डा. गणेश रेग्मी

गतवर्ष भदौ २३ गते जब प्रहरीले सकेन, खै कसले देश बचायो त?
अन्य सुरक्षा निकायको भूमिका के थियो? संसद भवन, सिंहदरवार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री निवास, प्रधान न्यायाधीश निवास, मन्त्रीक्वाटर लगायत समग्र देश जल्दा प्रहरीले नसकेपछि अन्य सुरक्षा निकायहरु किन मौन?
के यो देशले जितेको हो? प्रहरीले नियन्त्रण लिन सकेको भए वा लिएको भए यस्तो अवश्य पनि हुने थिएन।
सात साल, सत्र साल, छयालिस साल, त्रिसठ्ठी साल सबैमा प्रहरी हार्यो भन्न सकिन्छ। अन्ततः यसमा देशको स्वरुप नै परिवर्तन भयो।
नयाँ सरकारले बुझ्नुपर्छ, प्रहरी हार्दा देशको स्वरुप नै परिवर्तन भएको छ। त्यसैले प्रहरीलाई कमजोर हुन दिनु हुँदैन। देशको स्वरुप परिवर्तन हुन सक्छ, सरकार परिवर्तन हुन सक्छ र देश नै हार्ने सक्छ।
काठमाडौं, असोज ३० । आज ७१औ प्रहरी दिवस। प्रहरी पेशा र भूमिकाको मुल्यांकन अनि चुनौतिको समिक्षा गर्ने वार्षिक पर्व। वर्षभरिका कामका लेखाजोखा गर्दै प्रहरीले आफूलाई थप उत्कृष्ट बनाउन प्रण गर्ने दिन। कर्तव्यको बलिवेदिमा होमिएका प्रहरी कर्मचारीको उत्सर्गलाई स्मरण गर्दै अश्रुपुरित श्रद्धाञ्जलीका साथ अझ बलियो हिम्मत हौसलाले छाती ठोक्दै सगर्व अगाडि बढ्न प्रेरणा लिने दिन। यो आलेख यसै परिप्रेक्षमा कोरिएको छ।
चौतर्फी भूमिकाको प्रहरी
कोही प्रहरी मोटो देखियो भने भन्न सकिन्छ, भुँडे प्रहरी, सित्तैमा पाउँछ, खान्छ अनि मोटाउँछ। दुब्लो छ भने भन्न सकिन्छ, बिचरा प्रहरी फुर्सद नै छैन, शरिर पनि कसरी लागोस्। त्यस्तै कोही चतुर भए भन्न सकिन्छ, प्रहरी हो नि टाँठो हुन्छ। अनि, लद्दु भए भन्न सकिन्छ, प्रहरी हो नि कति पो बुद्धि होस्। मिठो बोल्दा, प्रहरी हो नि जनसम्पर्कमा पारङ्गत हुन्छन्। नमिठो बोल्दा प्रहरीको बोली नै रुखो।
कोही कर्तव्यमा समर्पित छ भने प्रहरी झै खटेको छ भन्न सकिन्छ, कोही कामचोर छ भने पनि भन्न मिल्छ प्रहरी झै ढिलो।
एकातर्फ, तिक्ष्ण बुद्धि, फुर्तिलो स्वभाव, सुगठित शरीर, सुन्दर पोशाक देखिँदा भनिन्छ, प्रहरी बाठा हुन्छन्, फुर्तिला हुन्छन्, नियमित व्यायम गर्छन र लुगा पनि मिलाएर लगाउँछन्। अर्कोतर्फ, यसको उल्टो भयो भने पनि प्रहरी हो नि यी यस्तै हुन्छन् भन्न सकिन्छ।
सिंगो मुलुक व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा विभाजित हुन्छ। प्रहरी कार्यपालिकाअन्तर्गत देखिए पनि यी तीनै अङ्गसँग जोडिएको हुन्छ। प्रहरी कानुन कार्यान्वयन गर्छ, न्यायको प्रक्रियालाई अगाडि बढाउँछ र राज्यले निर्माण गरेका नीतिनियमलाई व्यवहारमा उतार्न सहयोग गर्छ।
