश्लेषण गर्न मद्दत गथ्र्यो ।
यसले गर्दा उनलाई मानव शरीरले सामान्यतया गर्न नसक्ने जटिल चाल र गतिहरु अध्ययन गर्न सहयोग पु¥यायो । उनले सन् २००२ मा सिर्जना गरेको बाइपोलर, पहिलो कोरियोग्राफी हो, जुन इन्टरनेटमा लाइभ स्ट्रिम गरिएको थियो । प्रविधि प्रयोग गर्ने पहिलो कोरियोग्राफरहरुमध्ये एक र डिजिटल प्रविधिलाई नृत्य सिर्जनामा भित्र्याउने अग्रणी हुन् ।
दृष्टान्त (५) : बिपेड
कोरियोग्राफी : मर्श कनिङ्घम ।
प्रिमियर मिति : अप्रिल २३, १९९९ ।
प्रिमियर स्थान : जेलरबाख हल, क्यालिफोर्निया विश्वविद्यालय, बर्कली ।
सङ्गीत : गेभिन ब्रायर्स ।
नृत्य समय : ४५ मिनेट ।
भेषभूषा : सुजान ग्यालो ।
मञ्च सज्जा : पल कैशर र शेली एश्कर ।
प्रकाश : आरोन कोप ।
कलाकारहरु : मर्श कनिङ्घम, लिसा बौड्रेउ, होली फार्मर, मेडेल फेसन, जीन फ्रिबरी, डेभिड कुलिक, म्याथ्यु मोहर, बानु ओगान, ग्लेन रुम्से, ड्यानियल स्क्वायर, जेनी स्टिल, रोबर्ट स्विन्स्टन र चेरिल थेरिएन ।
बिपेड (१९९९) मा सिर्जना गरिएको महत्वपूर्ण नृत्यकला हो । कनिङ्घमले डिजिटल प्रविधिसँग नृत्यलाई एकीकृत गर्ने एक अभूतपूर्व काम गरेका छन् । यो उत्तराधुनिक नृत्य इतिहासको महत्वपूर्ण प्रयोग हो । नृत्य कोरियोग्राफीलाई डिजिटलमैत्री अवधारणाको विकास कनिङ्घमको बिपेडबाट नै सुरु भएको स्पष्ट हुन्छ ।
उनको हरेक कोरियोग्राफीहरुमा केही न केही थप नयाँ कुरा भेटिन्छ । ती सबैको विषयलाई समेटन सकिन्न । तर सन् १९६८ मा प्रदर्शन गरिएको “रेनफरेस्ट” लाई उल्लेख गरिएन भने यो लेख अपूर्ण हुन्छ भन्ने लाग्छ ।
यसमा कनिङ्घमले आफ्नो उत्तरपश्चिमको बाल्यकालको सम्झना र ओलम्पिक प्रायद्वीपमा रहेको वर्षावनलाई डिपिक्ट गरेका छन् । उनका अन्य नृत्य रचनाहरुभन्दा रेनफरेस्ट फरक थियो, कनिङ्घम बाहेक, छ जना नर्तकहरु समावेश थिए । स्वतन्त्र हावामा तैरिरहेका हेलियमले भरिएको धेरै माइलर तकियाहरुको प्रयोग गरिएको थियो । यसमा डेभिड ट्युडको सङ्गीत थियो ।
मर्श कनिङ्घमले १९४२ देखि कोरियोग्राफीको यात्रा सुरु गरे, हुने बिरुवाको चिल्लो पात भन्ने नेपाली उखानजस्तै उनले कोरियोग्राफीको अलवा सङ्गीत, साहित्य, पोशाक डिजाइन, सेट डिजाइन, दृष्यचित्र, जस्ता बहुविधाहरुमा आफ्नो कुशलता सुरुवात देखि नै देखाए ।
पहिलो कारियोग्राफीदेखि नै कलात्मक इनपुटहरुको नयाँ ढाँचा, नवीन चालहरुको अन्वेषणमा योगदान दिएका छन् । उनले समकालीन अमेरिकी नृत्य शैलीप्रति व्यंग्य गर्दै अतिअथार्थवादी कोरियोग्राफी गरे ।
जेम्स ज्याइसका साहित्यिक कृतिहरुमा आधारित नृत्य नाटकहरु (इन द नेम अफ द होलोकास्ट –१९४२), द अनअभाइलेभल मेमोरी अफ स्पोन्टेन्अस अर्थ – १९४४) निर्माण गरे । परम्परागत पोशाकको सट्टामा फरक किसिमको पोशाक डिजाइन “रुट अफ एन अनफोकस” (१९४४), लेखक, निर्देशन र कोरियोग्राफरको रुपमा “फोर वाल्स” (१९४४) मा गरेका थिए ।
