दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता
सुर्खेत, १३ मङ्सिरः कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवस्थित र सुरक्षित बनाउन विशेष सुरक्षा रणनीति तयार पारिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सुरक्षा निकायका प्रमुखहरूबीच आज सम्पन्न समन्वय बैठकले प्रतियोगिताका लागि विशेष सुरक्षा रणनीति तयार गरेको हो ।
यही मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ । सोही कार्यक्रमलाई लक्षित गरी सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल गरिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले जानकारी दिनुभयो । उद्घाटन समारोहमा विशिष्ट व्यक्तिको आगमन, खेलाडी तथा खेल पदाधिकारीको आवास व्यवस्थापन र दर्शकको उपस्थितिलाई ध्यानमा राखेर सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी बहुआयामिक सुरक्षा योजना बनाइएको उहाँले बताउनुभयो ।
बैठकले प्रतियोगिताभर सबै सुरक्षा निकायबीच निरन्तर समन्वय, शीघ्र सूचना आदानप्रदान र आवश्यकताअनुसार संयुक्त रूपमा सुरक्षा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । सुरक्षा योजनामा रङ्गशालाको प्रवेश तथा निकास व्यवस्थापन, भीड नियन्त्रण, पार्किङ तथा ट्राफिक व्यवस्थापन, खेलस्थलमा सिसिटिभी निगरानी, नियमित गस्ती र विशिष्ट अतिथिको सुरक्षा तथा स्कर्टिङलाई प्राथमिकता दिइएको छ । प्रतियोगितालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा निकाय, प्रशासन र आयोजकबीच प्रभावकारी सहकार्य आवश्यक रहेको मन्त्री मल्लले बताउनुभयो ।
यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । बैठकमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, प्रधानमन्त्रीको मिडिया व्यवस्थापन संयोजक दिपा दाहाल, प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालगायत प्रदेश सरकारका उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुख तथा खेलकुद क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।
रासस