प्रहरी एक प्रकारले जनताको समस्या तत्काल हल गरिदिने न्यायाधीश पनि हो, जसले न्यायालयमा भन्दा वढी मुद्दा आफ्नै कार्यालयमा टुङ्ग्याउछ। प्रहरी व्यवस्थापक पनि हो, जसले समाज र मानिसको व्यवस्थापन गर्छ। प्रहरी समाजसेवी हो जो प्रतिदिन समाजसेवामा नै खटिन्छ। प्रहरी शिक्षक हो, जसले अनगिन्ती मानिसलाई सिकाउँछ। प्रहरी अभिभावक हो, जसले वास्तविक नसुध्रिएका सन्तानलाई सुधार्छ। प्रहरी राज्यको प्रतिनिधि हो जसले दुरदराजमा राज्यको प्रत्याभूति दिन्छ। प्रहरी नैतिक मार्गदर्शक हो जसले सही बाटोमा ल्याउँछ।
प्रहरी सुरक्षाकर्मी मात्र नभएर समाजको संरक्षक पनि हो।
न्यायकै हकमा मात्र हेर्दा, प्रहरी शान्ति र न्यायबीचको सेतु हो। प्रहरी शान्ति दूत र प्रहरी मानव अधिकारको रक्षक हो। सङ्कटमा पहिलो साथी हो। कमजोर र असहायको आवाज हो। पीडितको सहारा हो। संविधानको पहरेदार हो।
प्रहरी कहाँ छैन? जन्मने अस्पतालदेखि मर्ने आर्यघाटसम्म। घरदेखि मन्दिरसम्म। गाउँदेखि संसदसम्म। सामान्य जनताको घरदेखि देशको कार्यकारी प्रमुखको साथसम्म। अनि, चाडबाड देखि प्राकृतिक प्रकोप उद्दारसम्म। वच्चालाई तर्साउने उपमा देखि अभिभावकलाई बचाउने उद्दारकर्तासम्म।
यसैले, प्रहरीको बहुआयामिक भूमिका छ र प्रहरीको सर्वत्र कार्यक्षेत्र छ।
प्रहरी कर्मचारी बन्नु गौरवको विषय
भर्खरै नयाँ इन्स्पेक्टरको दीक्षान्त समारोह भयो। ती नबोदित इन्सपेक्टर लगायत सबै प्रहरी कर्मचारीले बुझ्नुपर्ने कुरा के हो भने प्रहरी कर्मचारी हुन सक्नु आफैमा गर्वको विषय हो।
जेन्जेड आन्दोलत पश्चात प्रहरीको मनोबल घटेको मान्न सकिन्छ। त्यसैले, अहिले प्रहरीको मनोबल उच्च बनाउन पर्ने बेला छ। तर, प्रहरीको मनोबल एक दिन वा एक समयको घटनाले असर पार्ने विषय होइन र हुनु हुँदैन।
प्रहरी पेशाका आफ्नै आकर्षण छन् र केही त्यसको उल्टो पनि। व्यापक कार्यक्षेत्रका कारण, प्रहरीका लागि अप्ठ्यारा घटनाहरु हरेक दिन आइपर्ने हुन्छन्। जनतासँग धेरै नजिक भएको कारण कहिले घर्षण पनि हुन सक्छ।
प्रहरी निजामती जस्तो युनिएनको नेताले सचिव थर्काउने सेवा होइन्। सधै गोप्यरुपमा मात्र काम गर्ने अवस्थाको संस्था होइन पनि। सामान्यतः ‘ब्याकफोर्स’, ‘सपोर्ट’ वा ‘रिइन्फोर्समेन्ट’को रुपमा काम गर्ने जस्तो संस्था पनि होइन। नत अन्तिम अवस्थामा मात्र परिचालित हुने अन्तिम अस्त्र नै हो। यद्दपि प्रहरीका कतिपय कामहरु नितान्त गोप्य पनि हुन्छन्, कतिपय ‘ब्याकअप फोर्स’ र कतिपय अवस्थामा ‘लास्ट रेसोर्ट’ को रुपमा पनि गर्नुपर्ने हुन्छ।
