काठमाडौँ, मंसिर १३ ।
नेपालको कृषि क्षेत्रमा महिलाको योगदान उल्लेखनीय रहे पनि भूमि स्वामित्व, वित्तीय स्रोत, प्रविधि, अनुदान तथा बजारमा पहुँचका सवालमा उनीहरू अझै पछाडि रहेको सरोकारवालाहरूले बताएका छन्। कृषि उत्पादनदेखि बीउ संरक्षण, खाद्य व्यवस्थापन र परिवारको पोषण सुरक्षासम्म महिलाको महत्त्वपूर्ण भूमिका रहे पनि कृषि नीति तथा स्रोत वितरणमा उनीहरूको योगदानअनुसार प्राथमिकता नपाएको उनीहरूको भनाइ छ।
आइतबार काठमाडौँमा कृषि अभियान तथा एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिस्ट्स (अनाज) को सहकार्यमा आयोजित ‘महिला साना किसानको कृषि क्षेत्रमा योगदान’ विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले महिला किसानको योगदानको उचित मूल्याङ्कन गर्दै उनीहरूको अधिकार र पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा सहभागी वक्ताहरूले कृषि क्षेत्रलाई दिगो, आत्मनिर्भर तथा वातावरणमैत्री बनाउन महिला किसानको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताए। परम्परागत बीउबिजन संरक्षण, जैविक मलको प्रयोग, रासायनिक विषादी न्यूनीकरण, भूमिमा महिलाको स्वामित्व तथा वास्तविक किसानसम्म सरकारी अनुदान पुर्याउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको सुझाव थियो।
महिलाको कृषि योगदान खेतीपातीमा मात्रै सीमित नभई परिवारको दैनिक खाद्य व्यवस्थापन, आवश्यक खाद्यान्न जुटाउने, बीउबिजन संरक्षण गर्ने तथा वर्षभरि परिवारलाई खाद्यान्न उपलब्ध गराउने जिम्मेवारीसम्म फैलिएको वक्ताहरूले बताए। ग्रामीण क्षेत्रमा महिलाहरू बिहानदेखि रातिसम्म घरायसी र कृषि कार्यमा संलग्न हुने भए पनि उनीहरूको श्रमको उचित मूल्याङ्कन हुन नसकेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा सहभागी महिला किसानहरूले कृषि व्यवसाय सञ्चालन गर्न आवश्यक ऋण तथा वित्तीय स्रोतमा पहुँच कमजोर रहेको अनुभव सुनाए। पुरुषको तुलनामा महिलालाई ऋण लिन कठिन हुने, जग्गाको स्वामित्व नहुँदा सरकारी अनुदान तथा अन्य सुविधाबाट वञ्चित हुनुपर्ने समस्या रहेको उनीहरूले बताए।
छलफलमा महिला किसानको नाममा जग्गाको स्वामित्व स्थापित हुनु आर्थिक सशक्तीकरणसँगै सामाजिक तथा राजनीतिक अधिकार बलियो बनाउने माध्यम भएको धारणा व्यक्त गरियो। जग्गाको स्वामित्वले महिलालाई परिवार तथा समुदायको निर्णय प्रक्रियामा सहभागी हुन र आफ्नो अधिकार स्थापित गर्न सहयोग पुर्याउने वक्ताहरूले बताए।
त्यस्तै, परम्परागत कृषि प्रणालीबाट आधुनिक कृषितर्फको संक्रमणसँगै स्थानीय बीउबिजन र जैविक विविधता कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरिएको थियो। रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्य, माटोको उर्वराशक्ति र वातावरणमा नकारात्मक असर पारिरहेको भन्दै जैविक तथा प्रकृतिमैत्री कृषि प्रणालीको विकासमा जोड दिइएको थियो।
वक्ताहरूले नेपालमा कृषि जैविक विविधता करिब ५० प्रतिशत घटिसकेको उल्लेख गर्दै यसको संरक्षणका लागि तत्काल प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक रहेको बताए। जलवायु परिवर्तनले कृषि क्षेत्रमा थप जोखिम सिर्जना गरिरहेको अवस्थामा स्थानीय बीउबिजन संरक्षण, जैविक मल उत्पादन तथा प्रयोग र जलवायुमैत्री खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्ने उनीहरूको सुझाव थियो।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कृषि विकासका योजना तथा कार्यक्रममा महिला किसानलाई प्राथमिकता दिनुपर्ने बताए। महिला किसानको नाममा जग्गाको स्वामित्व स्थापित हुँदा उनीहरूको श्रम र उत्पादनप्रति आत्मविश्वास बढ्ने तथा कृषि क्षेत्रमा सहभागिता र निर्णय गर्ने अधिकार विस्तार हुने उनले उल्लेख गरे।
उनले महिला किसानको योगदानलाई उत्पादनको तथ्यांकमा मात्र सीमित नगरी श्रमको उचित मूल्याङ्कन, भूमि स्वामित्व, वित्तीय पहुँच र बजारमा सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै, परम्परागत कृषि प्रणालीलाई आधुनिक बनाउँदै जाँदा जैविक विविधता र स्थानीय उत्पादन प्रणाली कमजोर हुन नदिन सचेत हुनुपर्ने बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले कृषि उत्पादन वृद्धि र परम्परागत खेती प्रणालीको संरक्षणलाई प्रतिस्पर्धी विषय नभई एकअर्कालाई सहयोग गर्ने पक्षका रूपमा लिनुपर्ने धारणा राखे। किसानको पहिचान तथा वर्गीकरण प्रभावकारी बनाउँदै वास्तविक किसानसम्म अनुदान पुग्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको थियो।
महिला किसानमैत्री नीति, सहुलियतपूर्ण ऋण, उत्पादनमा आधारित अनुदान, स्थानीय बजार प्रवर्द्धन, जैविक मल तथा प्रविधिको विकास र कृषि शिक्षालाई विद्यालय तहदेखि समावेश गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो।
वक्ताहरूका अनुसार महिला किसानको योगदानलाई सम्मान गर्नु भनेको केवल कृषि उत्पादनमा उनीहरूको भूमिका स्वीकार गर्नु मात्र नभई भूमि, स्रोत, अवसर र निर्णय प्रक्रियामा समान अधिकार सुनिश्चित गर्नु हो। महिला किसानको सशक्तीकरणबिना दिगो कृषि विकास, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रको समृद्धि हासिल गर्न कठिन हुने उनीहरूको निष्कर्ष थियो।
