Unified Nepal
त्रिवेणी (रुकुमपश्चिम), १३ मङ्सिरः रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला सदरमुकाम खलङ्गाबाट बाँफिकोट गाउँपालिकाको दुलीतर्फ जाँदै गरेको लु१ज २१६० नम्बरको अनियन्त्रित भई सडकबाट खसेको हो ।
दुर्घटनामा जिप चालक मुसिकोट नगरपालिका–८ का २८ वर्षीय भीमसिंह बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मग्माबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाएको थियो । चालक बुढामगरलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बाँफिकोट गाउँपालिका–८ दुलीकी ३१ वर्षीया निर्मला केसी, दुई वर्षीय दिनेश केसी, ३२ वर्षीया मनिषा बस्नेत र ३६ वर्षीय कर्णबहादुर खत्री तथा मुसीकोट नगरपालिका–१० की १८ वर्षीया जेनिशा ओली घाइते भएका प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो । घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
रासस