सबैका सामु देखिने, सुनिने र महसुस हुने काम गर्ने कर्मचारी प्रहरी नै हुन्। प्रहरीले समाजमा केही निश्चित परिवर्तन आउन सक्छ। प्रहरीले जनतालाई तत्काल राहत र सुरक्षित भाव दिन सक्छ।
सरकार र अदालतले गर्ने निर्णय कागजमा वा टेबुलमा हो, त्यसलाई ‘फिल्ड’ मा ल्याउने आधारभूत काम प्रहरीको हो।
प्रहरीको पोशाक र फुली जनताको सम्मान, विश्वास, आधार र अपेक्षाको केन्द्रबिन्दु हो। प्रहरीले राम्रो काम गर्दा देश र सरकार नै सफल भएको देख्न सकिन्छ। यस्तो काम गर्न प्रहरीले कुनै विशेष साइत कुर्नु पर्दैन। प्रतिदिन गरिने आफ्नै काममा थप प्रभावकारीता, निष्ठा र व्यावसायिकता कायम गर्न सके हुन्छ।
हरेक प्रहरी मुलुकभर छरिएर रहेका करिब सत्ताइस सय इकाई भएको ठुलो परिवारको सदस्य हुन। प्रहरी भएको नाताले उसको मुलुकभर सँजाल छ। उसको पछाडी सुख दुःखमा साथ दिने ठूलो संस्था छ। सहयोगी हातहरू छन्। यसैले, प्रहरी कर्मचारी बन्नु आत्मसम्मान र आत्म गौरवको कुरा हो।
प्रहरी हुनु व्यक्तिगत गौरवको बिषय मात्र होइन। यो त आफ्ना अभिभावक, परिवार र छिमेकीको लागि पनि सम्मानको विषय हो। किनकी, आफ्नो मानिस प्रहरी भएकै कारण उनीहरू पनि अन्याय र असुरक्षासँग भाग्न र लुक्न पर्ने हुँदैन।
प्रहरी कमजोर हुँदा देश नै कमजोर
यदाकदा प्रहरी आफै आक्रमणमा परेको र निरीह भएको देखिन्छ। प्रहरी हारेको जस्तो पनि देखिन्छ। तर, यो प्रहरीको आफ्नो र एक्लो समस्या होइन। भरखरैको जेन्जेड आन्दोलनमा प्रहरीको यस्तै हालत देखियो।
नेपालमा राजनीतिले सहि दिशा लिन सकेन। जनताको परिवर्तनको चाहना नेतागणले बुझेनन्। राजनेता हुनुपर्ने व्यक्तित्वहरू संकीर्ण भई झन् बिदादित बने। प्रहरीलाई अन कमजोर बनाइयो।
भ्रष्टाचार र कुशासनले जनतामा आक्रोशको प्रस्फुटन गराउँदा राज्य उपर आक्रमण भयो। यस अवस्थामा राज्यका अग्रपंतिका चलायमान बिम्वहरूमा प्रहार हुन्छ। जनताको धेरै नजिक र राज्यको अग्रपंतिको सुरक्षा निकाय भएको कारण प्रहरीले यो भोग्नै पर्ने हुन्छ।
यसैले गर्दा प्रहरीमाथि नै प्रहार भयो। तर, प्रहरीलाई कमजोर बनाउन वा बन्न दिन हुँदैन्। किनकी जब प्रहरी हार्छ, देशले नै हार्छ। नेपालको इतिहास गवाह छ, जब जब प्रहरी हार्यो, देशले नै हारेको छ।
भर्खरैको उदाहरण लिँदा गतवर्ष भदौ २३ गते जब प्रहरीले सकेन, खै कसले देश बचायो त? अन्य सुरक्षा निकायको भूमिका के थियो? संसद भवन, सिंहदरवार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री निवास, प्रधान न्यायाधीश निवास, मन्त्रीक्वाटर लगायत समग्र देश जल्दा प्रहरीले नसकेपछि अन्य सुरक्षा निकायहरु किन मौन? के यो देशले जितेको हो? प्रहरीले नियन्त्रण लिन सकेको भए वा लिएको भए यस्तो अवश्य पनि हुने थिएन।
