Unified Nepal
पेरिस, मङ्सिर १३ ।
फ्रान्स, बेलायत, क्यानाडा र अस्ट्रेलियासहित आठ देशले सन् २०२७ को पहिलो तीन महिनाभित्र प्यालेस्टिनी प्राधिकरणलाई संसदीय तथा राष्ट्रपतीय निर्वाचन गराउन आग्रह गरेका छन् ।
अस्ट्रेलिया, बेल्जियम, क्यानाडा, फ्रान्स, लक्जेम्बर्ग, नर्वे, पोल्यान्ड र बेलायतका विदेशमन्त्रीहरूले शनिबार संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपति महमुद अब्बासले निर्वाचन स्थगित गरेको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । नोभेम्बर २८ मा हुने तय भएको संसदीय निर्वाचन स्थगित गरिएको थियो भने राष्ट्रपतीय निर्वाचन पनि पछि सारिएको थियो ।
प्यालेस्टिनी नागरिकले राष्ट्रिय निर्वाचनमा मतदान नगरेको दुई दशक भइसकेको र सन् २०२१ का लागि तय भएको संसदीय निर्वाचन पनि स्थगित भएको उल्लेख गर्दै आठ देशले निर्वाचनमा भइरहेको ढिलाइले नागरिकको लोकतान्त्रिक अधिकार कुण्ठित गरेको बताएका छन् ।
निर्वाचनले प्यालेस्टिनी नेतृत्वको वैधता नवीकरण गर्न र गाजामा प्यालेस्टिनी प्राधिकरणको सम्भावित पुनरागमन तथा सम्पूर्ण प्यालेस्टिनी भूभागमा शासन व्यवस्था पुनःस्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ । लोकतान्त्रिक नवीकरण दुई राज्य समाधानको संरक्षणसँग जोडिएको पनि वक्तव्यमा उल्लेख छ ।
आठ देशले न्यूयोर्क घोषणाअन्तर्गतका प्रतिबद्धता पूरा गर्दै सन् २०२७ को पहिलो त्रैमासिकमा निर्वाचन गराउन रामल्लाहलाई आग्रह गरेका छन् । साथै, अधीनस्थ प्यालेस्टिनी भूभागका सबै क्षेत्रमा मतदानको वातावरण बनाउन सम्बन्धित पक्षलाई आह्वान गरेका छन् । निर्वाचन पर्यवेक्षण र स्वतन्त्र निर्वाचन आयोगलाई सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूले बताएका छन् ।
राष्ट्रपति अब्बासले इजरायली प्रतिबन्ध र गाजाको सुरक्षा अवस्थालाई कारण देखाउँदै अक्टोबरमा आदेश जारी गरी नोभेम्बर २८ का लागि तय भएको संसदीय निर्वाचन सन् २०२७ सेप्टेम्बर ११ सम्मका लागि स्थगित गर्नुभएको थियो । प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार प्यालेस्टिनी मुक्ति सङ्गठन (पीएलओ) को कार्यकारी समिति र विभिन्न राजनीतिक समूहबीचको परामर्शपछि निर्वाचनका लागि उपयुक्त राजनीतिक तथा सुरक्षा अवस्था आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।
वाफाले इजरायली सैन्य आक्रमण, बस्ती विस्तार, बसोबासीको हिंसा र पश्चिम किनारमा बारम्बार हुने सैन्य प्रवेशलाई निर्वाचन स्थगनका प्रमुख कारणका रूपमा उल्लेख गरेको छ । आवागमनमा प्रतिबन्ध र प्यालेस्टिनी कर राजस्व रोकिँदा निर्वाचन तयारीमा प्रशासनिक, आर्थिक तथा सुरक्षा चुनौती थपिएको पनि जनाइएको छ ।
प्यालेस्टिनी क्षेत्रमा पछिल्लो संसदीय निर्वाचन सन् २००६ मा भएको थियो । त्यसमा हमासले अब्बासको फताह पार्टीलाई पराजित गरेको थियो । त्यसपछि राजनीतिक विभाजन बढ्दै सन् २००७ मा हमासले गाजाको नियन्त्रण लिएको थियो । त्यसयता प्यालेस्टिनी विधान परिषद्को बैठक बसेको छैन । इजरायलले गाजामा मतदानको सुनिश्चितता नदिएपछि सन् २०२१ मा तय भएका संसदीय तथा राष्ट्रपतीय निर्वाचन पनि स्थगित भएका थिए ।
रासस/एएनआई