पूर्वीय दर्शनमा आधारित “द सिजन्स” (१९४७) जस्ता प्रारम्भिक कोरियोग्राफीहरुले उत्तराधुनिक नृत्यको आधार तय गरेको देखिन्छ । तथर्स, नृत्यकलालाई साहित्य, सङ्गीत, चित्रकला, फेसन, प्रविधि जस्ता विभिन्न सिर्जनात्मक विधाहरुसँग सहअस्तित्व र सहसम्बन्ध स्थापित गर्नमा कनिङ्घमको महत्वपूर्ण योगदानलाई पनि कम मान्न सकिन्न ।
संक्षिप्त शब्दचित्र
पूरा नाम : मर्शियर फिलिप कनिङ्गम ।
जन्ममृत्यु : अप्रिल १६, १९१९ सेन्ट्रलिया, वासिङ्टन र जुलाई २६, २००९, न्युयोर्क ।
मातापिता : मेमे जोआच कनिङ्घम र क्लिफोर्ड डी. कनिङ्घम ।
तीन दाजुभाइमध्ये उनी माहिलो सन्तान थिए ।
अध्ययन : कोर्निश स्कुल, सिएटल (ई.सं. १९३७–१९३९), मिल्स कलेज (ई.सं. १९३८ र १९३९) र बेनिङ्टन कलेज (ई.सं. १९३९) ।
नृत्य गुरुहरु : लेस्टर होर्टन र मार्था ग्राहम ।
मर्श कनिङ्घमलाई उनको नृत्यसम्बन्धि कार्यहरुलाई समयरेखा :
प्रारम्भिक कोरियोग्राफी कार्य र सहकार्यहरु (१९४०–१९५० को दशक) ।
स्वतन्त्र कोरियोग्राफी कार्य र नयाँ प्रयोगहरु (१९५०–१९६० को दशक) ।
प्रतिष्ठित कोरियोग्राफी कामहरु (१९६० – १९७० को दशक) ।
पछिल्ला प्रविधिसँग कोरियोग्राफीहरु (१९७० को दशकदेखि २००८ सम्म) ।
नेपाली नृत्य परम्पराको सन्दर्भ :
नेपाली नृत्यकलाको जरा धार्मिक र सांस्कृतिक परम्परा नै हो । यसैको आधारमा परम्परागत, शास्त्रीय र लोकनाचहरु प्रचलनमा रहेका छन् । यसको एतिहासिक विकासक्रमको स्पष्ट रुपरेखा अहिलेसम्म पनि अन्वेषण गर्न सकिएको छैन ।
त्यसैगरी, नेपाली नृत्यको वर्तमान स्थिति (एयकष्तष्यल) के हो ? भन्ने तथ्य पनि पहिचान गर्न सकिएको छैन । ऐतिहासिक रुपमा लिच्छविकालीन साहित्यिक स्रोत र पुरातात्विक अवशेषहरुमा नेपाली नृत्यको धमिलो प्रमाणहरु देख्न सकिन्छ ।
मल्लकालीन दरबारहरुमा नृत्यको सिर्जना, संरक्षण र विकास उन्नत थियो भन्ने कुरा हालसम्म निरन्तर प्रदर्शन गरिने उपत्यकाको विभिन्न मुकुण्डो र मातृका नाचहरुबाट स्पष्ट हुन्छ । अधिकांश मातृका नाचहरुको रचना मल्लकालमा भएको देखिन्छ । तान्त्रिक विधिविधानको जगमा सिर्जना गरिएका ती नृत्यहरुको उद्देश्य तात्कालीन समाजको आवश्यकतामा आधारित थियो ।
यसको पनि तथ्यपरक ढङ्गले अध्ययन गर्न सकिएको छैन । यसलाई जातीय तथा समुदायको संस्कारजन्य नृत्यकलाको रुपमा मात्रै बुझ्ने गरिएको छ । शाहकाल र राणाकालमा भारतीय शास्त्रीय नृत्यहरु दरवारमा भित्रियो । त्यसैको निरन्तरता वर्तमानसम्म रहेको पनि यथार्थ हो ।
नेपाली नृत्यको समसामयिक अवधारणाहरुमा सुधार गर्ने हो भने मर्श कनिङ्घमका अवधारणाहरु उपयोगी हुने देखिन्छ ।