सात साल, सत्र साल, छयालिस साल, त्रिसठ्ठी साल सबैमा प्रहरी हार्यो भन्न सकिन्छ। अन्ततः यसमा देशको स्वरुप नै परिवर्तन भयो।
नयाँ सरकारले बुझ्नुपर्छ, प्रहरी हार्दा देशको स्वरुप नै परिवर्तन भएको छ। त्यसैले प्रहरीलाई कमजोर हुन दिनु हुँदैन। देशको स्वरुप परिवर्तन हुन सक्छ, सरकार परिवर्तन हुन सक्छ र देश नै हार्ने सक्छ।
प्रहरी नेतृत्वलाई अनावश्यक बिबादित बनाएर सफल हुन्छु भन्नु एक उन्माद मात्र हो। यो एक किसिमको ‘मनोरोग’ नै हो।
खगेन्द्र सुनारमा केही मानसिक समस्या पो छ कि? नत्र एउटै मानिसलाई दुईबर्ष भित्रैमा चार चारवटा मुद्दा दर्ता हुनु, महिलालाई दुर्ब्यबहार गरेर थप एक रात प्रहरी कस्टडीमा बस्नु, भोलिपल्ट मिलापत्रमा टुङ्गिनु, महिला र बालबालिकालाई हप्काएको सुनिनु र बोल्दा पनि अत्यन्त असभ्य शब्द प्रयोग हुन र राक्षसको जस्तो अट्टाहास हुनु, जस्ता कार्य कदापि स्वाभाविक होइन।
खगेन्द्र सुनार प्रवृत्ति र प्रहरी
बालबालिकाकै कितावमा लेखिएको हुन्छ, ‘प्रहरी असल मानिसको साथी हो र खराब मानिसको शत्रु हो। कुनै व्यक्ति विशेषका विषय फरक होलान् तर सामान्य प्रशासन र सुरक्षाको सर्वमान्य सिद्दान्त पनि यहि हो। यदि कसैले प्रहरीलाई साथी ठान्छ भने उ आफैमा असल मान्छे हो, प्रहरीलाई गलत देख्छ भने उ आफैमा खराव हुनसक्छ।
यसैका एक नमुना हुन खगेन्द्र सुनार। लामो कपाल पाल्ने, आक्रामक पारामा बोल्ने, हिन्दी फिल्मको भिलेन वा ‘डन’ जस्तो देखिने। दैलेख जिल्लामा जन्मिएका उनी २०८० असारमा सुर्खेतमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भई २० हजार धरौटी बुझाएर छुटेका रहेछन्। उनी माथि २०८१ असारमा मेहेलकुना अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अपराध दर्ता पनि गरिएको रहेछ।
२०८२ कार्तिकमा उनी माथी उच्च अदालतका न्यायाधीशविरुद्ध गालीगलौज गरेको र अदालत भवनमा तोडफोड गरेको अदालतको अवहेलना मुद्दा विचाराधिन रहेछ। सोही समयमा उनी काभ्रे जिल्ला अदालतमा अर्को विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दा चलेर पचास हजार धरौटीमा छुटेका रहेछन् । हालै उनी एक पूर्व माननीय र बालकलाई धम्की दिएको कुराले सामाजिक संजालमा ब्याप्त छ ।
