मुगु, १३ मङ्सिरः रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु तथा प्राकृतिक सम्पदाको संरक्षणमा लामो समयदेखि क्रियाशील मुगुको छायाँनाथ रारा नगरपालिका–९, मुर्माका बिर्खबहादुर रोकाया त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्राणीशास्त्र केन्द्रीय विभागबाट सम्मानित हुनुभएको छ ।
रारा राष्ट्रिय निकुञ्जको संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन, जनचेतना अभिवृद्धि तथा ग्रामीण विकासमा पु¥याएको योगदानको कदर गर्दै विभागले उहाँलाई कदरपत्र र दोसल्लासहित सम्मान गरेको हो । आज आयोजित विभागको ६१औँ वार्षिकोत्सवमा त्रिविका शिक्षाध्यक्ष प्रा डा अञ्जनासिंह र विभागीय प्रमुख प्रा डा कुमार सापकोटाले रोकायालाई सम्मान गर्नुभएको हो । रोकायालाई प्रदान गरिएको कदरपत्रमा रारा क्षेत्रको प्राकृतिक सौन्दर्य, जैविक विविधता संरक्षणमा उहाँले देखाएको सक्रियता, लगनशीलता र दीर्घकालीन प्रतिबद्धताको प्रशंसा गरिएको छ।
स्थानीयस्तरमा जैविक विविधता संरक्षण र प्रवर्द्धनमा उहाँले पु¥याएको योगदान अनुकरणीय रहेको उल्लेख छ । शिक्षाध्यक्ष सिंहले जैविक विविधता संरक्षणमा स्थानीयस्तरबाट योगदान दिने व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । विभागीय प्रमुख सापकोटाले संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई विभागले वार्षिकोत्सवका अवसरमा सम्मान गर्दै आएको जानकारी दिनुभयो । रोकायाले समुदायमा आधारित संरक्षण अभियानलाई निरन्तर रुपमा अगाडि बढाउनुभएको छ ।
विसं २०६८ देखि २०७३ सम्म रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र विकास समितिको अध्यक्ष रहनुभएका उहाँले वन्यजन्तु तथा वनजङ्गल संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जन वृद्धि, जनचेतना अभिवृद्धि र क्षमता विकासका कार्यक्रम सञ्चालनमा भूमिका निर्वाह गर्नुभएको थियो । प्राकृतिक सम्पदाको संरक्षण स्थानीय समुदायको सक्रिय सहभागिताबिना सम्भव नहुने मान्यता राख्ने रोकायाले संरक्षणका कार्यक्रमसँगै स्थानीयको आर्थिक तथा सामाजिक अवस्था सुधारका लागि पहल गर्दै आउनुभएको छ । उहाँको पछिल्लो पहलमध्ये रारा राष्ट्रिय निकुञ्जमा ‘क्यामेरा ट्रयाप’ जडान महत्वपूर्ण उपलब्धिका रूपमा छ ।
विसं २०८२ मा त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागसँगको समन्वयमा उहाँले निकुञ्ज क्षेत्रमा ४२ वटा क्यामेरा ट्रयाप जडान कार्यको अगुवाइ गर्नुभएको थियो । वन्यजन्तुको गतिविधि निगरानी, उपस्थिति पहिचान र संरक्षण रणनीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले जडान गरिएका क्यामेरा ट्रयापमा निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा देखिएको थियो । यसले रारा क्षेत्रको जैविक विविधता अध्ययन तथा वन्यजन्तु संरक्षणका थप सम्भावना उजागर गरेको छ । रोकायाको योगदान संरक्षणमा मात्र सीमित छैन ।
मुगुको मुर्मा गाउँ तथा रारा आसपासका बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार विकासका क्षेत्रमा उहाँले काम गर्दै आउनुभएको छ । मुर्मा सामुदायिक विकास केन्द्रमार्फत गरिबी निवारण कोषसँगको साझेदारीमा रारा तथा खत्याड क्षेत्रका बस्तीमा आयआर्जन र भौतिक पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्नुभएको थियो । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न हेल्प नेपालसँगको समन्वयमा मुर्मा माझघट्टमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।
उक्त केन्द्रबाट स्थानीय बासिन्दाका साथै रारा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राथमिक स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् । रारा ताल आसपासका ऐतिहासिक तथा पुरातात्विक महत्वको महादेव मन्दिरको संरक्षण र प्रवर्द्धनमा पनि उहाँ सक्रिय हुनुहुन्छ । धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत रारा क्षेत्रको पहिचान उजागर गर्ने उद्देश्यले उहाँकै पहलमा २०७६ सालमा रारा धार्मिक सप्ताह कार्यक्रम आयोजना गरिएको थियो । मुर्माको विकास र स्थानीय नागरिकका समस्या समाधानका लागि रोकायाले पहल गर्दै आउनुभएको छ ।
रासस
