सावित्रा पाण्डे
आफूलाई दलित भन्न नचाहने नागरिकमाथि राज्यले दलितको पहिचान थोपर्न खोज्नु कस्तो न्याय हो?
नेपाल सरकारले गत असोज ९ गते प्रकाशित गरेको दलित थर सूची र त्यसमा समावेश केही नेवाः समुदायका थरलाई लिएर उठेको विवाद केवल थरको विवाद होइन। यो राज्यले नागरिकको पहिचानमाथि कति अधिकार राख्छ र सामाजिक न्यायका नाममा नागरिकलाई जातीय कित्तामा विभाजन गर्ने प्रवृत्ति कहाँसम्म उचित छ भन्ने गम्भीर प्रश्न हो।
कुनै नागरिक आफ्नो सामाजिक पहिचान ब्राह्मण, क्षेत्री, नेवाः, शाक्य, तुलाधर, ताम्रकार वा अन्य जुनसुकै रूपमा व्यक्त गर्न चाहन्छ भने त्यसको सम्मान हुनु पर्दैन?
राज्यको सूचीमा नाम परेकै आधारमा उसलाई आफूले नचाहेको पहिचान स्वीकार गर्न बाध्य पार्नु कस्तो लोकतन्त्र हो? अधिकार उपलब्ध गराउनु राज्यको दायित्व हो, तर नागरिकको पहिचान निर्धारण गर्नु राज्यको ठेक्का होइन।
जातीय विभाजनको राजनीति नेताहरूका लागि किन यति उपयोगी हुन्छ? समाजलाई विभिन्न जातीय, वर्गीय र पहिचानका समूहमा बाँड्दा प्रत्येक समूहलाई अलग-अलग मतदाता आधार, छुट्टै राजनीतिक नाराको ग्राहक र आफ्नो स्वार्थअनुसार परिचालन गर्न सकिने शक्ति समूहका रूपमा हेर्न सजिलो हुन्छ।
नागरिकलाई साझा राष्ट्रिय मुद्दामा एकजुट हुनुभन्दा जातीय पहिचानमा व्यस्त राख्दा राजनीतिक जवाफदेहिताका प्रश्न कमजोर हुन सक्छन्।
रोजगारी, शिक्षा, भ्रष्टाचार, स्वास्थ्य, विकास र सुशासनको बहसलाई पहिचानको विवादले ओझेल पार्ने सम्भावना रहन्छ।
जातीय पहिचान र विभेदको बहसमा पश्चिमी अवधारणाको प्रभावबारे पनि प्रश्न उठाउन सकिन्छ।
कतिपय अन्तर्राष्ट्रिय नीति र विकासका ढाँचाले समाजलाई विभिन्न पहिचान समूहमा वर्गीकरण गरेर अधिकार तथा अवसरको विश्लेषण गर्छन्।
यस्तो दृष्टिकोण उपयोगी हुन सक्छ, तर नेपालको आफ्नै इतिहास, सामाजिक संरचना र सांस्कृतिक वास्तविकतालाई नबुझी बाहिरका ढाँचा जस्ताको तस्तै लागू गरियो भने समाजलाई बुझ्नेभन्दा वर्गीकरण गर्ने काम बढी हुन सक्छ।
पश्चिमी समाजमा पनि Goldsmith (सुनार), BlackSmith (फलामको काम गर्ने), Miller (अन्न पिस्ने) जस्ता पेशाबाट बनेका थर छन्। थरले ऐतिहासिक पेशा जनाउँदैमा आजको व्यक्तिको सामाजिक हैसियत, जातीय पहिचान वा विभेदको अनुभव स्वतः निर्धारण हुँदैन।
नेपालमा पनि यही सावधानी आवश्यक छ। सबै समाजका विभेदलाई आ-आफ्नो इतिहास र प्रमाणका आधारमा बुझ्नुपर्छ।
नेपालको राज्यले नागरिकलाई पहिले नेपाली नागरिकका रूपमा समान सम्मान दिन किन सक्दैन?
विभेदमा परेका मानिसलाई न्याय, संरक्षण र अवसर सुनिश्चित गर्दै जातीय लेबललाई व्यक्तिमाथि अनिवार्य रूपमा नथोपर्ने प्रणाली निर्माण गर्न सकिँदैन?
वास्तविक पीडितले अधिकार पाऊन्, तर कसैको पहिचान उसको इच्छा र इतिहासविपरीत सरकारी सूचीबाट तय नहोस्।
राज्यको लक्ष्य नागरिकलाई जातका नाममा छुट्याउनु होइन, जातका कारण छुट्याइने अवस्थाको अन्त्य गर्नु हुनुपर्छ। नागरिकको साझा पहिचान नेपाली हो। न्यायले मानिसलाई उठाउनुपर्छ, सरकारी वर्गीकरणले उसको पहिचानमाथि शासन गर्नु हुँदैन।
