मुपात्र र याँमता (राक्षस) जात्रा
भक्तपुर, असोज १२ ।
ऐतिहासिक एवं धार्मिक कथामा विश्वास गरिने मुपात्र जात्रा भक्तपुरमा आजदेखि सुरु भएको छ । देवराज इन्द्रकी आमा वसुन्धराका लागि स्वर्गमा चतुर्मासको व्रतलाई आवश्यक पारिजातको फूल लिन इन्द्रले मत्र्यलोकमा छोरा जयन्तलाई पठाउँदा राक्षसको बगैँचामा फूल टिप्दा राक्षसहरूले समातेर बाँधेको र इन्द्रले छुटाएर लगेको ऐतिहासिक एवं धार्मिक कथालाई मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले दृश्य अनुकरण गरी प्रचलनमा ल्याइएको यो जात्रा आजदेखि सुरु भई तीन दिनसम्म सञ्चालन हुनेछ ।
यँया पुन्हीको अवसरमा मनाइने इन्द्रजात्राअन्तर्गत भक्तपुरमा मुपात्र जात्रा आज साँझदेखि सुरु भएको हो । प्रत्येक वर्षको असोज कृष्ण द्वितीयादेखि चौँथीसम्म तीन दिन मनाइने यो जात्राको मुख्य आकर्षण मुपात्र राक्षस भएकाले यसलाई स्थानीयले राक्षस जात्राका रूपमा समेत लिने गरेका इतिहास तथा संस्कृतिविद् डा पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार जात्रामा मुपात्रको रूपमा एक जना प्रमुख र धिःचा नामक अन्य दुई सहायक गरी तीन जना राक्षसको रूपमा रहने गर्छन् । ती तीन जनालाई राक्षसको जस्तो पोसाक लगाउन दिएर अनुहारमा विभिन्न रङ्गको शृङ्गार गरी तरबार समात्न लगाई भक्तपुर नगर पूरै परिक्रममा गराउने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।
नगर परिक्रमा गर्दा भक्तपुर नगरको टोलटोलमा ठड्याइ राखेको यमांद्यः मुपात्रलाई राक्षसले तीनपटक घुमेर तरबारले हानेको अभिनय गर्दछन् । यसको अर्थ इन्द्रजात्राको पहिलो दिन टोल टोलमा बाँधेर राखेका यमांद्यः लाई छुटाउन उसलाई बाँधेको डोरी काटेको भन्ने बुझिन्छ । मुपात्र जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धरले त्रिशूल आकारको दुईवटा यामताः (आकाश दीप) दत्तात्रयस्थित भीमसेन मन्दिरअघि बाल्ने र त्यसपछि तचपालस्थित सँला गणेशलाई खटमा राखेर नगर परिक्रमा गराइन्छ ।
जात्राको दोस्रो दिन गोल्मढीका मानन्धरको या मताः बाल्छन् भने चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । त्यस स्थानमा एउटा या मताः बालेर बाजागाजाका साथ नगर परिक्रमा गराइन्छ । सोही राति सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो द्योःछे (देवगृह)मा पुर्याइन्छ ।
जात्राको अन्तिम अर्थात् आश्विन कृष्ण चौँथीका दिन स्थानीय टौमढीमा रहेको आकाश भैरवमा गुठी संस्थान कार्यालयबाट ल्याइएको सरकारी पूजाअर्चना सम्पन्न गरी सकेपछि तल्लो टोलका मानन्धरहरुले बुलुचास्थित ढुङ्गेधारा अगाडि दुईवटा या मताः बालेर काशी जगनाथ भैरवनाथको अर्को प्रतीक मशान भैरवको जात्रासँगै नगर परिक्रममा गराउने परम्परा रहिआएको संस्कृतिविद् डा श्रेष्ठले बताउनुभयो ।
त्यस दिन जात्रामा नायखिङ (खड्गी समुदायले बजाउने विषेश बाजा) बाजाएर नगर परिक्रमा गराइन्छ । त्यसपछि भक्तपुरको स्थानीय लाकुलाछें टोलबाट पुलुकिसी जात्रा निकालिन्छ । जात्रा सुरु गर्नु अघि टौमढीमा रहेको भैरवनाथलाई तीनपटक परिक्रमा गराई दर्शन गर्दछ । त्यसपछि नगरपरिक्रमा गराइन्छ ।
पुलुकिसीले भक्तपुर नगरको आधा भाग परिक्रमा गरिसकेपछि मात्र त्यस दिन मुपात्र जात्रा निकाल्ने परम्परा छ । “लोककथनअनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई चतुर्मासको व्रत बस्नका लागि पारिजातको फूल आवश्यकता भएको तर स्वर्गमा नपाएपछि इन्द्रले मत्र्यलोकमा छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाउँछ । फूल खोज्दै जाने क्रममा दैत्यहरूको बगैँचामा परिजात फूल टिप्दै गरेको बेला राक्षसहरूले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर चोकमा उभ्याएर राख्छ ।
यो कुरा चाल पाएर इन्द्र छोरा जयन्तलाई राक्षसहरूको चङ्गुलबाट छुटाउन आफ्नो बहान हात्ती लिएर राक्षसहरूसँग युद्ध गर्दछ । युद्धमा राक्षसलाई हराएर उनीहरूकै हातबाट डोरी काट्न लगाई छोरा जयन्तलाई छुटाएर लैजान्छ”, संस्कृतिविद् डा श्रेष्ठले भन्नुभयो । यही कथा धार्मिक ग्रन्थ देवी पुराणमा उल्लेख भएको र सो कथाअनुसार मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याइएको उहाँले बताउनुभयो ।
यँया पुन्हीको अवसरमा पहिलो दिन भक्तपुरको टोल टोलमा यमांद्य ठड्याउनुलाई जयन्तलाई डोरीले बाँधेर चोकमा उभ्याएको, मुपात्रले यमांद्यलाई तीनपटक घुमेर हातको तरवारले काटेको अभिनय गर्नु प्रचलित लोककथनसँग मिल्दोजुल्दो रहेको उहाँको भनाइ छ । जात्राको अन्तिम दिन मुपात्र र पुलुकिसी आपसमा भेट हुन नहुने मान्यतासमेत रहेको छ ।
लोककथन अनुसार पुलुकिसीले कुल्चेर मुपात्रलाई मारेको खण्डमा खट्वात नलाग्ने भएकाले पुलुकिसी र मुपात्रलाई आपसमा भेट नहुनेगरी जात्रा चलाउने गरेको हो । यो जात्रामा मुपात्र बन्ने व्यक्तिले आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको यद्यपि छ । परपराअनुसार मुपात्र बन्ने व्यक्तिलाई अछूतको व्यवहार गरिने भएकाले जात्रामा स्थानीय बासिन्दाभन्दा पनि बाहिरकालाई गुठी संस्थानले मुपात्र बनाउने गरेको छ ।