समय परिस्थितिले उनलाई बाँके निर्वाचन क्षेत्र ३ को सांसद बनाएको छ। सांसदको मुख्य काम आवश्यक ऐन कानुन तर्जुमा गर्ने हो। आआफ्नो क्षेत्रको विकासलाई प्राथमिकतामा पार्ने हो। संसद्को भूमिकालाई मजबुत बनाउनु हो। आफ्नो भूमिका के हो र के काम गर्ने हो, त्यसमा भन्दा वढी उनी प्रहरी नेतृत्वले भ्रष्टाचार गरेको छ भनेर आवाज उठाइरहेका छन्।
यसको लागि उनले एउटा संबेदनशिल विषय उठान गरेका छन्। जसरी भोटेकोशीको बाढी पश्चातको राजमार्ग खोल्ने काम हतारमा गर्नुपर्थो, त्यसैगरी केही हतारमा (शायद) कपडा खरिद गरी निर्वाचन गराएको बिषयमा महानिरीक्षकलाई विबादित गराएका छ्न्।
माननीय भएको मानिसले जान्नुपर्ने कुरा केहो भने नेपालको संबिधान बमोजिम भ्रष्टाचार हेर्नलाई संबैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। यसको काम भ्रष्टाचारमा अनुसन्धान गर्ने हो र दोषी देखिए कारवाही गर्ने हो। कतिपय प्रहरी कर्मचारी र पूर्व नेतृत्वलाई नै अख्तियारले पक्राउ गरी कारवाही गरेको छ।
उनले उठाएको विषयमा पनि यदि प्रहरी नेतृत्वको कमी कमजोरी भए अख्तियार छ। संबिधान बमोजिमको अख्तियार ‘डिफंक्ट’ भएको छ छैन। महालेखापरीक्षकको जिम्मेवारी पनि यस्तै हेर्ने हो।
तर यसमा ध्यान नदिई उनी प्रहरी नेतृत्वलाई निरन्तर प्रहार गरेका छन्। उनको एकमात्र प्रहार आइजिपीउपर छ। निर्वाचन हेर्ने प्रहरी भित्रकै विभाग, निर्देशनालय, महाशाखा र तत्कालको निर्वाचन सेल हुने कुरामा उनलाई मतलब छैन। आइजी बाहेक अरुप्रति केही गुनासो छैन। आइजिपीको मात्र बदख्वाई गरेका छन् लाग्छ, आइजिपी उनको पुस्तौंदेखिको दुस्मन हो।
उनले आँफुलाई चार चार बटा मुद्दा दर्ता गरेको प्रहरीसँग बदला लिन खोजेको जस्तो देखिन्छ। वा उनले प्रहरी नेतृत्वलाई जति आक्रमण गर्यो, त्यति नै आफ्नो ‘बायोडाटा’ बढेको मान्दछन्। वा उनी चर्चित हुन भाइरल हुन चाहन्छन् र यसैले आफ्नो ‘पब्लिसिटी’ बढेको ठान्छन्। वा, उनी प्रहरी नेतृत्वलाई पनि आक्रमण गर्न सक्छु भनेर तलका प्रहरीलाई प्रभावमा पार्न खोजेका छन्। वा उनको विचार नै ‘नेगेटिभ’ (वा क्रिमिनल) छ।
उनको जबरजस्तीले प्रहरी नेतृत्वलाई अनावश्यक विवादित बनाएको छ। अख्तियारलाई हस्तक्षेप गरेको छ। जनतामा भ्रम छरेको छ।
उनले के बुझ्न जरुरी छ भने, प्रहरीको जबान हुने योग्यता उनीसँग छ छैन, तर पूर्व प्रहरीहरु मध्ये पाँच जना त अहिलेकै सदनमा सांसद हुनुहुन्छ। पूर्व प्रहरी महानिरीक्षहरू त मन्त्री समेत रहेका छन्।
उपसंहार
नेपालका दुई सदनमा गरी करिव ३३४ जना माननीयज्यू हुनुहुन्छ। वहाँहरू सबैको विशिष्ठ स्थान छ।