विशेषगरी, ताल र लयको अवधारणामा निश्चित ताल र लयको पक्षमा अनिश्चित र स्वतन्त्र चालहरुको प्रयोग गर्न सकिन्छ । कुनै पनि गीत र तालको साथबिना नेपाली नृत्यको कोरियोग्राफी नै नहुने अवस्थालाई परिवर्तन गरेर चान्स अपेरेसन अवधारणा अनुसार नयाँ स्वाद दिन सकिन्छ । नृत्यकला आफैमा स्वतन्त्र र विशिष्ट विधा हो ।
प्राचीन धार्मिक कथा, शास्त्रीय विधान र जातीय संस्कारमा आधारित नृत्य अभिव्यक्तिलाई शारीरिक चालहरु मात्रै विषयवस्तुको रुपमा सिर्जना गर्न सकिन्छ । नृत्यकलाले कुनै कथा नै भन्नु पर्दछ भन्ने मान्यतालाई भङ्ग गर्न सकेमा नेपाली नृत्यको प्राविधिक पक्ष बलियो हुन्छ । कुनै पनि चाल आफैमा सुन्दर हुन्छ । त्यसको अर्थ दर्शक स्वयम्ले खोज्दछ ।
निष्कर्ष :
मर्श कनिङ्घमले नृत्यकलालाई भावनात्मक अभिव्यक्ति र कथात्मक बन्धनबाट मुक्त गरी एक स्वतन्त्र दार्शनिक विधाको रुपमा स्थापित गरे । उनको संयोग सञ्चालन, तत्वहरुको स्वतन्त्रता र विकेन्द्रीकृत मञ्च, जस्ता अवधारणाहरुले नृत्यकलामा उत्तराधुनिक नृत्यकलाको प्रतिमानहरु स्थापित गरे ।
यी सिद्धान्तहरुले केवल नृत्यकलालाई मात्रै नभएर समकालीन अन्य कलाहरुको सैद्धान्तिक परिदृष्यलाई नै पुनर्परिभाषित गरिदिए, जहाँ अनियमितता, विखण्डन र दर्शकको सहभागितालाई केन्द्रीय नयाँ मूल्यहरु निर्माण गरे । कनिङ्घमको प्रयोगहरुले कलाको विभिन्न आयामहरु पर्फमिङ्ग र भिजुअल आर्टस्बीचको पारम्परिक अधिनस्थ सम्बन्धलाई समानान्तर र स्वायत्त सहअस्तित्वमा रुपान्तरित गरिदिए ।
उनको सिद्धान्तहरुले कलाको स्वरुप र प्रक्रियामा गहिरो लोकतान्त्रिकरण ल्यायो । गतिलाई नै एक मात्र उद्देश्य मान्ने दृष्टिकोणले नृत्यलाई अलग्गै भाषाको रुपमा स्थापित गर्यो । यसले नर्तकको सिर्जनात्मक स्वतन्त्रतालाई बलियो बनाउनुको साथै दर्शकलाई निष्क्रिय प्रेक्षकभन्दा पनि सक्रिय समीक्षकको भूमिकामा रुपान्तरित गर्यो । यो दार्शनिक स्थानान्तरणले कला र जीवनको यथार्थबीचको सम्बन्धलाई नवीन सिर्जनात्मक ढङ्गले पारिभाषित गर्यो ।
नेपाली नृत्यकलाको सन्दर्भमा, कनिङ्घमका अवधारणाहरुले धार्मिक, सांस्कृतिक र शास्त्रीय बन्धनमा रहेका नेपाली नृत्य परम्परको पुनरावलोकनको लागि महत्वपूर्ण सैद्धान्तिक ढाँचा प्रदान गर्दछ । उनको सिद्धान्तले नेपाली नृत्यको प्रयोगात्मक, प्राविधिक र सिर्जनात्मक स्वतन्त्रतामा परिवर्तन ल्याउन सक्दछ ।
यसले शास्त्रीयताको संकुचित दायराबाट निकालेर शारीरिक गति, समय र स्थानको स्वतन्त्र अभिव्यक्तिको रुपमा विकास गर्न मार्गदर्शन गर्न सक्दछ ।
मर्श कनिङ्घमको नृत्यकलाको उत्तराधुनिकवादी प्रतिमानहरु केवल पाश्चात्यको मात्रै नभएर वैश्विक नृत्य चिन्तनको आधारस्तम्भ हो भन्ने कुरामा म सहमत भएँ ।
नाेट : सिर्जना कलेजकाे लावण्य म्यागजिनमा प्रकाशित लेखकाे सम्पादित स्वरुपमा