यसैगरी, मुलुकभरि छरीएका करिव २७ सय इकाई मार्फत प्रतिदिन करिब डेढलाख जनतालाई भौतिकरुपमा भेटेर सेवा गर्ने र करिब ६५ वटा ऐन मार्फत अपराध अनुसन्धान गर्ने अनि एकहजार भन्दा वढी कानुनी जिम्मेवारी बहन गर्ने करिब ८० हजारको फौजको नेतृत्वकर्ता प्रहरी महानिरीक्षकको महत्व र भूमिका अझ वढी महत्वपूर्ण छ।
प्रहरी नेतृत्व केवल एउटा व्यक्ति होइन, एउटा निरन्तर रहने अविच्छिन्न उत्तराधिकारवाला संस्था पनि हो जो अन्यत्र अनावश्यक बोल्दैन। बोल्ने ठाँउमा (संसदीय समितिमा) बोलेकै हो। बुझ्ने भए, पुग्ने गरेर ।
प्रहरी नेतृत्वलाई अनावश्यक बिबादित बनाएर सफल हुन्छु भन्नु एक उन्माद मात्र हो। यो एक किसिमको ‘मनोरोग’ नै हो। खगेन्द्र सुनारमा केही मानसिक समस्या पो छ कि? नत्र एउटै मानिसलाई दुईबर्ष भित्रैमा चार चारवटा मुद्दा दर्ता हुनु, महिलालाई दुर्ब्यबहार गरेर थप एक रात प्रहरी कस्टडीमा बस्नु, भोलिपल्ट मिलापत्रमा टुङ्गिनु, महिला र बालबालिकालाई हप्काएको सुनिनु र बोल्दा पनि अत्यन्त असभ्य शब्द प्रयोग हुन र राक्षसको जस्तो अट्टाहास हुनु, जस्ता कार्य कदापि स्वाभाविक होइन।
कुकुर भुक्दै गर्छ र हात्ती लम्किदै गर्छ भन्ने उखान यसै बनेको होइन्।
कुनै आरोपको हावा हुरीले पहाडको चुचुरोलाई कुनै असर पर्दैन तर फेदी र मध्य भागसम्म असर गर्न सक्छ। खगेन्द्र सुनारको आरोप प्रत्यारोपले बिच र तल्लो तहका प्रहरीलाई मनोबैज्ञानिक असर पार्न सक्छ। यसमा सरकार जिम्मेवार हुन जरुरी छ। प्रहरी हार्दा देशै हार्ने भएकोले प्रहरीलाई अनावश्यक लाञ्छनाबाट मुक्त गराउनु पनि राज्य संचालकको जिम्मेवारी हो।
साथै, खगेन्द्र सुनार जस्ता व्यक्तित्वले सामाजिक सञ्जाल र आम संचारका साधनमा स्थान पाउनुलाई पनि आफ्नो सफलता ठानेका हुन्छन्। त्यसकारण यस्ता वाहियात तत्वलाई कसैले पनि कुनै वास्ता नराख्ने गर्दा आफै मच्चिने मच्चिने र थच्चिने हुन्छन्।
यसपटक काकतालीले सांसद भएका खगेन्द्र सुनार अर्कोपल्ट पनि सांसद चुनिएको हेर्न बाँकी छ।
हरेक प्रहरी अधिकृतले आआफ्नो क्षेत्रमा यस्ता प्रवृत्ति पाउनु हुने नै छ। जो, एउटा कुरा देखाएर भित्र अर्कै स्वार्थको खेती गर्न चाहन्छन्। ‘नेगेटिभिटी’ को खेती गरेर सामान्य जनता भ्रम छर्न चाहन्छन्। यस्ता तत्वलाई पनि आवश्यकता अनुसार दुत्कार्ने र परास्त गर्नु पनि प्रहरी व्यवसायीकताको एक अंश हो।
अन्तमा, आजको पावन दिनले प्रहरी कर्मचारीलाई थप साहस, सहिष्णुता र उर्जा मिलोस्, देश थप सुरक्षित रहोस्, प्रहरी दिवसको शुभकामना।
लेखक पूर्व प्रहरी उपरीक्षक तथा हाल कानुन व्यवसाय र कानुन अध्यापनमा संलग्न हुनुहुन्छ।
